पाँच दिनदेखि कर्मचारी विहीन मुस्ताङ जिल्ला अस्पताल



मुस्ताङ ।

मुस्ताङ जिल्ला अस्पताल असार मसान्तदेखि कर्मचारी विहीन भएको छ । कोरोना करारमा ल्याइएका कर्मचारीको सम्झौता मिति सकिएलगत्तै जिल्ला अस्पताल खाली भएको हो ।

कर्मचारीको अभाव खेप्दै आएको अस्पताललाई कोरोना महामारी फैलिएसँगै कर्मचारी करारमा थपिदा काममा सहजता भएको थियो । जिल्ला अस्पतालमा प्रदेश सरकारले ५ जना स्वास्थ्यकर्मी नियुक्ति गरेको थियो ।

अहिले जिल्ला अस्पतालमा सिफ्ट परिर्वतन गर्नकालागि जनशक्ति नै छैनन् । एक्सरे, फार्मेसीमा जति कर्मचारी हुनुपर्ने छैनन् । १/१ जना मात्रै स्टाफ रहेका छन् । उनीहरुले सेवा दिन कठिनाई भइरहेको छ ।

जिल्ला अस्पतालमा १८ जनाको दरबन्दी भएपनि ११ जनामात्रै जनशक्ति रहेको छ । अस्पतालमा निकै समस्या रहेको निमित्त मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारीले जानकारी दिए ।‘दरबन्दी कम छ । दुर्गम क्षेत्र भएकाले सकेसम्म बस्नै मान्दैनन् । हामी निकै संकटमा रहेका छौँ । स्टाफ कम छन्, कोही विदामा बस्यो भने १ जनाले नै २४ घण्टा हेर्न पर्ने स्थिति छ’उनले भने, ‘गाउँपालिकाले १ जना फार्मेसीका लागि दिनेभएको छ ६ महिनाका लागि ।’

कोभिड करारमा ५ जना कर्मचारी नियुक्ति भएका थिए । करार अवधि सकिएका कारण उनीहरु फिर्ता भएका छन् । पछिल्लो समय देशमा कोरोना पुनः बढ्न थालेपछि जिल्ला अस्पतालमा समेत डर बढेको छ । ‘देशमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । यदि यहाँपनि कसैलाई कोरोना देखियो भने एकै कर्मचारी सबैतिर दौडिन पर्ने हुन्छ कता कता भ्याउने हो थाहै छैन्’ उनले भने । अस्पतालको एक्सरे, फार्मेसी, वार्ड इमर्जेन्सीमा समेत जनशक्ति छैनन् । उनका अनुसार अस्पतालको दरबन्दी १८ जना भएपनि ११ जनामात्रै कार्यरत छन् । त्यस मध्येपनि २ स्टाफ नर्स आगामी पढाइका लागि १ महिना पछि निस्किदै छन् ।

अहिलेसम्म कोभिड करारका कर्मचारी, व्यवस्थापन समिति र घरपझोङ गाउँपालिकाले १ जना करारमा कर्मचारी राखेर अस्पताल संचालन गर्दै आइरहेको थियो । अस्पताल काम चलाउ तरिकाले चलिरहेको थियो ।
अस्पताल १५ शै्ययाबाट २५ शै्ययाको बनाउने योजना बनाईरहँदा झन कर्मचारी अभावले समस्या आउन सक्ने स्वास्थ्यकर्मीहरुको आशंकका रहेको छ ।
राज्यले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिका लागि उचित योजना नबनाउँदा यो समस्या आएको हो ।
जिल्ला अस्पतालमा हाल ३ जना मेडिकल असोसिट, १ जना एमडीजिबी डाक्टर, ३ जना स्टाफ नर्स, अवेव ३ जना, अनमी १ जना, २ जना ल्याब,१ जना एक्सरे एसिसटेन्ट रहेका छन् ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले प्रदेशले संचालन गरेको अस्पताललाई पालिकाले धान्न पर्ने अवस्था आएको सुनाए । उनले प्रदेशको मातहातमा रहेकाले पालिकाले सबै कार्य गर्न नमिल्ने भन्दै पालिकाको तर्फबाट करारमा कर्मचारी राख्ने काम गरेको बताए ।
‘अस्पताल प्रदेश अन्तरगतको हो । तर, हामीले नै कर्मचारी दिन बाध्य छौं’ उनले भने, ‘प्रदेशले अस्पतालाई गुणस्तरीय बनाउन प¥यो । स्तरोन्नती गर्न प¥यो । हामीले अनुरोध गरेका छौँ ।’

उनले पालिका मातहातमै रहेको २ स्वास्थ्य चौकी र २ आधारभुत स्वास्थ्य सेवा केन्द्र हेर्नुपर्ने अवस्थामा जिल्ला अस्पतालााई समेत हेर्न परेको बताए ।
भौगोलिक हिसाबले दुर्गम रहेको स्थानहरुका लागि राज्य उदारवादी नभएको उनीहरुको गुनासो रहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्