करोडौंका सामान पाँच वर्षदेखि प्रयोगविहीन



काठमाडौं । 

निर्वाचन आयोगले खरिद गरेको करोडौं मूल्य पर्ने अत्याधुनिक मेसिन र ल्यापटप विगत पाँच वर्षदेखि प्रयोगमा नल्याइएकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

आयोगले २०७४ सालको निर्वाचनअघि १० करोड ५५ लाख ४० हजारको हाइ स्पिड डिजिटल कल प्रिन्टर १ थान र ११ करोड २८ लाख मूल्यको २ थान छाड स्प्रिङ डिजिटल मोनोक्रोम खरिद गरेको थियो । २१ करोड ८३ लाख ४० हजार रुपियाँको अत्याधुनिक मेसिन खरिद गरी प्रयोगविहीन अवस्थामा राखेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । विगतमा पनि महालेखाले प्रश्न उठाएको थियो ।

महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले खरिदको आवश्यकता पहिचान नै नगरी करोडौं मूल्यका उपकरणहरू खरिद गरेको उल्लेख गरिएको छ । आयोगले खरिद गरेको करोडौं मूल्यको अत्याधुनिक डिजिटल प्रिन्टिङ र छपाइ मेसिन वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ । ती उपकरणहरू एकपटक पनि प्रयोग नहुँदै जीर्ण अवस्थामा पुगेको हो । यस विषयमा महालेखाले अघिल्लो वर्षको प्रतिवेदनमा आंैल्याएको थियो । उच्च मूल्य पर्ने मेसिन प्रयोगमा नल्याउनु उचित नभएको पनि महालेखाले भनेको छ ।

आयोगले मेसिन प्रयोगमा ल्याउनुको साटो निर्वाचनसम्बन्धी सामग्री छपाइका बाहिर गरी करोडौं रुपियाँ भुक्तानी गर्दै आएको छ । विगतमा खरिद गरिएको मेसिनको प्रयोगको सम्बन्धमा सार्वजनिक लेखा समितिको २०७७ भदौ २२ को मेसिन प्रयोग गर्ने निर्देशनसमेत दिएको थियो । त्यसको कार्यान्वयन नभएको पनि महालेखाले भनेको छ ।

छोटो समयमा धेरै छपाइ गर्नुपर्ने भएकाले आयोगले सो मेसिन प्रयोग गर्न नसकेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । ‘त्यसमाथि सो मेसिन चलाउन सक्ने प्राविधिक जनशक्ति नभएकोले प्रयोगमा ल्याउन नसकेको हो । प्रयोगमा नआएको धेरै वर्ष भएकोले पनि तुरुन्तै चलाउन सक्ने स्थिति छैन’ – उहाँले भन्नुभयो । सो मेसिन प्रयोग गर्न आयोगले विगतमा कर्मचारीलाई तालिम दिएको जनाउँदै प्रवक्ता शालिग्राम शर्मा पौडेलले तालिम दिएको र ती कर्मचारी सरुवा भएपछि प्रयोगमा ल्याउन नसकेको बताउनुभयो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३ बमोजिम खरिदको आवश्यकता पहिचान गरी खरिद गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाविपरीत आयोगले सामग्री खरिद गर्दै आएको पनि प्रतिवेदनमा भनिएको छ ।
‘सो मेसिन प्रयोग गर्ने व्यवस्था मिलाई यसरी मेसिन प्रयोग गर्न सक्ने नसक्ने सम्भाव्यता अध्ययन बेगर खरिद गरेर प्रयोग नहु्ने अवस्था सिर्जना भएको सम्बन्धमा भविष्यमा यस्ता कार्य नदोहोरिने गरी सम्बन्धित पदाधिकारीलाई आवश्यक कारवाही हुनुपर्दछ ।’

आयोगमा रहेका मूल्य नखुलेका ६ सय ५९ थान ल्यापटपमध्ये ५ सय ८१ थान कोर आर्य थ्री ल्यापटप उपयोगविहीन रहेका छन् । उपकरणहरू मर्मत गरी प्रयोगमा ल्याउने र मर्मत नहुने अवस्थामा प्राविधिक पुष्ट्यार्इंसहित लिलामी बिक्री गर्नेतर्फ कारबाही अघि बढाउनुपर्ने पनि महालेखाले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्