मन्दिर भनेकै अस्पताल रहेछ र भगवान भनेकै डाक्टर रहेछन् : क्यान्सर विजेता रमेश



काठमाडौं । 

विश्व मुख र घाँटी क्यान्सर दिवसका अवसरमा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिले मुख र घाटीको क्यान्सर विजेताको अनुभव एक आपसमा साटासाट गर्ने कार्यक्रमको आयोजना गर्‍यो । प्रत्येक बर्ष जुलाई २७ विश्व मुख र घाटीको क्यान्सर दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि सोही अवसरमा यस खालका समस्याका बारेमा एक कार्यक्रमको आयोजना गरी चर्चा गरियो ।

नेपाल क्यान्सर अस्पतालका मुख र घाँटी क्यान्सर विशेषज्ञ डा. प्रभात ठाकुरका अनुसार दक्षिण एसियामा नै मुख र घाँटीको क्यान्सरका बिरामी दिन प्रतिदिन बढ्दै जाँदा यो निकै ठुलो समस्याका रूपमा विकसित भएको छ । धेरैजसो सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिहरूमा यो क्यान्सर बढी छ । महिलामा भन्दा पुरुषमा मुखको क्यान्सर बढी हुनुको प्रमुख कारणमा सुर्तीजन्य पदार्थ, गुट्खा, चुरोट, हुक्का, तमाखु, पान पराग लगाएको प्रयोग नै प्रमुख रहेको छ ।

नेपालमा यसका साथै धेरै महिलाहरूमा थाईराईडमा हुने क्यान्सर पनि देखिन थालेको छ । थाईराईडको क्यान्सर पुरुषमा भन्दा बढी महिलामा देखिन्छ । मुख लगायत मुखभित्रका सबै अङ्गहरूमा र घाँटीमा विभिन्न प्रकारका क्यान्सरहरू हुन सक्छन् । यसैलाई जोडेर हामीले हेडनेक क्यान्सर दिवस मनाउने गरेका छौ ।नेपालमा धेरै मानिसमा थाहै नपाई हेड नेकको क्यान्सर हुने गरेको र नेपालमै उपचार हुन्छ भन्ने बारेमा ढिलो जानकारी पाई अन्यत्र उपचार गराई अन्तिम अवस्थामा नेपाल क्यान्सर अस्पताल पुग्ने गरेका घटना पनि धेरै भएको डा.ठाकुर बताउनुहुन्छ ।

सोही कार्यक्रममा क्यान्सर विजेता प्रदीप सापकोटाले आफूलाई २०७२ सालमा क्यान्सर हुँदा निकै निराश भएको अवस्थामा नेपाल क्यान्सर अस्पतालका संस्थापक कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठको नाम सुनेर यही आएर उपचार गरी क्यान्सरबाट मुक्ति पाएकोमा खुसी लागेको छ । त्यति बेला म एक्लै छु जस्तो लाग्थ्यो तर अहिले धेरै जना देख्दा झन् दुःख लागेको छ । अब जनचेतना अभियानमा हामी क्यान्सर विजेता नै एक भएर लाग्ने बेला आएको जस्तो लाग्छ भन्नुभयो ।

सोही अवसरमा ई. तरुणदेव भट्टराईले जवानीमा पान पराग, गुटका, चुरोट सबै थोक खाए । दाँत दुख्यो भनेर चिकित्सककोमागएको गिजाको क्यान्सर नै भैसकेको रहेछ । ७ महिना अघि नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा आएर डा.प्रभातको नेतृत्वमा ८ घण्टा लगाएर शल्यक्रिया गरेपछि मैले नयाँ जीवन पाए । नेपालमै यति गुणस्तरीय सेवा छ भन्ने बारेमा आफूलाई नपर्दा सम्म थाहै थिएन भन्नुभयो । उहाँले पनि जनचेतना अभियानका लागि स्वयंसेवी रूपमा खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै सिंगापुरमा बसोबास गर्दे आउनुभएको रमेश कुमार नेमकुलले नेपालमा आएर मुखको क्यान्सरको उपचार पाएकोमा खुसी हुँदै मन्दिर भनेको अस्पताल रहेछ र भगवान् भनेका डाक्टर रहेछन्, मैले आज नेपालमै नयाँ जीवन पाए भन्नुभयो । अर्का क्यान्सर विजेता कलाकार मुकुन्द थापा भन्नुहुन्छ: सधैँ सुटिङको दौरानमा हुन्थे ।

सुर्तीजन्य पदार्थ, मादक पदार्थ केही खान्न थिए । एक दिन एक्कासि प्रेसर बढेर परीक्षण गराउँदा थाईराईडको क्यान्सर भएको पहिचान भयो । पत्ता लागेको तेस्रो दिन शल्यक्रिया भयो । हामी एक पटक मरेर दोस्रो जीवन पाएका व्यक्ति हौ । नेपाल क्यान्सर अस्पतालको नारा नेपालीको क्यार उपचार नेपालमै भन्ने कुरालाई सार्थक बनाएर मलाई नयाँ जीवन दियो भन्नुभयो ।

अर्का क्यान्सर विजेता पहिराम शर्मा जापानमा काम गर्दै हुनुहुन्थ्यो । उहाँलाई जापानमा उपचार नभएपछि भारत गएर मुखको क्यान्सरको शल्यक्रिया गराउनुभयो । तर घाउ पुन बल्झियो र भारतका चिकित्सकले अब उपचार गर्न सकिँदैन भने । नेपाल फर्केर भक्तपुर क्यान्सर अस्पतालमा देखाए त्यहाँ पनि सिरिन्जले पिप निकाल्ने बाहेक केही गरेनन् । भौतारिदै नेपाल क्यान्सर अस्पताल पुगे डा.प्रभातले नयाँ जीवन दिनुभयो ।

म बाच्छु भन्ने आसै थिएन सुकेर लठी जस्तै भएको थिए । उपचार हुँदैन भनेपछि ३ जना बालबालिका र श्रीमतीकै काखमा उनीहरूको मुख हेरेर मर्छु भनेर आएको नयाँ जीवन पाए ।जिब्रोको क्यान्सर भएर सबै भन्दा जटिल शल्यक्रिया गरिएकी कन्चन यति बेला निकै खुसी देखिनुहुन्छ । उहाँको जिब्रोको ९५ प्रतिशत भाग काटेर फालि अन्यत्रको मासु ल्याएर जिब्रोमा जोडिएको छ । उहाँ अहिले मिश्रित स्वरमा आफ्ना पिडा र भावना राख्न सक्नुहुन्छ ।
पछिल्लो समय यस्ता क्यान्सरका बिरामी नेपालमा बाहिर उपचार गरेर निको नभएका मध्ये ६० देखि ८० प्रतिशत आउने गरेका र झन्डै ६० प्रतिशतको हाराहारीमा निको भएर फर्कने गरेको डा. ठाकुर बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्