कैदीबन्दीलाई जेल भित्र ‘रोजगार’

गलैचा उद्योग स्थापना



काभ्रे।

कारागार कार्यालय काभ्रेपलाञ्चोकले जेल भित्र रहेका कैदीबन्दीहरुलाई रोजगार दिने उदेश्यले गलैचा उद्योग शुरु गरेको छ । जिल्लाका ब्यवसायी नवराज केसीको ३० लाख रुपियाँको लगानीमा कारागार कार्यालय काभ्रेले जेल भित्रै उद्योग शुरु गरेको हो ।

‘एकै पटक ५० जनाले उद्योगमा काम गर्न सक्ने गरी उद्योग स्थापना भएको छ ’–कारागार कार्यालय काभ्रेका प्रमुख जेलर गायत्री अधिकारीले भन्नुभयो–‘कैदी बन्दीहरुलाई जेल भित्र बस्दा पनि आम्दानी गर्न सकिने गरी उद्योग स्थापना गरिएको हो ।’ गलैचा उद्योग स्थापना हुनु अघि कैदी बन्दीहरुले मुढा, पोते लगायतका सामान बुन्ने गरेका थिए ।

 

कारागार भित्र खाली रहेको जमिनमा प्रविधियुक्त गलैचा मेशिन जडान गरिएको छ । मेशिन जडान, जडान पूर्वको पूर्वाधार निर्माण, गलैचा बुन्ने उन लगायतका अन्य संरचनाहरु निर्माणमा केसीले ३० लाख लगानी गरेका छन् । एकल, डबल र बुटा भएका तथा नभएका गलैचाहरु बुने बापत फरक फरक ज्याला प्राप्त हुनेछ ।

डबल साईजको गलैचा बुन्ने ब्यक्तिले १५ हजार रुपियाँ प्राप्त हुनेछ । गलैचा विक्री गर्न समस्या छैन । केसी आफैले उपलब्ध गराएका सामानहरुबाट तयार भएका गलैचा उनी आफैले छिमेकी देश चिनमा लगेर विक्री गर्नेछन् ।

कारागार भित्र जडान भएका १० वटा मेशिनमा २० वटा साईडमा ४० जनाले एकै पटक तानमा बसेर गलैचा बुन्न मिल्छ । धागो तयार गर्न १० जना दैनिक आवश्यक पर्दा एकै पटक ५० जनाले उद्योगमा रोजगारको अवसर पाउनेछन् । कारागार भित्र रहेका दक्ष तथा अदक्ष कामदारहरुलाई गलैचा बुन्न सिकाईनेछ । केही जानेकाहरुलाई थप सिप सिकाएर पूर्ण बनाउँदै अन्यलाई सिकाउँदै रोजगार उपलब्ध गराउने योजना बनाईएको जेलर गायत्री अधिकारीले बताउनु भयो ।

‘जेल भित्र बेरोजगार बसिरहँदा ब्यक्तिमा आउने थप निराशालाई आशा र उत्साहमा बदल्न उद्योग स्थापना गरेका हौं’–जेलर गायत्री अधिकारीले भन्नुभयो–‘यस अघि अन्य सिपमुलक तालिम र स्वास्थ्य शिविर, योग अभ्यास तथा सांस्कृतिक कार्यक्रमहरु मार्फत नैराश्यता घटाउने कार्य भईरहेको छ ।’ जेललाई सुधार गृहका रुपमा विकास गर्न, जेल भित्र बस्दा पनि आयआर्जन गर्न सक्ने गरी कार्य गरिरहेको अधिकारीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्