कृपया समय दिनुस् खाली गर्दै छौं

मापदण्डविपरीत भवन बनाउनेहरूको रोदन



काठमाडौं ।

काठमाडौं महानरपालिकाले नक्सासार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काउन र केही स्थानमा खाली गर्न निर्देशन दिएलगत्तै अनियमित रूपमा भवन बनाउने र बेसमेन्टमा पसल राख्ने अधिकांशले फोन गरी रोदन गर्न थालेका छन् ।
घरधनीहरूले महानगरको शहरी विकास विभाग, मेयर उपमेयरको सचिवालय र भत्काउन अग्र भागमा खटिने प्रहरीलाई फोन गरी आफूहरू मापदण्डअनुसार अघि बढ्न तयार रहेको बताएका छन् ।

अधिकांशले महानगर प्रहरीलाई टेलिफोन गरी भन्ने गरेका छन्– हामीलाई समय दिनुस् खाली गर्दै छौं । अनियमित रूपमा भाडा उठाइरहेका केही घरधनीले भाडामा बस्नेले छाड्न नमानेका कारण समस्या आएको भन्दै कामपासँग दुःख बिसाएका छन् । गएको सोमबारदेखि मापदण्डविपरीतका ठूला कम्प्लेक्सको बेसमेन्ट र नक्साविपरीत बनाएका घर भत्काउन शुरू गरेपछि ती घरधनीले महानगर प्रहरीसँग हारगुहार गरेका छन् । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनदेखि लगातार फोन गरेर महानगरको मापदण्ड आफैंले कार्यान्वयन गर्ने बताउन थालेको जानकारी दिनुभयो । केही घरधनीले भाडामा बस्नेले भाडा नदिएका कारण बेसमेन्ट खाली गर्न समस्या परिरहेको भन्दै फोन गरेर गुहार गर्न थालेका छन् ।

केही ठूला घरानाहरूले महानगरमा कार्यरत निकटका कर्मचारी प्रयोग गरी आफैं  भत्काउने सन्देश पठाउन थालेका छन् । मेयर साह आफैं डोजर लिएर फिल्डमा खटिएपछि आत्तिएका कतिपय घरधनी आफैंले बेसमेन्ट खाली गरी जुन प्रयोजनमा नक्सा पास गरेको हो, सोही प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । कामपाको टोलीले मापदण्डविपरीत बनाएका संरचना भत्काउने कामलाई अभियानकै रूपमा निरन्तरता दिने जनाएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब, अल्फाबिटा, राहदानी विभाग र बुद्धनगरको विभिन्न रेस्टुरेन्टमा पुगिसकेको छ ।

हिजो शनिबार बिहान बालाजु क्षेत्रमा मापदण्डविपरीतका संरचना खाली गर्न जोडर लगाएको कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख (डीआईजी) मीरा चौधरी र वडा अध्यक्ष, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले मापदण्डविपरीतका संरचना हटाउन लागेका छन् । मेयर साह आफैं फिल्डमा खटिएपछि उहाँको विरोध भएको छ ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक मीन विश्वकर्मा, एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेत, धरानका मेयर हर्क राईलगायतले मेयर साहको कामप्रति विरोध गरेका छन् । कांग्रेस नेता विश्वकर्माले त गृहमन्त्रीसँग बन्दुक हुँदैमा बोकेर हान्दै हिँड्न मिल्छ भनी आक्रोश पोख्नभएको थियो । उहाँको आशय भवन भत्काउन मेयर खाफैं खटिन नहुने थियो । एमाले नेता एवं पूर्वमन्त्री बस्नेतले गुण्डागर्दी शैलीमा भवन भत्काएपछि मेयर साहको विरोध जनाउनुभएको थियो ।

मेयर साहको अभियानलाई अधिकांश स्थानीयले समर्थन गरेका छन् । तर, मेयर साहले केही क्षेत्रबाहेक अन्य स्थानमा महानगर प्रहरीलाई आदेश दिएर भत्काउनुपर्नेमा आफैंले उपस्थित भएर तल्लो स्तरबाट धम्क्याएकोमा आलोचना बढेको छ । कामपाका उच्च प्रहरी अधिकारीको कमान्डमा चारवटा क्षेत्र विभाजन गरेको छ । प्रहरी प्रमुख पाण्डेका अनुसार पूर्वक्षेत्र अर्थात् ६ देखि १० र ३२ वडा समेट्ने गरी मनोज लामिछाने, १३ देखि १७ लगायतका वडा समेट्ने गरी दिनेश अर्यालको कमान्डमा पश्चिम क्षेत्र, ११, १२ र १८ देखि २५ वडा समेट्ने गरी शिवराज पौडेलको कमान्डमा मध्य र कोर क्षेत्र समेट्ने गरी मीनबहादुर थापाको कमान्डमा उत्तर क्षेत्र कायम गरिएको छ ।

सो क्षेत्रमा रहेका प्रहरीले आवश्यकताअनुसार क्षेत्रगत रूपमा कारबाही गर्न सक्ने अवस्थामा मेयर साह आफैं डोजर लिएर एक्सनमा उत्रनु गलत देखिएको छ । कामपाका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘सबै क्षेत्रका प्रहरीको नेतृत्वमा एक्सनमा उत्रनु आवश्यक हुने अवस्थामा मेयर आफैं कुद्नु आलोचनाको विषय बनेको छ ।’

कामपाले आफ्नो अभियानलाई निरन्तरता दिन मेयर साह फिल्डमा खटिनु गलत नभएका प्रवक्ता नवीन मानन्धरको भनाइ छ । उहाँका अनुसार मेयर आफैं फिल्डमा पुगेर धारणा सुन्दा कुनै आपत्ति नभएको जिकिर छ । कामपाले आज आइतबार पनि बानेश्वर क्षेत्रका मापदण्डविपरीत बनेका संरचना हटाउने भएको छ । कामपाले कारबाही गरेका भवनको बेसमेन्ट पूर्ण रूपमा बन्द गरिएको छ । कामपा प्रहरी प्रमुख पाण्डेले पूरै खाली नगराएसम्म कुनै पनि व्यवसाय खुला गर्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार केही दिन सपिङ मल र ठूला भवन भत्काउनेछांै, त्यसपछि मापदण्ड र नक्सापास नगरीकनै बनाइएका संरचना भत्काइनेछ ।

कामपाका मेयर साहले बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालतले बाटोमा पार्किङ गर्न लगाएकोमा आपत्ति जनाउँदै तत्काल आफ्नै भवनमा पार्किङ व्यवस्था गर्न आग्रह गर्नुभएको छ । तर, अदालतले सो जग्गामा पार्किङ गर्न नमिल्ने जनाएको छ ।

सात टहरासहित तीन भ-याङ भत्काइयो

अवैधरूपले बनाइएका संरचना भत्काउने क्रममा हिजो शनिबार काठमाडौं महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेका सात टहरा र तीनवटा भ-याङ हटाएको छ । गत मंगलबारदेखि कामपाले नक्सा पासअनुरूप निर्माण नभएका र नक्सा पासअनुरूप निर्माण भए पनि सोहीअनुरूप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ । कामपाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरूपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भ-याङ भत्काइएको हो ।

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैधरूपले बनाइएका संरचना, काठमाडौं मलका अवैधरूपले बनाइएका संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन कामपका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने बताइएको छ ।

अवैधरूपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै कामपाले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ ।

नक्साअनुरूप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै कामपाले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्