लक्ष्मी प्रतिष्ठानको स्वाबलम्वन बनाउने योजना : ‘कर्म गर, आफुलाई परिमार्जन गर’



‘कर्म गर, आफुलाई परिमार्जन गर’, आफुलाई बदलिएर अरुलाई बदल्नु पर्छ, मागि खाने हैन, गरि खाने अभियानका साथ १३ वर्ष अघि स्थापना भएको लक्ष्मी प्रतिष्ठानले १ सय ९६ जना बालबालिकाहरुलाई संरक्षण गरिरहेको छ । काभ्रेको चौरी देउराली स्थित धुशेनी शिवालयको गुमटीमा ५९ जना र चितवन जिल्लाको राप्ती १३ कान्दामा १ सय ३७ जना बालबालिकाहरु संरक्षित छन् ।

‘कान्दामा माध्यमिक विद्यालय छैन, शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई संस्कार सहितको शिक्षा, स्वास्थ्य, स्वाभिमान, आत्मनिर्भरका लागि सिप, ब्यवसायीक तालिम, स्वालम्वन सहित सक्षम बनाउने अभियान निरन्तर जारी छ’–प्रतिष्ठानकाका संस्थापक अध्यक्ष विष्णु गौतमले भन्नुभयो–‘कान्दामा पुग्दा त्यहाँ रहेका चेपाङ्ग समुदायका बालबालिकाहरु शिक्षबाट बञ्चित भएको देखेर शुरु भएको अभियान निरन्तर छ ।’ कुमार बलराम स्मृति छात्राबासमा अध्ययन गरिरहेका बालबालिकाहरु अधिकांश चेपाङ्ग समुदायका छन् ।

भाषा, समुदायका थुप्रै समस्याहरुलाई चिर्दै प्रतिष्ठानले कक्षा ७ अध्ययन गरिसकेका बालबालिकाहरुलाई काभ्रेमा ल्याई छात्राबासमा राखेर माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको प्रतिष्ठानले बालबालिकाहरुलाई शिक्षासँगै स्वावलम्वन र आत्मनिर्भर बनाई रहेको छ । छात्राबासमा बसिरहेका बालबालिकाहरु शिक्षासँगै अतिरिक्त कृयाकलापमा पनि उत्तिक्कै सक्षम छन् ।

गाउँ रुपान्तरण स्वंयमले गर्न सकुन भन्ने उदेश्यले निरन्तर १० वर्ष देखि चेपाङ्ग समुदायका बालबालिकाहरुको भविश्यका लागि शुरु भएको अभियानको लक्ष्य ७५ प्रतिशत पुरा भएको छ । अध्ययन पछि ब्यवासायीक रुपमा आत्मनिर्भर बनाउन लक्ष्मी प्रतिष्ठानले बालबालिकाहरुलाई सिप सिकाईरहेको छ । ‘समाज रुपान्तरणका लागि हाम्रो गाउँ आफै बनाउँ भन्ने उदेश्यले शुरु भएको अभियानमा हाम्रो आँशु पुछ्ने कोहि थिएन’– अध्यक्ष विष्णु गौतमले भन्नुभयो–‘अहिले हामी हजारौको आँशु पुछिरहेका छौं ।’ सडक, सुरक्षा, शिक्षा, स्वास्थ्य, आय आर्जन लगायतका क्षेत्रमा निरन्तर कार्य गरिरहेको प्रतिष्ठानमा रहेका बालबालिकाहरुले संस्कार सिकेका छन् ।

 

ब्यवसाय सिकेका छन् । आफुलाई बदलेर मात्रै अरुलाई बदल्न लागेका छन् । सांस्कृतिक तथा अतिरिक्त कृयाकलापमा पनि अब्बल बालबालिकाहरुलाई प्रतिष्ठानले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराईरहेको छ । कक्षा १२ मा ५ जना बालबालिकहरु पढिरहेका छन् भने कक्षा ११ मा ११, कक्षा ९ मा १८ जना, कक्षा ८ मा १८ जना, कक्षा ७ मा ५ जना, कक्षा ६ मा १ जना र कक्षा ४ मा दुई जना छन् । ‘कपाल काट्ने, कृषि ब्यवसाय, ब्रेड उत्पादन, पशुपालन, वाईरियङ्ग, टेलरिङ्ग, फर्निचर लगायतका विषयमा तालिम प्राप्त भएको छ’–अध्यक्ष गौतमले भन्नुभयो–‘छाना, नाना, खाना राम्रो होस् ।

स्वास्थ्य उपचार सहज हुन सकोस् ।’ अभियानका लागि मासिक १० लाख भन्दा धेरै खर्च हुने गरेको छ । संस्थाको आफ्नै आम्दानी छैन । विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुले अभियान चित्त बुझेर सहयोग गरेकै आधारमा बालबालिकाहरुले अध्ययन गर्ने अवसर पाएका छन् । चौरीदेउरालीको धुशेनी शिवालयमा रहेका बालबाकिलाहरु आफ्ना लागि आफै तरकारी उत्पादन गरिरहेका छन् ।

‘बालबालिकाहरुले सबै प्रकारका तरकारीहरु उत्पादन गरिरहेका छन्’–छात्राबास इन्चार्ज विपना भुर्तेलले भन्नुभयो–‘बालबालिकाहरुलाई शिक्षासँगै सिप र ब्यवसायीक तालिम प्रदान गरिरहेका छौं ।’ तरकारी उत्पादनसँगै बालबालिकाहरुले पुशपालनमा समेत ध्यान दिएका छन् । विहान ५ बजे देखि राति ९ बजेसम्मको कार्यसम्पादनको सूची अनुसार बालबालिकाहरु अध्ययन तथा अतिरिक्त कृयाकलापमा समेत सहभागि हुन्छन् । सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अन्य बालबालिकाहरु भन्दा अब्बल देखिएको विद्यालयका प्रधानाध्यापक बलराम खरेलले भन्नुभयो । तरकारीसँगै उक्त स्थानमा फलफुल खेति पनि शुरु गरिएको छ ।

२०७४ सालमा २ सय बोट लगाईएको किवी अहिले १ सय ७६ बोट छन् । जसले फल दिन शुरु गरिसकेको छ । प्रति बोट ५ हजार रुपैया खर्च भएको उक्त विरुवाबाट गत वर्ष प्रति बोटबाट १० केजीसम्म फल्यो । एकसय बोटको झण्डै ४ सय केजी ४ सय रुपैयाकै दरले विक्री भएको अध्यक्ष गौतमले बताउनु भयो । यो वर्ष झण्डै एक हजार १ केजी फल्ने अनुमान गरिएको छ भने आगामी वर्ष सबै बोटबाट ७ हजार भन्दा धेरै केजी पुग्ने अनुमान गरिएको छ । सोहि विरुवाबाट आएको आम्दानी समेत संस्थाले सोहि अभियानमा खर्च गरेको छ । संस्थालाई समेत आत्मनिर्भर बनाउने अभियानमा फलफुलको ब्यवसायीक खेति शुरु गरिएको हो ।

५५ रोपनीको उक्त बगैचामा छात्राबास सहित विभिन्न खालका खेतिहरु गरिएको छ । किवी १ सय ७६ बोट, एभोगाडो ३५, जापानिज नास्पाती ३५, बुद्दचित्त ३०, स्याउ ३०, कागति १००, ओखर, जुनार लगायतको खेति गरिएको छ । १९ वटा छात्राबास भवन, एउटा हल जसमा योग मेडिटेसन सहित सांस्कृतिक कार्यक्रम गरिन्छ । बालबालिकाहरुले खेति गर्ने प्रयोजनका लागि गड्यौला पालेका छन् । जैविक मल आफै उत्पादन गर्छन । छात्राबासमा खेर गएको खाना बंगुर पालेर उसैलाई खुवाई रहेका छन् । मसलाजन्य लेवनग्रास, पुदिना, तुलसी, रोजमेरी, अदुवा, लसुन, बेसार, खोर्सानीको ब्यवसायीक रुपमा उत्पादन गरिएको छ ।

औषधीजन्य सुर्ति, गाँजा र बनमाराको खेति गरिएको छ । स्टेबरी, साग, फर्सि, बन्दा, काउली, सिमी, बोडी, भ्यान्टा, करेला, स्कुस, बरेला, लौका, घिरौला लगायतका १५ थरी भन्दा धेरै तरकारी उत्पादन गरिरहेको छात्राबास इन्चार्ज विपना भुर्तेलले जानकारी दिनु भयो । सोहि छात्राबासमा अध्ययन गर्ने बालबालिकाहरु विद्यालयमा उत्कृष्ट छन् । कक्षा ९ मा अध्ययन गर्ने संजय श्रेष्ठ विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् ।

निरोज पुजा उत्कृष्ट तेक्वान्दो खेलाडी हुन् । कक्षा १२ सकिए लगत्तै कान्दा रुपान्तरण गर्ने सपना देखेका अधिकांश बालबालिकाहरुले सेना, प्रहरी, नीजामति कर्मचारी, शिक्षक, डाक्टर, नर्स, कलाकार, भेटेनरी सेवा, राजनीति तथा सामाजिक क्षेत्रमा प्रवेश गर्ने योजना बनाएका छन् । जसका लागि लक्ष्मी प्रतिष्ठानले सहज वातावरणमा शिक्षा र सिप दुबै प्रदान गरिरहेको छ । ‘घरमा जस्तै वातावरणमा शिक्षा र सिपको अवसरका लागि लक्ष्मी प्रतिष्ठान महत्वपूर्ण लागेको छ’–विद्यार्थी संगम प्रजाले बताउनु भयो–‘उच्च शिक्षासँगै कान्दा रुपान्तरणमा हामी अगुवाई गर्ने छौं ।’

के हो लक्ष्मी प्रतिष्ठान ?

काभ्रे चौरी देउराली धुशेनी शिवालय स्थायी घर भई राजधानीमा पर्यटन लगायतका ब्यवसायमा संलग्न विष्णु गौतमले ९ महिनाको बिचमा होनाहार दुई सन्तान कुमार र बलराम गुमाउन पुगे । सडक दुर्घटनामा छोराहरुको निधन भए पछि गौतमको परिवार विछिप्त भयो । परिवारका बाँकी सदस्यलाई सम्हाल्न कठिन अवस्थामा श्रीमती लक्ष्मी गौतमलाई छोराहरुको वियोगबाट भुलाउन लक्ष्मी प्रतिष्ठान शुरु भएको थियो । भएको सबै सम्पति विक्री गरेर प्रतिष्ठानले शुरुका तीन वर्ष सडक सुरक्षामा काम ग-यो ।

अन्य विभिन्न सामाजिक कार्यसँगै १० वर्ष देखि चितवनको कान्दा पुगेर चेपाङ्ग बस्तिका बालबालिकाहरुको भविश्यका लागि काम गरिरहेको छ । जहाँ आज पनि माध्यमिक तहको विद्यालय छैन । त्यहि कारण चितवनको राप्ति १३ स्थित कान्दामा रहेका बालबालिकाहरुको शिक्षा, दिक्षा, सिप र स्वावलम्वनका लागि लक्ष्मी प्रतिष्ठानले कुमार बलराम स्मृति छात्राबासमा बसेर अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्