स्तनपानमा सुधार ल्याउन जरुरी



काठमाडौं।

‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व स्तनपान सप्ताह संसारभर मनाइएको छ ।

सही तरिकाले स्तनपान कसरी गराउने भन्ने विषयमा ३० वर्षअघि देखि नै विश्व स्तनपान सप्ताह शुरु गरेर जनचेतना जगाउने काम भैरहेको भएता पनि अझैसम्म स्तनपानमा सुधार नआएको भन्दै मातृ शिशु स्वास्थ्यमा संलग्न चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले मातृ शिशु दुबैको राम्रो स्वास्थ्यका लागी स्तनपानमा सुधार ल्याउन जरुरी रहेको बताएका छन् ।

काठमाडौंको न्य्होखास्थित जनचिकित्सालयले विश्व स्तनपान सप्ताहको अवसर पारेर शनिबार आयोजना गरेको कार्यक्रममा डा. कल्पना उपाध्याय सुवेदीले शिशुलाई आमाको दुध अमृत समान हुन्छ भन्ने थाह हुँदाहुँदै पनि शिशुलाई स्तनपान गराउने आमाको प्रतिशत केवल ४२ मात्र रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा स्तनपानमा व्यापक जनचेतना फैलाउने कार्य भएको तर विभिन्न कारणले स्तनपान गराउने आमाहरूको संख्यामा उल्लेख्य बृद्धि भने नभएको बताउनुभयो । उहाँले जन्मने वित्तिकै बच्चालाई आमाको छात्तीमा टाँस्ने र एक घण्टाभित्रै दुध चुसाउने गरेमा आमा र शिशुबीचको भावनात्मक सम्बन्धमा अभिबृद्धि हुनुका साथै आमाको दुध बन्ने क्रममा पनि सुधार आउने बताउनुभयो । उहाँले शिशुलाई शुरुको ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने र २ वर्षसम्म अन्य आहारका साथै दुध पनि खुवाउनुपर्नेमा जोड दिनुभयो । डा.सुवेदीले शिशु जन्मने वित्तिकैको शुरुको ३ दिनसम्म आउने बिगौती दुधले शिशुमा पहिलो खोपको काम गर्ने बताउनुभयो ।

कार्यक्रममा डा. ज्योतीरत्न ध्वाख्वाले दुध खुवाउदा बच्चाको मुख र आमाको दुधको सम्पर्क तथा बच्चाको आसन मिल्नुपर्नेमा जोड दिंदै यस्तो कुरामा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने र आमालाई सही तरिका सिकाएर सहयोग गनुपर्ने बताउनुभयो ।

सन् १९९२ देखि संसारभर हरेक वर्ष १ देखि ७ अगष्टसम्म विश्व स्तनपान सप्ताह मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्