सरकारले वास्ता नगरेपछि प्रधानमन्त्रीको गृह प्रदेशमा डा. केसीको सत्याग्रह



धनगढी  ।

चिकित्सा सेवा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसी सोमबार कैलालीको धनगढी पुग्नुभयो । केसीले धनगढी विमानस्थलमा झरेपछि उहाँले पत्रकार सम्मेलन गरेर सत्याग्रहमा बस्ने जानकारी दिनुभयो । त्यसको केही घण्टामै करिब साँझ ५ बजे धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा (धर्मशाला) मा पत्रकार सम्मेलन गरियो । त्यहीँ पत्रकार सम्मेलनबाटै केसीले सत्याग्रह शुरू गरेको घोषणा गर्नुभयो । उहाँले आफ्नो २० औं पटकको सत्याग्रह शुरू गर्नुभएको हो ।

सत्याग्राह शुरू गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उहाँले विगतका सरकारले झैं अहिलेको सरकारले पनि आफ्नो मागलाई बेवास्ता गरेको दाबी गर्नुभयो । बेवास्ताकै कारण बाध्य भएर आफूले सत्याग्रहको बाटो रोज्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘चिकित्सा क्षेत्रलाई राज्यले बेवास्ता गरेको छ । निजी संस्थाहरू च्याउ उम्रेझैं भएका छन् । भएका सरकारी स्वास्थ्य संस्थाहरूलाई पनि राजीनिक भर्ती केन्द्र बनाइएको छ ।

शीर्ष नेताहरू चाहे केपी ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका करबाट उपचार गराउन विदेश जाने तर उनीहरूलाई भोट दिई नेता बनाउने गरिब नागरिकहरू उपचार नपाई मर्नुपर्ने ? गरिबको बाँच्ने अधिकार छैन, यो अवस्थामा म मरे मर्छु । एक जना मर्दैमा के हुन्छ ? आमनागरिकहरू त्यतिकै मरिरहेका छन् ।’

यति बोलेपछि उहाँ एकाएक भक्कानिनुभयो । त्यसको केही बेरपछि उहाँले पुनः भन्नुभयो– ‘म आफ्नो नैतिकतालाई ठूलो मान्छु । त्यसैले मैले अहिलेसम्म आफ्नो सत्याग्रहको गरिमा गिर्न दिएको छैन । धेरै मान्छेले आफ्नो इच्छाले फलानो यो गर्छ । त्यो गर्छ भन्छन् । त्यसैले यो हलमा सीसीटिभी क्यामेरा लगाइदिन अनुरोध गर्छु । किनकि उनीहरूले (जिम्मेवार मान्छेले) हेर्न पाउँथे । उनीहरूले भनेको कुरा साँचो हो, गलत हो, पब्लिकले थाहा पाउँथे ।’

यस्तै उहाँले अर्को सन्दर्भमा बोल्दै सरकारले आफ्ना मागहरूमा सरकारले ‘रेसपोन्स’ नगरेकोले सत्याग्रहमा बस्न बाध्य बताउनुभयो । उहाँले केही महिनाअघि आफूले सरकारसँग राखेका माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएको बताउनुभयो । ‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ कि भनेर धनगढी पुगेको हुँ’– उहाँले भन्नुभयो ।
उहाँले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउनुपर्ने माग राख्नुभएको छ ।

त्यस्तै, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग उहाँको छ ।‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस् । विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरू गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आऊन् ।

यस अगाडि हामीसित सम्झौता भएबमोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस्’, –उहाँले भन्नुभएको छ ।त्यस्तै, सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् भन्ने माग पनि उहाँले अघि सार्नुभएको छ । ‘जलवायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस्’, उहाँको माग छ ।

प्रधानमन्त्रीकै गृहप्रदेश भए पनि सुदूरपश्चिममा स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको उहाँको भनाइ छ । चिकित्सा क्षेत्र सुधारका लागि लामो समयदेखि संघर्षरत डा. केसी यसअघि देउवाको गृहजिल्ला डडेल्धुरामा पनि १९ दिन अनशनमा बस्नुभएको थियो । यसअघि, भदौ १२ देखि शुरू गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि उहाँले स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्