पुग्नेलाई सधैं स्मरण, नपुग्नेलाई पश्चाताप

भू–स्वर्ग बडिमालिका जात्रा शुरू



बाजुरा ।

धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त मनोरम देवभूमि बडिमालिका तीर्थाटन मेला साउन शुक्ल प्रतिपदादेखि शुरू भएको हो । दिपायल दिल्पेश्वरबाट धानका भ्रुणी तथा पूजा सामग्री पेटारो बोकेर डोटी गौंणाको (जिल्ला) सरकारी पूजा टोलीले गत शुक्रबारदेखि बडिमालिका यात्रा शुरू गरेको हो । उक्त टोलीले पन्ध्र दिनअगाडि नै बडीमालिका पूजाका लागि डोटीबाट हिँड्नुपर्ने धार्मिक परम्परा छ ।

‘सरकारी पूजा टोलीलाई नेपाली सेनाले (गोर्खाली) डोटीको टुँडिखेलमा २९ तोपको सलामी दिएर बडीमालिका पूजा गर्न पठाउने पम्परागत बौद्धिक विधिअनुसार नै शुक्रबारदेखि गोर्खाली टोलीले यात्रा तय गरेका हुन्’ –बडीमालिकाका मुख्य पुजारी नेत्रराज पाध्यायले नेपाल समाचारपत्रसँग बताउनुुभयो ।

तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाहको पालादेखि सेती महाकालीबाट गोर्खाली टोलीले बडीमालिका देवीको भाकलका लागि सुनको जनै दिपायलका धानका भु्रणी, अछाम बैजयनाथका अक्षता चढाउने प्रचलन थियो । त्यस्तै कर्णाली राज्यबाट अक्षता, भु्रणी चाँदीको छत्र र बिनायो पठाउने प्रचलनअनुसार जुम्लाबाट सात दिनअगाडि सरकारी टोली बडीमालिका पठाउने निरन्तरता कायम रहेको पुजारी पाध्यायले जानकारी दिनुभयो ।

‘पश्चिम नुवाकोट, सिञ्जा र डोटी राज्य जितेर देश एकीकरण गर्नका लागि गुरु गोरखनाथले पृथ्वीनाराण शाहलाई मलयागिरि पर्वतमा रहेकी बडिमालिका देवीको पूजा गर्न पठाएको लोकोक्ति छ । बडीमालिकाको पूजापश्चात् तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाह राज्य एकीकरणमा सफल भएको मान्यता छ’ –पुजारी पाध्यायले भन्नुभयो । १७८० को दशकदेखि नै सरकारी टोलीबाट वर्षमा दुईपटक बडीमालिका देवीको पूजा गर्ने प्रचलन रहेको पुजारी पाध्यायको भनाइ छ ।

गंगादशहरामा नेपाली सेनाले पूजा गर्छन् भने साउन शुक्ल चतुदर्शीमा सरकारी टोलीले बडिमालिकाको पूजा गर्छन् । बडीमालिकाको विशेष पुजा गर्न बाजुरा, डोटी, कालकोट र जुम्लाबाट वर्षेनी सरकारी टोली बडीमालिका पुग्ने गर्छन् । ‘विशेष गरी अन्न, धन र सन्तानका लागि बडीमालिका देवीको भाकल गर्छन् र भाकल गरेअनुसार भक्तजन एकचित्त भएर गए देवीले भाकल पूरा गरीदिएकी छन्, मलाई अनुभव छ’ – पुजारी पाध्यायले भन्नुभयो । वर्षमा एकपटक लाग्ने उक्त जात्रामा आठ देखि १० हजार भक्तालु श्रद्धालुजन हुन्छन् । पछिल्लो समयमा तीर्थालु बढ्दै गएको सहपुजारी भानुभक्त पाध्यायले भन्नुभयो ।

२२ पाटन पाँचवटा पर्वत रहेको अत्यन्त रमणीय भू–स्वर्ग बडीमालिका पुग्न डोटी र जुम्लाबाट पञ्चपुरी पाटन हुँदै बडीमालिका पुग्ने प्रचलन छ । बडीमालिका मुख्य प्रवेश द्वार बाजुराको सदरमुकाम मार्तडी नै हो । मार्तडीबाट यात्रा तय गरे बडीमालिकाको परिक्रमा हुने भक्तजनको विश्वास रहेको छ । यद्यपि, बाजुराको त्रिवेणी नाटेश्वरी, बडीमालिकाकाको बुढाकोर्ध, बुढिनन्दाको पोरखेगढी, जगन्नाथको कालापाटन, कालिकोटको सान्नीरास्कोट र अछामबाट पनि बडीमालिका दर्शन गर्न जाने प्रचलन छ ।

यता मार्तडीबाट भने तीन दिनको पैदल यात्रा तय गर्नुपर्छ । मार्तडीबाट फूल चढाउन घोडापाटन, लौरीविनायक, २२ पाटनको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । घोडापाटनबाट पछिल्लो दिन त्रिवेणी धामका अति रमणीय प्राकृतिक फाँटहरू कागबेनी खेतीवेतीको दृश्यावलोकनले तीर्थालुको मन लोभ्याउँछन् । त्रिवेणी पुगेर रातभर जाग्राम बस्ने भजनकीर्तन गर्ने भोलिपल्ट बिहान स्नानध्यान गरी बडीमालिकाको भजनकीर्तन जय जयकार गर्दै १४ हजार फिट उचाइमा अवस्थित बडीमालिका माताको दर्शन गर्न भक्तालुजन वरमाग्ने डाँडा हुँदै मालिका चुचुरोमा पग्छन् । एक रात मालिका चुचुरोका बाससँगै पूजाआराधान गरिन्छ ।

भोलिपल्ट बिहानै बडीमालिका देवीको दर्शन सँगै तिलक–तोरन लगाएर बिहान ११ बजेसम्म यात्रु फर्किने प्रचनल छ । पछिल्लो समयमा बडीमालिका नगरपालिकाको पहलमा घोडापाटनसम्म सडक ट्रयाक खुला गरिएको छ । उता त्रिवेणी नगरपालकाले पनि पर्यटन प्रावधनकै लागि मौरेदेखि नाटेश्वरी वडिमालिकासम्म सडक सञ्जाल पु¥याउन नीति कार्यक्रम तय गरेको त्रिवेणी नगरपालिका नगरप्रमुख कर्ण बहादुर थापाले जानकारी दिनुभयो । ‘त्रिवेणी नगरपालिकाको आयोजनामा लोक शान्ति र समृद्धिका लागि भन्दै यही साउन २० गतेदेखि ‘सप्तचण्डी महायज्ञ’ लगाउँदै छौं । पावन भूमिमा पुगी बडीमालिकाको दर्शन तथा प्रसाद ग्रहण गर्न हार्दिक अपिल गर्दछौं’ – नगरप्रमुख थापाले भन्नुभयो ।

बडिमालिका महोत्सव सफल पार्न पछिल्लो समयमा बडीमालिका नगरपालिका लगायत स्थानीय तहबाट पहलकदमी भएको त देखिन्छ । तर,पर्यटन प्रवद्र्धनकै लागि ठोस नीति तथा कार्यक्रम भने देखिँदैन ।तत्कालीन जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यले बडीमालिकालाई धार्मिक पर्यटन प्रर्वद्धन गर्नसके बाजुरेलीले बडीमालिकाको फेदिमा बसेर धुप बेचेर पनि मनग्ये आम्दानी गर्न सक्नेछन् भन्नुभयो । बाजुराका तत्कालीन प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले भने झैं ‘स्वर्गको टुक्रा बडीमालिका पुग्नेका लागि सधैं स्मरण योग्य हुनेछ भने बडीमालिका नपुगेकाहरूलाई पश्चाताप हुनेछ ।’

बडीमालिका दर्शन गर्न शास्त्रले कसैलाई अवरोध गरेको छैन । एकपटक गए फेरि जाउँजाऊँ लाग्ने देवतुल्य मल्लिकागिरि पर्वतमा एक पटक पुगेकै राम्रो पुजारी पाध्यायको भनाइ छ । बडीमालिकामा चढाउने भेटी तथा मूर्तिहरू गुठीकै नामम रहेको भेटीले बडीमालिकाको बाह्रै मास पूजामा खर्च चलाइन्छ भने छत्र, सुन मूर्तिजन्य वस्तु गुठीमा राख्ने गरेको पुजारी पाध्याले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्