सात केन्द्रीय सदस्यले त्यागे विवेकशील साझा



काठमाडौं । 

विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गर्नुभएको छ । अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर हुनुहुन्छ ।
‘पार्टीबाट राजीनामा दिए पनि अहिले हामीले अन्य कुनै दलमा सहभागी हुने निर्णय लिएका छैनौं’ वागमती प्रदेशका सांसद समेत रहेका विराजभक्त श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो– अहिले हामी स्वतन्त्र रहनेछौं ।

उहाँहरूले हिजो ललितपुरको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराएको राजीनामा पत्रमा अपेक्षाअनुसार विवेकशील साझाले काम गर्न नसकेका कारण राजीनामा दिएको जनाइएको छ । राजीनामा पत्रको व्यहोरा छ, ‘पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक संमृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै विवेकशील साझा पार्टीको स्थापना भएको थियो ।

दुःखका साथ भन्नु पर्दा विवेकशील साझा पार्टीमा न त आफ्नै मूल्य र मान्यता पालना भएको पाइएको छ, न त सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयास गरेको पाइएको छ ।’ पार्टी २०७४ सालको संघीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमतको सम्मान गरेर आम नागरिकहरूको समस्याहरूलाई सम्बोधन गर्दै सङ्गठन विस्तार गर्नुभन्दा पनि आन्तरिक कलहमा फस्दै, सम्भावनामाभन्दा बढी अरूको आलोचनामा अल्झिरह्यो ।

उहाँहरूको विश्लेषण छ, ‘हामीले पटक पटक पत्रहरू पठाएर, औपचारिक र अनौपचारिक बैठकहरूमा इमानदारीपूर्वक हाम्रा सार्वभौम सदस्यहरूलाई प्रतिनिधित्व गर्दै आवाजहरू उठाइरह्यौँ । हामीले उठाएका विषयहरू कहिल्यै पनि सम्बोधन हुन सकेनन् साथै पार्टीले न्यूनतम लोकतान्त्रिक अभ्यासको पालना गरेको आभाससम्म पनि हुन सकेन ।

स्थापना भएको लगभग पाँच वर्षसम्म नयाँ सङ्गठन त बनेनन् नै, भएका सङ्गठनहरू पनि भङ्ग गरिदा, सङ्गठन बनाउन प्रयासरतहरू निरुत्साहित भए । त्यसैले स्थापना कालदेखि नै अनवरत रूपमा सुसंस्कृत राजनीति स्थापना गर्न लागेका धेरै सदस्यहरू, नेताहरू र केही प्रदेश संयोजकहरूले प्रदेश समितिसहित पार्टी परित्याग गर्दै गए । परिणामतः पार्टीले गत स्थानीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्न पुग्यो ।’

‘विगत पाँच वर्षमा, पटकपटक विभिन्न बहानामा पार्टीको महाधिवेशन हुन सकेन र महाधिवेशन कहिल्यै पनि प्राथमिकता परेन। पछिल्लो क्रममा त न्यूनतम आन्तरिक लोकतान्त्रिक अभ्यासलाई पनि लगभग पूर्ण रूपमा बन्द नै गरियो । फरक मतहरू, सुझावहरू, धारणाहरू प्रस्तुत गरिदा अभद्र व्यवहारहरूको सामना गर्नपर्ने अवस्था आएको थियो, जुन पार्टी र लोकतन्त्रकै लागि अहितकारी थियो’ राजीनामा पत्रमा रवीन्द्र मिश्रको नाम नलिई उहाँको अध्यक्षताका बेला पार्टी निकै कमजोर भएको विश्लेषण गरिएको छ ।
राजीनामामा भनिएको छ, पार्टीको विधानबमोजिम २५ प्रतिशत केन्द्रीय सदस्यहरूले जनचासो र सार्वभौम सदस्यहरूको चासोको विषयलाई केन्द्रीय समितिको बैठकमा छलफलको विषयको रूपमा राख्न पाउने प्रावधानको अभ्यास गर्दैगर्दा हामीले तत्कालीन अध्यक्षलाई राजसंस्था र विवेकशील साझा पार्टीलाई राप्रपामा विलय गर्ने विषयमा स्पष्ट पारिदिन अनुरोध गर्दा तत्कालीन अध्यक्षले हाम्रो अनुरोधलाई पूर्ण निषेध गर्दै, न्यूनतम आन्तरिक लोकतान्त्रिक अभ्यासलाई निमोठेर आफ्नो पूर्व निर्धारित निर्णय सुनाउँदा हामी सबैले गहिरो चोट अनुभूत गरेका थियौँ ।

लगत्तै स्थानीय चुनावपछि सञ्चारमाध्यमबाट राजसंस्थाको पक्षमा खुल्नुले, तत्कालीन अध्यक्षले सम्पूर्ण सार्वभौम सदस्यहरूलाई राजनीतिक बेइमानी गरेको हो भन्ने पुष्टि हुन्छ । गत साउन २९ गते अध्यक्ष र संयोजक चयन गर्न भनी ज्येष्ठ केन्द्रीय सदस्य भीमप्रसाद अधिकारीको नामबाट आह्वान गरेको भनिएको बैठक उहाँले आह्वान नगरेको पुष्टि भएपछि दल अराजकताको भुमरीमा फसेको विश्लेषण गर्दै उहाँहरूले राजीनामा दिने मनस्थिति बनाउनुभएको थियो ।

‘पार्टीको अध्यक्ष र संयोजक चयन, कुनै प्रक्रियाको आधारमा गरिएको हो भन्ने कुरामा पनि स्पष्टता नदेखिनुले, पार्टीले अनुसरण गरेका विवेकशील मूल्य मान्यताबाट पार्टी विचलित भएको भान हामीलाई भएको थियो’ उहाँहरूले संयुक्त राजीनामापत्रमा भन्नुभएको छ । पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्मविपरीत रहेको एवं सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक संवृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभाससहित हामीले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजीनामा दिने निर्णय गरेका छौं– उहाँहरूको भनाइ छ । मिश्र अध्यक्ष बनेपछि त्यागको सिलसिला बढेको विवेकशीलमा पछिल्लो समय राजीनामा दिनेहरूको लहर नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्