कति पटक अदालत धाउँदा पुरुषले न्याय पाउँछन ?

 १९ वर्ष देखि श्रीमती अलग, सम्वन्ध विच्छेदका लागि २७ पटक तारेख, १० पटक पेशी, अझै हुन सकेन फैसला



काभ्रे ।

पुरुषको तुलनामा महिलाहरु धेरै पीडत छन् । तर महिलाबाट पीडित भएका पुरुषहरुले सहजै न्याय पाउन कठिन छ । त्यसको उदाहरण बनेका छन् साविक मेच्छे गाविस वडा नम्वर ४ हाल तेमाल गाउँपालिका वडा नम्वर ९ का ४२ बर्षिय डिल्पु लामा ।

कानुनका विभिन्न छिद्रहरुले सहज रुपमा न्याय पाउनबाट बञ्चित डिल्पु मंगलबार जिल्ला अदालतको इजलासमा डाँको छाडेर रोए । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको आदेश पछि उनी झन मर्माहत हुन पुगे । २७ औ पटकको अदालतको तारेख र १० औ पटकको पेशीमा पनि उनको मुद्दामा फैसला भएन । २०७७ माघ १५ गते मुद्दा दर्ता गर्दा उनि ४० वर्षका थिए । अहिले ४२ वर्षका भए । डिल्पु भन्छन उमेरमा नपाएको परिवारको राप र ताप बुढो भए पछि कसरी प्राप्त गर्न सकिन्छ ?

साविक सिपाली चिलाउने गाविस वडा नम्वर १ हाल रोशी गाउँपालिका वडा नम्वर ६ माईती घर भई पाँचखाल नगरपालिका वडा नम्वर ४ लामीडाँडा बस्ने ३८ बर्षिया सिर्जना लामासँग सम्वन्ध विच्छेदका लागि डिल्पुले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा फिराद दर्ता गराए । सिर्जना लामा र डिल्पु बीच २०५६ जेठ २१ गते सामाजिक परम्परा अनुसार विवाह भयो । २०५८ पुष २८ गते एक छोरीको जन्म भयो । वैवाहिक सम्वन्ध राम्रो हुँदा हुँदै परिवारको सल्लाहमा डिल्पु सन् २००३ अथार्त २०६० सालमा बैदेशिक रोजगार अन्र्तगत बहराईन पुगे । २००६ सम्म बहराईन बस्दा उनले कमाएको अधिकांश रकम श्रीमती सिर्जनालाई पठाएका थिए । कहिलेकाँही आफन्तहरुलाई पनि डिल्पुले पैसा पठाएका थिए ।

विदेशबाट फर्किएका डिल्पुले आफु बहराईन जाँदाको ऋण समेत श्रीमती सिर्जनाले नतिरेको जानकारी पछि सोधपुक्ष गरे । तर उनि तर्कन खोजिन । डिल्पुसँग बस्न मानिनन् । गाली गलौज गरिन । धम्कि दिईन् । पटक पटक प्रहरी चौकीमा छलफल भयो । अलग अलग हुने सहमति पनि भयो । डिल्पु आफैले घर विगार्ने कुरामा सहमति दिएनन् । उनि पाँचखाल लामीडाँडामा बसेको सूचना पछि उनि गए । तर पनि उनी आउन मानिन् । छोरी मामा घरमा बसिरहेकी छिन् ।

बैदेशिक रोजगारीमा गएर कमाएको रकम हिनामिना गरेको, श्रीमानसँग बस्न नमानेको, छलफलका लागि बोलाउँदा पनि बेवास्ता गरेर अनुपस्थित भएको भन्दै डिल्पुले फिराद पत्र दर्ता गराएका थिए । फिराद दर्ता गराएको १९ महिना वितिसकेको छ । २०७७ चैत्र १९, २०७८ बैशाख १४, असार २५, कार्तिक २२, मसिंर १६, फागुन १३, चैत्र १६, २०७९ बैशाख ६, असार ८ र भदौ ७ गते पेशी चढिसकेको फिरादमा फैसला हुन सकेको छैन । २७ पटक डिल्पु अदालत आएर हाजिर भएका छन् । मंगलबार न्यायाधीश बख्रेलले छोरी झिकाउन ७ दिनको आदेश गर्नु भएको छ ।

‘२७ औ पटक अदालत आउँदा र जाँदा मेरो खर्च एक लाख रुपैया भन्दा धेरै खर्च भईसक्यो’–डिल्पुले भने–‘न श्रीमती सिर्जनाले प्रतिउत्तर लगाएको छ न अदालतबाट मुद्दाको फैसला हुन्छ ।’ अदालत परिसरमा भेटिएका डिल्पुले मंगलबार मुद्दा फैसला हुने आशमा उत्साहका साथ आएको भए पनि फरक आदेशले मर्माहत भएर डाँको छाडेर रोएको बताउनु भयो । ‘

१९ वर्ष देखि श्रीमती मसँग छैनन, सम्वन्ध छैन, छोरी पनि मसँग छैनन’–डिल्पुले भन्नुभयो–‘न्याय पाउन भएको कठिनताले सिङ्गो न्यायालय र न्याय प्रणाली प्रति घृणा जाग्यो ।’ श्रीमती सिर्जनाले दिएको यातना, पीडाबाट मुक्त हुन पटक पटक कानूनका छिद्र देखाउँदै भएको ढिलाईले थप पीडा थपिदिएको डिल्पुले बताए । ‘म सम्वन्ध विच्छेद नगरौ भन्छु, उनि गरौ भन्थिन, घर नविगारौ भनेर सहें, केहि सिप नलागे पछि म न्यायका लागि अदालत आएँ उनि बेपत्ता भईन’–डिल्पुले भने–‘पत्रिकामा सूचना प्रकाशन गर्दा, म्याद पठाउँदा डेड वर्षसम्म बेवास्ता हुँदा पनि मुद्दाको फैसला नहुँदा रुनुको विकल्प छैन । पीडा कहाँ पोखौ ? कसलाई पोखौं ? कसरी पाउन सकिन्छ न्याय ?’

२७ पटक अदालतले तोकेको समयमा हाजिर भए बाहेकको समयमा पनि पटक पटक विभिन्न कागजात पेश गर्न उपस्थित भएका डिल्पुले नेपालको न्याय प्रणाली सुधार हुन नसके धेरै ब्यक्तिहरु पीडाबाट उम्कन नसक्ने बताए । ‘मान्छेहरुमा किन डिप्रेसन हुन्छ ? मान्छे किन अपराध तर्फ उन्मुख हुन्छ, समाजबाट किन अलग हुन खोज्छ ? न्यायका लागि भौतारिएका म जस्ता सयौ ब्यक्तिहरुको पीडाबाट बुझ्न सकिन्छ’–डिल्पुले भने–‘महिलाहरु अन्यायमा परेका छन् सत्य हो तर उनिहरुका कारण पुरुष पीडित हुँदा न्याय प्रणाली र न्यायमुर्तिहरुले झनै पीडा थप्ने हो र ?’ मेरो जिज्ञासा यो छ कि कति पटक अदालत उपस्थित भए पछि न्याय पाउन सकिएला ?

प्रतिक्रिया दिनुहोस्