नागरिकताविहीन युवाहरूको प्रदर्शन जारी



राष्ट्रपतिले विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै काठमाडौंको माइतीघरमा मंगलबार पनि नागरिकताविहीन युवाहरूले धर्ना दिएका छन् ।

विगत डेढ वर्षदेखि नागरिकताको लागि संघर्षरत गर्दै आएको नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै छ दिन अघिदेखि प्रदर्शन गर्दै आएका हुन् । उनीहरूले नागरिकता विधेयकसँग आफ्नो भविष्य जोडिएको भन्दै उनीहरूले विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका छन् ।

नागरिकता विधेयकको लागि उनीहरूले प्रदर्शन थालेका यो पहिलोपटक भने होइन । नागरिकताविहीन संघर्ष समिति नै बनाएर उनीहरूले यसअघि आठ पटकसम्म काठमाडौंमा प्रदर्शन गरेका थिए । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरूले नागरिकता प्राप्त गर्न सक्ने गरी दुवै सदनबाट विधेयक पास भइसके पनि अब राष्ट्रपतिबाट संविधानको व्यवस्थाबमोजिम आफूहरूले नागरिकता पाउने अवस्थाबाट वञ्चित गर्ने प्रयास भइरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले अहिले होइन, वर्षौंदेखि आन्दोलन गरिरहेका छौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सबै नेताहरूलाई भेटेर हामीले हाम्रो माग भनेका छौं, हामीले संविधानविपरीतको माग राखेका होइनौं ।’

लामो संघर्षपछि संसद्का दुवै सदनबाट नागरिकता विधेयक पास भयो, तर राष्ट्रपतिबाट फिर्ता गरेर नागरिकताविहीनहरूको भविष्य अन्धकार पार्न खोजिएको ती युवाहरूको भनाइ छ । राष्ट्रपतिको ध्यानाकर्षण गर्दै संघर्ष समितिका अध्यक्ष साफीले भन्नुभयो,– ‘मेरो आग्रह छ, राष्ट्रपतिज्यू, नागरिकता विधेयकमा हामीजस्तै हजारौं नेपाली युवाको भविष्य अड्किएको छ, राजनीति नगरिदिनुस् ।’

धर्नामा बसेकाहरूको एउटै भनाइ थियो– ‘राष्ट्रपतिज्यू हाम्रो भविष्यसँग खेलवाड नगरिदिनुस् । तपाइँले विभिन्न दलका नेतालाई बोलाएर विधेयकबारे परामर्श गर्नुभएको छ । तर, हामी पीडित हौं । पीडितलाई त कहिल्यै बोलाउनुभएन, के संविधान सबैका लागि हैन ?’नागरिकता नपाएर आफ्नै देशमा शरणार्थी झैं भएर बस्नुपरेको गुनासो गर्दै साफीले भन्नुभयो – ‘हाम्रा आमा–बुबा दुवै नेपाली छन् । तर, हामीले नागरिकता नपाएर आफ्नै देशमा शरणार्थी भएर बसेका छौं । आफ्नो देशमा पढ्न–लेख्न, काम गर्न पाएका छैनौं ।

आफ्नै नामबाट एउटा सिम पनि निकाल्न पाएका छैनौं । बैंक खाता छैन ।’ काठमाडौंमा होटलमा बस्नका लागि पनि नागरिकता बुझाउनुपर्ने हुँदा समस्या आएको उनीहरूको भनाइ छ । साफीका अनुसार १ लाख ९० हजारले जन्मसिद्ध नागरिकता पाएका थिए, उनीहरूका पाँच लाख ८० हजार सन्तान छन्, एकल आमाका नाममा नागरिकता नपाउने ६ लाख ८० हजार छन् ।

प्रतिक्रिया दिनुहोस्