हिमाली जिल्ला दार्चुलामा पनि डेंगु संक्रमण



दार्चुला । हिमाली जिल्ला दार्चुलामा पनि डेंगुका विरामी देखिन थालेका छन् । खास गरी हिमाली जिल्लामा नदेखिने यो रोगको संक्रमण पछिल्लो समय दार्चुलामा दिनानुदिन फैलिरहेको पाइएको छ ।

जिल्ला अस्पताल दार्चुलाका मेडिकल अधिकृत डा. सोमराज अवस्थीका अनुसार दुई दिनमा गरिएको परीक्षणमा मात्रै ११ जनामा डेंगुको संक्रमण भेट्टिएको छ । भदौ १२ गतेपछि गरिएको परीक्षणमा ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको उहाले बताउनुभयो ।

केहि दिन यता जिल्ला अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा डेंगुको संक्रमण देखिन थालेको उहाँले जानकारी दिनुभयो । हिमाली जिल्लाहरुमा नदेखिने यो रोग पछिल्लो समय तराईदेखी पडाही तथा हिमाली जिल्लाहरुमा समेत लामखुट्टेहरु आउने गरेका कारण डेंगुको संक्रमण भइरहेको पाइएको उहाँले बताउनुभयो । ‘दार्चुला जस्तो हिमाली जिल्लामा डेंगुको संक्रमण नदेखिनु पर्ने हो, अहिले दैनिक ४्५ केस पोजेटिभ आइराछन् उहाँले भन्नुभयो ।’

भदौ १२ गते २९ जना बिरामीमा गरिएको परीक्षणमा १० जना महिला र १ जना पुरुषमा डेंगुको संक्रमण भेट्टीएको उहाँले जानकारी दिनुभयो । ११ जनामध्ये १४ वर्ष मुनिका ६ जना बालबालिका रहेको मेडिकल अधिकृत डा. अवस्थीले बताउनुभयो ।

डेंगु संक्रमण भएका केही बिरामीहरु भर्ना गरेर उपचार गर्नुपर्ने खालका रहेको उहाको भनाइ छ । एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको उहाले बताउनुभयो ।

वर्षातको सिजनमा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्ने र त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढ्ने बताइएको छ । यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिन पुरै शरीर ढाकिने गरी लुगा लगाउन उहाले सुझाव दिनुभएको छ ।

डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता विमिराहरू आउने र वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्