प्रशिक्षण छैन, पदकको आशा



पोखरा । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन २ महिनाको समय छ । प्रतियोगिता निजकिँदै गर्दा गण्डकीले अझै खेलाडी छनोट गरिसकेको छैन् । खेलाडी छनोट नभएकै कारण यतिबेला खेलाडीहरू आफ्नै तौर तरिकाले प्रशिक्षण गर्न बाध्य छन् । गण्डकीले खेलाडी छनोटमा ढिला गरेको भन्दै आलोचना खेपेपछि शुक्रबारदेखि खेलाडी छनोटको तयारी थालेको छ । प्रदेशले विशेष गरी कास्की केन्द्रित १५ खेलको पहिलो चरणमा विशेष प्रशिक्षण सुरु गरेको हो ।

तडक्भड्कका साथमा शुक्रबार पोखरा रंगशालामा प्रदेश खेलकुद परिषद् गण्डकीले नवौं राष्ट्रिय खेलकुदका लागि विशेष प्रशिक्षणको शुभारम्भ गरेको छ । पहिलो चरणमा कास्कीसँगै नवलपुर,स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण थालेको छ । नवौं लक्षित खेलाडी छनोट र बन्द प्रशिक्षणलाई लिएर प्रदेशले ‘स्टेट गेम’ को अवधारणा पनि ल्याएको छ । सोही कार्यक्रममा सहभागी हुन आएका अतिथिहरूले छोटो समयमा ठूलो आश गरेका छन् । उनीहरूले प्रशिक्षकसमेत नभएको अवस्थामा समेत गण्डकीले धेरै पदक जित्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल (बादल) ले खेलाडीले पदक ल्याई प्रदेशवासीलाई खुसी बनाउनुपर्ने बताए । उनले खेल व्यवस्थापन र सम्मान सत्कारको पाटो निकै महत्वपूर्ण रहेकाले त्यसतर्फ कुनै कमीकम्जोरी हुने नदिने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले गर्नुपर्ने जुन सम्मान र सत्कार छ त्यो यस्तो गुणस्तरीय हुन प¥यो । यहाँ आउने सबैलाई प्रेरित गरोस आकर्षित गरोस, यहाँबाट नयाँ कुरा सिकेर जाने वातावरण बनोस्’ उनले भने, ‘व्यवस्थापकीय पक्ष राम्रो भयो, सम्मान सत्कार पनि राम्रो भयो तर, मुख्य कुरा उत्कृष्ट प्रकारको खेल प्रदर्सन गर्न सकेन भने, धेरै पदकरू जित्न सकिएन भने गण्डकीबासी सबै त्यति खुसी बन्ने खालको स्थिति बन्दैन ।’

गण्डकीका खुसी तुल्याउने महत्वपूर्ण अवसर खेलाडीलाई प्राप्त भएको र त्यसका लागि तयारी गर्ने विश्वास लिएको बताए । तर, गण्डकीले सबै खेलमा सहभागिता जनाउने भए पनि अधिकांश खेलमा खेलाडी काचाँ रहेका छन् । कार्यक्रममा सहभागी भएका अधिकांश खेलाडी नयाँ रहेका छन् । यस्तो अवस्थामा प्रदेशले धेरै पदक ल्याउँछ भन्ने आशा गर्नु मुर्खता हो । सोही क्रममा बोल्दै उनले खेल क्षेत्रमा अझै संघीयता आउन नसकेको बताए । उनले संघ सरकारले खेल क्षेत्रमा संघीयता नदिएको र यसका लागि प्रदेशले नै जमेर बहस गर्न आवश्यक रहेको बताए ।

उनले बजेट निमार्णको कतिपय अवस्थामा संघ सरकारको नीति तथा कानुनका कारण अफ्टेरो परिस्थितिको सिर्जना भएको बताए । उनले चाहेर पनि प्रदेशले खेलकुदमा ठूलो योगदान गर्न नसकेको बताए । खेलाडी उत्पादनमा ध्यान नदिने तर, प्रतियोगिताको व्यवस्थापन र सम्मान, सत्कारमा बढी ध्यान दिनु खेलाडीका लागि उचित नभएको एक स्वयम् सेवक प्रशिक्षकले बताए । नाम नबताउने सर्तमा उनले अहिले गण्डकी प्रदेशले खेलाडीलाई भन्दा पनि आफ्नो कार्यकाल सफल बनाउनेगरी प्रतियोगिता सजावट, रमाइलो तथा अतिथि आदार सत्कारमा बढी ध्यान दिएको बताए ।

गण्डकी प्रदेश खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले पनि खेलाडीलाई धेरै पदक ल्याउन अनुरोध गरे । कार्यक्रम संयोजक तारामाया चापागाईँले ऐतिहासिक क्षणमा रहेको र विशेष प्रशिक्षणले खेलाडीमा थप हौसला प्रदान गर्ने बताउँदै मेडलको आशा गरिन् । उनले ७ प्रदेश, ३ विभागीय र १ एनआरएनबीच हुने प्रतियोगितामा गण्डकीले धेरै मेडला ल्याउने आशा गरिएको बताइन् । उनले प्रदेश सरकारले बजेट, नीति नियम बनाउँदा खेलकुदमा कम्तिमा पनि १ वा २ प्रतिशत बजेटको व्यवस्थापन गरिदिए खेलकुदको विकास हुने सुनाइन् ।

उनीहरूको कुरा सुनेर खेलाडीहरूले भने गुनासो पोखे । उनीहरूले समय थोरै रहेका कारण समस्या भएको बताए । एक खेलाडीले आफूहरूले नै प्रशिक्षण गर्दै आइरहेको र नयाँ कुरा अझै सिक्न नपाएको सुनाए ।

५-६ खेलमा मात्रै प्रशिक्षक

गण्डकीमा बहुप्रतिष्ठित प्रतियोगिताको आयोजना हुन लागेको सुनाउँदै गण्डकीमा ५÷६ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको सुनाए । उनले गण्डकी खेलकुदको अवस्थाको बारेमा बोल्दै प्रशिक्षकको समस्या रहेको बताए । ‘३६ खेलमध्ये ५÷६ खेलमा मात्रै प्रशिक्षक छन् ।

अन्य खेलमा स्वयंसेवक र सिनियर खेलाडीहरूले नै सिकाउँदै आएका छन्’ उनले भने,‘ जबसम्म नीतिगत तहसम्म लान सकिनन तबसम्म खेलकुदको विकास हुँदैनन् ।’ उनले विशेष प्रशिक्षणमा प्रशिक्षकलाई समेत प्रशिक्षण दिने बताए । जसका लागि काठमाडौंबाट एथलेटिक्सका प्रशिक्षक सुशील नरसिंह राना आएका छन् ।

उनी प्रशिक्षक मात्रै नभई प्रशिक्षकका लागि प्रशिक्षण दिने कुशल व्यक्ति रहेको र स्वयंसेवक तथा सिनियर खेलाडीलाई कसरी प्रशिक्षण गराउने भन्ने बारेमा सिकाउने गुरुङले बताए । उनले समग्र गण्डकीमा प्रशिक्षक उत्पादन शून्य रहेको बताए । गण्डकीको खेलकुद अहिलेसम्म स्वयंसेवक तथा सिनियर खेलाडीले धान्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्