मुस्ताङमा चौंरीको रगत पिउन सर्वसाधारणको भीड



म्याग्दी ।

हिमालपारीको जिल्ला मुस्ताङको लेकाली खर्कमा याक र चौंरी गाईको मेला लागेको छ । थासाङ गाउँपालिका–२, मार्चेलेक र मुलीखर्क तथा घरपझोङ–५, नमखुलेक खर्कमा याक र चौंरीको रगत पिउने मेला आयोजना गरिएको हो ।

हिमाली क्षेत्रमा पालिएका याक र चौरीको घाँटीबाट निकालेको आलो रगत (खुन) पिउनका लागि मेला भर्न सर्वसाधारणहरु त्यहाँ पुगेका छन् । गएको बुधबारदेखि लगाइएको चौंरीको रगत पिउने मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, काठमाडौं र चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरुको भीड लागेको छ ।

विगत दुईवर्ष कोरोना भाइरस संक्रमणको जोखिम एवं लकडाउनका कारणले रोकिएको मेला यसवर्ष लगाइएको हो । व्यावसायिक रुपमा चौंरीपालन गरेका कृषकहरु आफैले लगाएको मेलामा चौंरीको खुन खानका लागि सर्वसाधारणको भीड लागेको नमखुलेकका कृषक भूपिन शेरचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खुन खान भनेर सर्वसाधारण र नागरिकहरु आएका छन् । सरकारी कर्मचारीको पनि बाक्लो उपस्थिति रहेको छ ।’

मेलामा जिउँदो चौरीलाई नियन्त्रणमा लिई तालिम प्राप्त प्राविधिक स्थानीय भाषामा (आम्जी)ले चौंरीको घाँटीमा सुईरो (चापो)ले नसामा कोपेर रगत निकाल्ने गर्दछन् । तालिम नलिएका र अनुभव नभएका व्यक्तिले रगत निकाल्दा चौंरीको मृत्युसम्म हुन सक्ने भएकाले तालिम प्राप्त र अनुभवी आम्जीको सहयोगमा मात्रै चौंरीको घाँटीबाट रगत निकाल्ने गरिन्छ । यसरी निकालिएको आलो रगत पिउने भन्दै खर्क र लेकमा पुगेकाहरुले गिलास थापेर उतिखेरै घुटुघुटु पिउने गर्दछन् ।

रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौंरीलाई खर्कमा छोडिन्छ । मुस्ताङमा पालिएका याक तथा चौंरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म खुन खाने मेला सञ्चालन हुँदै आएको छ । नमखुलेकमा पाँचजना कृषकले पालेका झण्डै तीन सयको हाराहारीमा याक तथा चौंरीगाई रहेका छन् । अहिले दैनिक १ सयजना भन्दा धेरै सर्वसाधारणहरु खुन खाने मेलामा सहभागी हुने गरेको कृषक शेरचनको भनाइ छ ।

चौंरीको घाँटीबाट निकालिएको आलो रगतलाई ठूलो स्टिलको गिलासमा प्रति गिलास दुईसय रुपैयाँ मूल्य तोकिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी थासाङ–२, मार्चेलेक र मुली खर्कमा पनि चौंरीको खुन पिउने मेला लागेको छ । निलगिरि हिमालको फेदीमा पर्ने मार्चे र धौलागिरि हिमालको फेदीमा पर्ने मुली खर्कमा लगाइएको मेलामा १६ जना कृषकहरुले पालेका ८ सयवटा याक तथा चौंरीगाई रहेका छन् । अहिले मार्चे र मुलीको मेलामा पुगेका सर्वसाधारणहरु चौंरीको खुन खाएर फर्किएको स्थानीय गोविन्द शेरचले बताउनुभयो । मुस्ताङको लेकाली खर्कमा रहेका गोठमा एउटै कृषकले ८० देखि ९० वटासम्म चौंरीपालन गर्ने गर्दछन् ।

उच्च हिमाली लेक र खर्कमा पालिएका याक तथा चौंरीले यार्सागुम्बा, पाँचऔले, निरमसी, जटामसी, कुटुकी, वनलसुन, जिम्बु, बुकी लगायतका बहुमूल्य जटिबुटीहरु खाने भएकाले चौंरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने चौंरीपालक कृषकहरु बताउँछन् । चौंरीको रगत पिउनाले मानव स्वास्थ्यमा हुने ग्याष्ट्रिक, गानोगोला, कमजोरीपना, सुगर तथा प्रेसर लगायतका रोगहरू निको हुने भन्दै वर्षेनी सर्वसाधारणहरु चौंरीको खुन खान मुस्ताङको लेक र खर्कमा पुग्ने गर्दछन् ।

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख दण्डपाणी शर्माले पशु स्वस्थकर हुनुपर्ने, रोग नलागेको तथा बिरामी नपरेको र कुनै किसिमको सरुवा रोग नदेखिएको पशुको उत्पादन सेवन गर्नाले मानव स्वास्थ्यमा समस्या नहुने बताउनुभयो । उहाँले उच्च लेकमा पालेका चौंरीगाई र याकले स्वास्थ्यबद्र्धक जडिबुटीहरु खाएको हुँदा मानव स्वास्थ्यलाई फाइदाजनक हुने अनुमान गर्न सकिने बताउँदै मुस्ताङमा पालिएका चौंरीगाई तथा याकको अहिलेसम्म परीक्षण पनि नभएको र कुनै त्यस्तो समस्या समेत नदेखिएको बताउनुभयो ।

चौंरीपालक कृषकहरुका लागि आलो रगत निकालेर बेच्ने कार्य उनीहरुको वैकल्पिक आम्दानीको स्रोत हो । एउटा वयस्क चौंरीबाट अघिकतम ३५ गिलाससम्म रगत निकालेर बेच्ने गरिन्छ । आलो रगतसँगै हिमाली क्षेत्रमा हुर्काइएका याक तथा चौंरीको मासु स्वादिलो र पोषिलो मानिने भएकाले बजारमा मासुको माग समेत उच्च हुने गर्दछ । चौंरीको दुधबाट दही, घ्यु, चिज र छुर्पी लगायतका परिकारहरू बनाएर बिक्री गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्