डेंगुबाट बच्न लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिँदै (तस्बिरसहित)



म्याग्दी । देशैभर डेंगु रोगको संक्रमण फैलँदै गैरहेको अवस्थामा म्याग्दीमा डेंगु रोकथाम गर्नका लागि लामखुट्टेको वासस्थान खोज र नष्ट गर्ने अभियान थालिएको छ । डेंगु रोगको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारसहित आसपासका क्षेत्रहरुमा सरसफाइ अभियान सुरु गरिएको हो ।

डेंगुरोग संक्रमणको जोखिम बढ्दै गएपछि समुदायस्तरमा सचेतनामूलक अभियान थालिएको बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । डेंगुरोगले महामारीको रुप लिन सक्ने भएकाले यसबाट बच्न नगरपालिका र वडाको पहलमा विद्यालय, संघसंस्थालगायत सरोकारवाला निकायको सहभागितामा डेंगु रोकथामको अभियान अगाडि बढाइएको छ ।

बेनीबजार भित्रका दुवै वडामा आमा समूह, टोल सुधार समिति, नेपाल प्रहरी, युवा क्लब, विद्यालयका विद्यार्थीसहितको टोली सरसफाइ अभियानमा सहभागी भएका थिए । अभियानको क्रममा बजार क्षेत्रको टोल, वस्ती र समुदाय वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडी सरसफाइ गर्ने, टायर हटाउने, प्लाष्टिकका भाँडा, प्लाष्टिक तथा कागजहरु सङ्कलन गरी जलाउने जस्ता कार्यहरु गरिएको छ । म्याग्दीमा हिँजो (शुक्रवार)सम्म जिल्लाभर जम्मा १३ जना बिरामीहरुमा डेंगु संक्रमण पुष्टि भएकोमा उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगुको संक्रमणबाट बच्न आफ्नो घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, गमलामा जम्मा भएको पानी फ्याँक्ने र लामखुट्टेको लार्भा फ्याँक्नका लागि सेचतनामूलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

डेंगुरोग डेंगी भाइरसबाट संक्रमित एडिज लामखुट्टेको टोकाइले सर्ने गर्दछ । यस लामखुट्टेले सफा पानीमा फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । डेंगुरोग लागेपछि उच्च ज्वरो आउने, बान्ता हुने, आँखाको गेडी, टाउकाको पछाडिको भाग र शरिर धेरै दुखिरहने जस्ता लक्षणहरु देखिएपछि तुरुन्तै स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ ।

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिई सफा तथा डेंगु लागेको बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्छ । डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशु चौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरिर ढाक्ने तथा लामो कपडा लगाउनुपर्छ ।

यसअघि स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौंको प्राविधिक सहयोगमा एडिज एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग भएकाले यसको वासस्थान खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरण समेत गरिएको थियो ।

जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचेक्¥यार्इँ गर्न नहुने, स्वास्थ्यकर्मीसँग परार्मश नगरी औषधी सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माइकिङ समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्