गोठाटारमा हत्याकाण्डको अनुसन्धानका लागि विशेष समिति गठन



काठमाडौं ।

फिल्मी शैलीमा हत्या गरिएका मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईको नेतृत्वमा प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक कृष्ण चन्दलगायतको समिति गठन गरिएको हो ।काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उक्त घटनाको बारेमा छानबिन भइरहेको बताउँदै उक्त जानकारी दिनुभएको हो । विवादास्पद छवि भएका मोहम्मदको हत्या संगठित गिरोहले गरेको आशंका गर्दै प्रहरीले छानबिनको दायरालाई समेत साँघुरो बनाएको छ ।

कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारमा पछिल्लो समय एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट सञ्चालन गर्दै आएका मोहम्मदलाई जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गार्मेन्ट फर्कने क्रममा बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ गोली प्रहार गरिएको थियो ।

नक्कली भारतीय नोटको कारोबार र हत्याको अभियोगमा पक्राउ परेका मोहम्मद १० वर्ष जेल जीवन बिताएर निस्केका थिए । वि.सं. २०६४ असार २० मा धोबीखोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको कसुरमा मोहम्मदलाई १० वर्ष जेल सजाय सुनाइएको थियो । पटुवामाथि गोली प्रहार भएपछि प्रहरीले मोहम्मद र पप्पु गुप्तालाई पक्राउ गरेको थियो । पटुवालाई गोली हानेको मुद्दामा अर्का आरोपी मुन्ना खान भन्ने इल्ताफ हुनेस अन्सारीलाई वि.सं. २०६६ मा प्रहरीले पक्राउ गरेको थियो । भारतीय जाली नोट कारोबारमा विवाद आएपछि मोहम्मदको समूहले पटुवाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पाकिस्तान र बंगलादेशबाट नेपाल हँुदै भारत पुग्ने उक्त नक्कली नोटको कारोबारमा मोहम्मदको संलग्नता रहेको पुष्टि भएपछि मोहम्मद भारतीय प्रहरीको निगरानीमा परेको एक उच्च प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
सर्लाहीको हरिवन नगरपालिका–२ घर भई हाल गोठाटारमा बसोवास गर्दैै आएका मोहम्मदको साथबाट प्रहरीले नेकपा माओवादी नेत्रविक्रम चन्दको पार्टीको सदस्यता समेत बरामद गरेको छ ।

प्रहरीले हत्या भएको ठाउँबाट लिएको सीसीटिभी फुटेजमा ३ जना हत्याराहरूले फिल्मी शैलीमा मोहम्मदलाई लखेटी लखेटी गोली हानेको र उहाँले हत्याराहरूसँग प्रतिवाद समेत गरेको देखिन्छ । गोली लागेर घाइते भएका मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा पु-याउँदा चिकित्सकले मृत घोेषणा गरेका थिए । मोटरसाइकलमा आएका तीन हत्यारामध्ये एकले उहाँलाई लखेटी लखेटी गोली हानेका थिए ।

विभिन्न अभियोगमा जेल परेका मोहम्मदले केही समय अघिदेखि आफू असुरक्षित रहेको भन्दै प्रहरीलाई खबर गरे पनि प्रहरीले मोहम्मदको भनाइलाई सामान्य रूपमा लिएर उनको सुरक्षाको बारेमा कुनै चासो नदेखाएको उनको परिवारले बताएको छ ।
सोमबार साँझ गोली हान्ने समूहले नै दुई हप्ताअघि मोहम्मदलाई बौद्धको जम्बुडाँडास्थित प्रहरी चौकीनजिकै गोली प्रहार गरेको थियो ।

उहाँले त्यसबेला नै प्रहरीलाई आफूमाथि गोली प्रहार भएको बताएको उहाँको परिवारले जनाएको छ । गोठाटारमा गार्मेन्ट चलाएर बसेका मोहम्मदको हत्या पुराना घटनाहरूसँग मिल्दोजुल्दो खालको देखिएको छ । इस्लामी संघका महासचिव फैजान अहमदलाई वि. सं.२०६८ असोजमा भारतबाट आएका सुटरले हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो । उक्त हत्यामा संलग्न रहेका कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

त्यस्तै, वि. सं. २०७५ असोजमा सुनसरीका खुर्सिद अन्सारी र २०६६ माघमा सञ्चार उद्यमी जमिम शाहको हत्या भएको थियो । यी तीनवटै हत्यामा भारतीय सुटरले हत्या गरेको निष्कर्ष निकालेको नेपाल प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।
नक्कली भारतीय रुपियाँको कारोवारमा संलग्न रहेको आरोपमा केन्द्रीय कारागारमा जेल जीवन बिताई रहेका युनिस अन्सारीमाथि जेलमा नै गोली प्रहार गरी हत्याको कोसिस भएको थियो ।
गोठाटार घटनाको अनुसन्धान अहिले काठमाडांै प्रहरी कार्यालय र उपत्यका अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रूपमा गरिरहेको छ ।
प्रहरीले उक्त घटनाको बारेमा केही सूचना पाएको दाबी गर्दै अनुसन्धानमा संलग्न रहेका एक अधिकृतले नेपाल समाचारपत्रलाई भने– ‘हामी सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, यो घटनाको बारेमा छिट्टै निष्कर्षमा पुग्छाैं ।’

प्रतिक्रिया दिनुहोस्