नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु



काठमाडौं  । 
चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) मंगलबार देखि काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेर सुरु गर्नुभएको हो ।
संघले ’महामारीपछिको चुनौती, उपलब्धी र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो । बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल भैरहेको छ । सम्मेलनको पहिलो दिन मंगलबार तीन वटा विषयमा छलफल पुरा भयो र दोस्रो दिन आज बुधवार चार वटा विषयमा छलफल हुनेछ ।
सम्मेलनको पहिलो दिन संघको ’पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी’, ’सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’ र ’चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा’ विषयमा छलफल भएको थियो ।
यस्तै आज बुधवार, ’महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरू’, ’खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण’, ’नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना’ र ’चिकित्सा शिक्षामा असर र अवसर’ विषयमा छलफल भैरहेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्त्वपूर्ण हुने बताउनुभयो । ’सम्मेलनमा छलफलपछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रमहरू बनाउन सक्नेछ,’ उहाँले भन्नु भयो, ’यो सम्मेलनमा स्वास्थ्य र चिकित्सा शिक्षाका विषयमा गहन छलफल हुने र ती छलफलबाट विशेष गरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जनशक्ति र समग्र स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण सुझाव आउनेछ भन्ने विश्वास लिएको छ ।’
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य नभइसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड महामारीसँगै आगामी दिनमा आउन सक्ने जोखिम तथा समस्याको समाधानका लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्‍याउन सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । ’आगामी दिनमा स्वास्थ्यको नीति के हुनुपर्ने, पाँच वर्ष, १० वर्षमा स्वास्थ्य क्षेत्रमा के काम हुनुपर्छ र के कुरामा जोड दिनुपर्छ भन्ने विषयमा हामी गहन छलफल गर्नेछौँ,’ उहाँले भन्नुभयो, ’उक्त छलफलमा आएका कुराहरूलाई हामीले सङ्कलन गरेर नीतिगत सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिनेछौँ ।’
उहाँले समग्र नेपालको स्वास्थ्य प्रणालीलाई विश्वसामु प्रतिस्पर्धात्मक रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा ठोस रणनीतिमूलक कार्ययोजना तर्जुमा गर्न सहजीकरण होस् भनेर सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । सम्मेलन आयोजक समितिका अध्यक्ष डा अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो विषयहरु सम्मेलनमा छलफलका लागि छनोट गरिएको बताउनुभयो ।
’यस्ता महत्त्वपूर्ण बिषयवस्तुमाथि गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नु पर्ने रणनीतिक योजना र नीतिलाई मार्ग निर्देश गर्न सहजीकरणको भूमिका खेल्ने मैले अपेक्षा गरेको छु,’ उहाँले भन्नुभयो ।सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीका साथ सञ्चारकर्मीहरू र सरोकारवाला निकायको सहभागिता रहेको छ ।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेन्डर इभेन्टको रूपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिनुभयो ।
दोस्रो सम्मेलनका लागि चिकित्सक संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा आयोजक समिति गठन गरिएको थियो । उक्त समितिमा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा. बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की हुनुहुन्छ । डा चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष हुनुहुन्छ । डा. कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईँ, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला हुनुहुन्छ ।
सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह हुनुहुन्छ  । संघले यसअघि गत वर्ष असोजमा गरेको पहिलो राष्ट्रिय सम्मेलन कोभिड महामारीका कारण भर्चुअवल गरेको थियो  । गत वर्षको सम्मेलनमा विभिन्न १२ बुँदे घोषणापत्र सार्वजनिक भएको थियो । पहिलो सम्मेलनमा संघीयातामा माहामारीको पूर्व तयारी र व्यवस्थापनको अवस्था, महामारीमा जनशक्ति तथा सेवा प्रवाहको अवस्था, कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारको रणनीति, महामारीमा बहु क्षेत्रीय प्रतिक्रिया अवसर, चुनौती र महामारीबाट सिक्नुपर्ने पाठ, महामारीको पूर्व तयारीमा आउने नयाँ अवसर लगायत मुख्य ५ विषयवस्तुमा आधारित रहेर छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्