सिक्दै र झगडामै सकियो प्रदेशको कार्यकाल



हेटौंडा।

मुलुकमा पहिलोपटक संघीयताको संसदीय अभ्यास गरेको वागमती प्रदेशको पहिलो कार्यकाल सिक्दै, झगडा गर्दै, मिल्दै र संसदमा जुहारी खेल्दै शनिबार मध्यरात सकिएको छ । १ सय १० सांसद रहेको संसदले ५ वर्षे कार्यकालमा ३ मुख्यमन्त्री र ३७ जना मन्त्री पायो ।

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट हुने निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्ने अघिल्लो दिनदेखि प्रदेशसभाका सदस्यबाट मुक्त हुने जनाएसँगै प्रदेशसभाको पहिलो कार्यकाल सकिएको हो ।

पटकपटक सरकार परिवर्तनको प्रभावले प्रदेश सरकारको पहिलो कार्यकाल मन्त्री हेरफेर र आरोप प्रत्यारोपमै बित्यो । संघीय सरकारको नक्कल गर्दै सञ्चालन भएको प्रदेश सरकारले ५ वर्ष कार्यकालमा नागरिकको अपेक्षाअनुसार काम नगरेको भन्दै प्रदेश खारेजीको आवाज पनि उत्तिकै गुञ्जिएको पाइयो । तर, प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भन्नुहुन्छ–यतिचाँडै प्रदेश महँगो भयो, काम छैन भन्ने अवस्था आएको छैन । प्रदेश संरचना बनेको, प्रदेश सरकारले काम गरेको र अभ्यासको क्रममा छ । संघीय सरकारसँग केन्द्रिकृत मानसिकता रहेको र यो नै समस्या भएको बताउँदै उहाँले भन्नुभयो–संघीयताको अभ्यास भइरहेको समयमा संघीय सरकारले जिल्ला कार्यालय स्थापना गर्नु र अनावश्यक रुपमा विभाग राख्नु उचित होइन । उहाँले संघमा कर्मचारी त्यसै बसेका, बस्ने कुर्सीसमेत नभएको र प्रदेशमा काम गर्ने कर्मचारी अभाव भएको भन्दै राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रमा परिवर्तन नआएको गुनासो गर्नुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ मा करिब ५५ बिगाहा सरकारी जग्गामा बिभिन्न कार्यालय भवन निर्माण गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उहाँले उक्त सरकारी भवन निर्माणका लागि प्रथम चरणमा १ अर्ब १० करोड बजेट विनियोजित गरी छिट्टै कार्यान्वयन गर्ने तयारी गरेको बताउनुभयो ।

प्रदेशसभा स्थापनाकाल शून्यबाट सुरु गरेर हाल प्रदेश सरकारले ७० वटा विधेयक पारित गर्न सफल भएको र प्रदेशको १३ वटै जिल्लामा भौतिक पूर्वाधार (सडक, विद्युत्, खानेपानी, पुल, सिचाईं) र राष्ट्रिय गौरवका योजनालाई बजेट विनियोजित गरी कार्यान्वयनतर्फ अग्रसर रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले सरकारको चालु आर्थिक वर्षभित्रको विशेष कार्यक्रमअन्तर्गत् चेपाङ र बनकरिया समुदायका नागरिकलाई आवासगृह, शैक्षिक छात्रवृत्ति र खानेपानीको बजेट विनियोजित गरी स्थलगत् प्राविधिक सर्भे भइरहेको पनि उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डे केही समय अलमलमा बिते पनि आफू मुख्यमन्त्री भएपछि प्रदेशमा राम्रा काम भएको दाबी गर्नुहुन्छ । साढे तीन वर्ष भन्दा बढी सांसद रहदा र मुख्यमन्त्री सम्हाल्दा धेरै कुराको पाठ आफूले सिकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । ‘सांसदमात्र रहदा त्यति अधिकार नपाए पनि मुख्यमन्त्री भएपछि धेरै काम गर्ने मौका पाएको छु । यस अवधिमा प्रदेशको शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत पूर्वाधारको योजना अघि बढायौं । मन्त्रालय भवनका लागि स्थान तोक्न सफल भएका छौं । समग्र विषयलाई हेर्दा ५ वर्ष कार्यकाल राम्रै रह्यो । सिक्दै काम गर्ने मौका पनि मिल्यो । चुनौतीहरु पनि धेरै खेपियो,’ उहाँले भन्नुभयो । उहाँले प्रदेशका १३ वटै जिल्लालाई जोड्ने सडकसञ्जाल निर्माण र प्रदेशभित्र ‘प्रत्येक घर–खरको छानामुक्त’, ‘एक घर–एक धारा’ र ‘एक विद्यालय–एक नर्स’ कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले तीन वर्ष भन्दा लामो समय मुख्यमन्त्री सम्हाल्दा त्यतिबेलाको परिस्थितिअनुसार आफ्नो कार्यकालमा धेरै काम गर्न सकेको बताउनुभयो । सबै कुरा गर्न नसकिए पनि धेरै काम भएको बताउँदै प्रदेश सरकारको पहिलो अभ्यास सिक्दै विकासको काममा पनि योगदान गरेको उहाँ बताउनुहुन्छ । ‘पछिल्लो एक वर्ष सांसदको भूमिकामा रहदा पनि जति गर्नुपर्ने हो, त्यति गरेको थिए । कार्यकाल सफल रहेको अनुभूत गरेको छु ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्माखनालले प्रदेशको नयाँ अभ्यास गरिएको, नयाँ अनुभव लिइएको र संरचना निर्माण भएकाले पाँच वर्ष कार्यकाललाई सकारात्मकरुपमा लिनु आवश्यक भएको औंल्याउँदै शीर्षनेताहरुमा प्रदेशलाई अधिकार दिन नचाहने प्रवृत्ति रहेको आरोप लगाउनुभयो ।

प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्दै संघीयता सुदृढ गर्नुपर्नेमा जोड दिँदा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नयाँ संरचना भएकाले कमीकमजोरी भए पनि प्रदेशका सबै जिल्लामा प्रदेश सरकार रहेको महसुस गराउने गरी प्रदेश सरकारले काम गरेको दाबी गर्नुुभएको छ ।

प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रतिगमनको खतरा अझै रहेको बताउँदै प्रदेश नरहेमा यो व्यवस्था र संविधान नरहने भएकाले संविधान र व्यवस्थाको पक्षमा उभिन आग्रह गर्नुभएको छ । प्रदेशसभाकी उपसभामुख राधिका तामाङले शून्य अवस्थाबाट प्रदेश यो अवस्थामा आएको चर्चा गर्दै प्रदेशसभाको आफ्नै भवन र प्रदेशसभाको हल पाँच वर्षमा बन्न नसक्नु दुःखद् पक्ष भएको बताउनुभएको छ ।

प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले राज्यमन्त्री सम्हाल्दा धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै भन्नुभयो–महिला, त्यसमा पनि दलित भएर सांसद बनेर प्रदेशसभामा आउ“दा कार्यकालमा धेरै कुरा अनुभव गर्न पाइएको छ । राज्यमन्त्री रहदा गर्न खोजेका कति कामहरु पूरा भएनन् । कति कुरा पूरा भए । गर्न बाँकी काम रहे पनि समय सकिसकेको छ । समग्रमा ५ वर्ष कार्यकाल राम्रै भयो ।

प्रदेशका सांसदहरु आफूले ५ वर्ष कार्यकालमा धेरै कुुरा सिक्दैमा बितेको बताउनुभएको छ । प्रदेश सञ्चालन गर्ने पहिलो अभ्यासस्वरुप काम गर्न आधार तय गरिएको प्रदेश सांसदहरु बताउनुहुन्छ ।

विवेकशील साझाका प्रदेश सांसद रमेश पौड्याल यस अवधि उपलब्धिमूलक भएको बताउनुहुन्छ । पहिलो कार्यकालमा कस्ता काम भए भन्दा पनि जग बसाउन प्रदेश सरकार र सांसदको भूमिका कस्तो रह्यो भन्ने कुरा महत्वपूर्ण भएको बताउ“दै उहाँले शून्यबाट सुरु भएको प्रदेश ५ वर्षमा यत्तिको स्तरमा आउनु चुनौतीपूर्ण भएको उल्लेख गर्नुभयो । सांसद पौड्यालले समग्रमा प्रदेशसभाबाट धेरै कुराहरु सिकिएको बताउनुहुन्छ । संसदको पहिलो अनुभव रमाइलो रहेको र आफू चुनिएर आएको क्षेत्रको विकासका लागि धेरै पहल गरिएको उहाँको कथन छ ।
देश संघीय संरचनामा गएसँगै पहिलो पटक भएको निर्वाचनपछि बनेको वागमती प्रदेशसभाका सदस्यले २०७४ माघ ७ गते शपथग्रहण गरेका थिए । माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभाको यस अवधिमा भएका १० अधिवेशनले गरेका काम र सरकारको कामबारेमा मन्त्री र सांसदहरुले भनेका छन्–पहिलो पाँच वर्ष कार्यकालमा प्रदेशबारे सिक्ने, अनुभव गर्ने र प्रदेशको जग हाल्ने काम भएको छ ।

३ मुख्यमन्त्री

प्रदेशका प्रथम मुख्यमन्त्री नकेपा एमालेका डोरमणि पौडेलले लामो समय (लगभग ३ वर्ष) कार्यभार सम्हाल्नुभएको थियो । पौडेलको राजीनामापछि प्रदेशको मुख्यमन्त्रीमा २०७८ भदौ २ गते अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको थियो ।

मुलुककै पहिलो महिला मुख्यमन्त्री तथा प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त शाक्यलाई माधबकुमार नेपाल पक्षको रहे पनि अध्यक्ष केपी शर्माओली पक्षले दलको नेता चयन गरेको थियो । प्रदेशमा नेपाल पक्षको नेतृत्व गरिरहनुभएकी शाक्यलाई संसदीय दलको नेता बनाइ मुख्यमन्त्री बनाउने तयारीस्वरुप पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो ।

एक महिनाभित्र विश्वासको मत नपाएपछि शाक्य मुख्यमन्त्रीबाट हट्नुभयो । त्यसपछि प्रदेशका तेस्रो मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता पाण्डे बन्नुभएको हो । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका गरी कुल ५९ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख यादबचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

८ बाट १४ मन्त्रालय

प्रदेश सरकारको पहिलो कार्यकालमा अपेक्षाअनुसार विकासको कामले तीव्रता लिन नसकेको गुनासो छ । सत्ता गठबन्धन भएपछि सबै दलका सांसदलाई मन्त्रीको भागबण्डा पु¥याउन अघिल्लो सरकारको पालामा ८ वटा रहेको मन्त्रालयबाट मन्त्रालय थप गर्दै १४ पु¥याइयो । ५ वर्ष अवधिमा ९९ वटा कानुन बनाउने बताएको प्रदेश सरकारले जेनतेन ५२ वटामात्र कानुन बनाउन सक्यो । भागबण्डा, आरोपप्रत्यारोपमा सांसदहरु अल्झि“दा प्रदेश सरकारले आफ्नै संरचनासमेत निर्माण गर्न सकेन । सरकारको आफ्नै भवन नहु“दा वर्षेनी करिब ८ करोड भाडामा खर्च भइरहेको छ ।

पौडेल नेतृत्वको पहिलो प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा ४४ महिनासम्म अघि बढाएको योजना सरकार परिवर्तनस“गै स्थगित भयो । करिब डेढ करोड खर्च भइसके पनि एमाले विभाजनपछि मुख्यमन्त्री बन्नुभएका पाण्डेले मन्त्रिपरिषद्बाट योजना स्थगित गर्ने निर्णय गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्