पर्वतमा वर्षेनी बढ्दै घरेलु हिंसाका उजुरी



पर्वत । घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन हुने गरेको भए पनि पर्वतका घरेलु हिंसाका घटनामा भने झनै वृद्धि हुँदै गएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका घरेलु हिंसा उजुरीको संख्यालाई हेर्दा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६०/७७ मा फरक फरक चार वटा शीर्षकमा २६ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ३८ वटा दर्ता भएको छन् । यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा उजुरीको सङ्ख्यामा दोब्बरभन्दा पनि बढीले वृद्धि हुँदै ८९ वडा पुगेको छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार गत आर्थिक वर्षमा खान लाउन नदिएकोमा १७ वटा, कुटपिट झै झगडामा ५० वटा, गाली बेइज्जतमा १३ वटा र अमानवीय व्यवहारमा ९ वटा गरी ८९ वटा उजुरी परेका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा सोही शीर्षकमा क्रमशः ९ वटा, १७ वटा, ८ वटा र ४ वटा गरी ३८ वटा उजुरी आएका थिए । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा क्रमशः ६ वटा, ११ वटा, ६ वटा र ३ वटा गरी २६ वटा मुद्दा परेका थिए ।

प्रहरीमा मुद्दा आए पनि पारिवारिक सम्बन्धको महत्व, त्यसले बालबालिकाहरुमा पर्ने असर, सम्बन्ध चिसिएपछि भोग्नुपर्ने व्यवधान लगायतको बारेमा सम्झाइबुझाइ गरेर मिलापत्र गराउनेमा नै प्रहरीले जोड बल गर्ने गरेको प्रहरी निरीक्षक राउतले बताउनुभयो । ‘हामीसँग आएको उजुरीको अवस्था हेर्दा हरेक आर्थिक वर्षमा उजुरीको संख्या बढ्दै गएको देखिएको छ ।

तर हामीले उहाँहरुको सम्बन्ध थप बिग्रन नदिने गरी सम्झाइ बुझाइ गर्दै आएका छौँ । उजुरी बढी हुनुको कारण व्यक्तिमा सचेतनाका अवस्था वृद्धि भएको पनि हो भन्न सकिन्छ,’ उहाँले भन्नुभयो ‘तर कार्यालयमा उजुरी आएपछि हामीले दुवै पक्षलाई राखेर धेरै सम्झाइ बुझाइ गरेर उहाँहरुको समस्या समाधानका लागि प्रयास गरिरहेका छौँ ।’

आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका ३८ वटा मुद्दाहरुमध्ये २६ वटाको मिलापत्र, दुई वटा अदालतमा र १० वटा सम्पर्कमा आएनन् । यस्तै गत आर्थिक वर्षमा दर्ता भएका ८९ वटा मुद्दा मध्येका ४९ वटाको मिलापत्र भएको छ । ११ वटा मुद्दा अदालतमा पठाइएका छन् भने मुद्दा दर्ता गरिए पनि २९ जना सम्पर्कमा नै आएको प्रहरीको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने व्यक्तिहरु अधिकारको बारेमा सचेत हुनु, कानुनी कारबाहीको बारेमा जानकार हुनु, आफ्नो मनमा लागेका कुरा खोल्न सक्ने हुनु लगायतका कारण मुद्दामा वृद्धि भएको बताउनुहुन्छ । तर मुद्दा दर्ता हुनुको अर्थ पूर्ण रुपमा घरेलु हिंसा भएको थियो भन्न भने नसकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्