सिन्धुलीका स्थानीय तहको बेरुजु २९ करोड ४३ लाख, तीनपाटनको सबैभन्दा बढी



सिन्धुली । सिन्धुली जिल्लाको ९ स्थानीय तहमा २९ करोडभन्दा बढी बेरुजु देखिएको छ । मंगलवार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार सिन्धुलीका ९ स्थानीय तहको आर्थिक वर्ष २०७७।७८ मा २९ करोड ४३ लाख ७७ हजार बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुलीका ९ स्थानिय तह मध्ये तीनपाटन गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । जिल्लाको दुई नगरपालिका मध्ये कमलामाई नगरपालिकाको सबैभन्दा धेरै बेरुजु रहेको छ । सात गाउँपालिकामध्येमा सबैभन्दा कम हरिहरपुरगढी गाउँपालिकाकोबेरुजु रहेको छ ।

महालेखा परीक्षकले कमलामाई नगरपालिकाको २ अर्ब २७ लाख २८ लाख ९७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ करोड ७१ लाख ८५ हजार अर्थात १ दशमलब ६५ प्रतिशत रकम बेरुजु रहेको औँल्याएको छ । दुई नगरपालिका मध्ये जिल्लामा सबैभन्दा कम बेरुजु देखिएको दुधौली नगरपालिकाको १ करोड ९४ लाख १० हजार अर्थात् जम्मा खर्च रकमको शुन्य दशमलब ८३ प्रतिशत रकम बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।दुधौली नगरपालिकाको २ अर्ब ३३ करोड ९० लाख ८६ हजारको लेखापरीक्षण भएको थियो।गाउँपालिकामध्येमा सबैभन्दा बढी तीनपाटन गाउँपालिकाको बेरुजु ९ करोड ८४ लाख ९३ हजार अर्थात ६ दशमलब १५ प्रतिशत बेरुजु छ। महालेखाले तीनपाटन गाउँपालिकाको १ अर्ब ६० करोड २४ लाख १० हजारको लेखापरीक्षण गरेको थियो।त्यस्तै प्रतिवेदन अनुसार सात गाउँपालिकाहरूमा हरिहरपुरगढीगाउँपालिकाको बेरुजु सबैभन्दा कम रहेको छ ।

हरिहरपुरगढी गाउँपालिकाको ९६ करोड ९ लाख ६७ हजारको लेखा परीक्षण गर्दा ३६ लाख ७३ हजार अर्थात् शुन्य दशमलब ३८ प्रतिशत रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । फिक्कल गाउँपालिकाको ९९ करोड ६८ लाख २५ हजारको लेखा परीक्षणमा ४ करोड ६१ लाख ५८ हजार अर्थात ४ दशमलब ९३ प्रतिशत बेरुजु रहेको छ ।

सुनकोशी गाउँपालिकाको ४ करोड २० लाख ६ हजार अर्थात ४ दशमलब ६४ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकले सुनकोशी गाउँपालिकाको ९० करोड ६२ लाख १२ हजारको लेखा परीक्षण गरेको थियो । मरिण गाउँपालिकाको १ अर्ब २९ लाख ९४ हजारको लेखा परीक्षणमा २ करोड ६३ लाख ६४ हजार अर्थात २ दशमलब ६२ प्रतिशत बेरुजु रहेको छ ।

घ्याङलेख गाउँपालिकाको ५६ करोड ८१ लाख १७ हजारको लेखा परीक्षणमा १ करोड ३१ लाख ७३ हजार अर्थात २ दशमलब ३२ प्रतिशत रकम बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गोलन्जोर गाउँपालिकाको ८६ करोड ५८ लाख ७१ हजारको लेखा परीक्षणमा ७९ लाख १४ हजार अर्थात शुन्य दशमलब ९१ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्