लक्षण देखिए कोभिड भएसरह सुरक्षा अपनाऊँ : डा. पुन

कोरोना भाइरसको स्वरूप परिवर्तन



काठमाडौं ।

खोकी, ज्वरो, घाँटीको दुखाइजस्ता कोरोनाका लक्षण देखिए ‘मलाई कोभिड भयो’ भन्ने ठानेर सामाजिक दूरी अपनाउने, मास्क लगाउने र उपचारात्मक विधि अपनाउने सुझाव चिकित्सकको छ ।

‘कोभिडका लक्षण देखिए नआत्तिनुस्, मौसमी रुघाखोकीका लक्षण पनि समान हुन्छन्, तर कोभिड भएसरह सुरक्षा उपाय अपनाएर आफू, परिवार र समाज सबैलाई सघाउनुस्’ कोभिडका सम्बन्धमा विगत तीन वर्षदेखि आम नागरिकलाई सेवा पु¥याउँदै आएका डा. शेरबहादुर पुनले बिहीबार नेपाल समाचारपत्रलाई भन्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार नयाँ संक्रमितको संख्या ३ सय ९१ जना रहेको थियो । ३ हजार ५ सय ६९ जनामा गरिएको परीक्षणले यो संख्या देखाएको हो । यसरी हेर्दा अघिल्लो दिनको संख्यामा नयाँ संख्या ४४ ले थपियो । कुल संख्या मात्र बढेन, बढ्ने क्रम पनि बढ्यो ।

बिहीबारको रिपोर्टमा उल्लेख भएअनुसार ५६ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित २ हजार ५ सय ३७ जना रहेका छन् । बिहीबार मृत्युको दुखद् घटना भने सुन्नुपरेन ।विशेषज्ञ चिकित्सकहरूले अब कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा पर्ने क्रम रहिरहने हुनाले अतिरिक्त (बुस्टर डोज) खोपमा सरकारले चासो दिनुपर्नेमा जोड दिएका छन् । नेपालमा हालसम्म ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा खोप भित्रिएकोमा ४ करोड ८० लाख ९५ हजार ६ सय १७ मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालको कुल जनसंख्याको ७० प्रतिशतले मात्र कोरोना विरुद्धको खोप लगाएको र खोप ल्याउने र लगाउने कार्य जारी रहेको छ ।सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ – ‘कोरोनाको नयाँ भाइरस बी एफ वान भेटिएको भन्ने सुन्नमा आएको छ । नयाँ, बी एफ फोर पनि पहिला नै भेटिएको हो । कोरोना भाइरसले नयाँ–नयाँ रूप लिइरहन्छ । यसको पछि लाग्ने हैन, अन्ततः खोपको पछि लाग्ने हो ।’

खोप दुई मात्रा नलगाएकाले खोप लगाउने र अतिरिक्त मात्रा (बुस्टर डोज) नलगाएकाले बुस्टर डोज खोप लगाने सुझाव उहाँको छ । नयाँ–नयाँ भेरियन्ट आइरहन्छ । दुई मात्रा लगाएर सुरक्षित होऊँ, बुस्टर डोज लगाएर थप सुरक्षित होऊँ ! उहाँ सुझाव दिनुहुन्छ, ‘खोपमा जोड दिऊँ । खोपको मात्रा पूरा गर्दैजाने र नयाँ समस्याको समाधान खोज्दै जाने, अर्को विकल्प छैन । यो कति छिटो फैलन्छ भन्ने विषयमा अनुसान्धान नै भई नसकेकोले हामी खोप लगाउनमा नै जोड दिन्छौं ।’

कोरोना भाइरसले स्वरूप परिवर्तन गरिरहन्छ, त्यसबाट जोगिने अर्थात् समस्यालाई जटिल नबनाउने, एउटै उपाय खोप लगाउनु मात्र हो । जसलाई संकेत देखिएको छ, उहाँले परीक्षण गराउने र कोभिड भएसरह सुरक्षा अपनाउने डा पुनको सुझाव छ ।‘बिहीबार छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने भारतको सिमानासँग जोडिएका जिल्लाहरूमा थप कोरोना संक्रमितको संख्या वृद्धि भएकाले सुरक्षा अपनाउँदै पूर्ण खोप लगाउन सबैलाई आग्रह गर्दछु’ – डा.पुन भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्