मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट आठ जनाको उपचार



काठमाडौं । 

दुर्घटनामा परेर वा कुनै कारणले मस्तिष्क मृत्यु भएका व्यक्तिका आठ अंग निकालेर आठ जना व्यक्तिको उपचार गर्न सकिने चिकित्सकहरूले बताएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गरेको ‘मस्तिष्क मरण, अंगदान तथा प्रत्यारोपण’ विषयक एकदिने मिडिया गोष्ठीमा वरिष्ठ नसाविज्ञ डा. वसन्त पन्त र मिर्गौला प्रत्यारोपणमा विशिष्टता हासिल गरेका डा. पुकार श्रेष्ठले सो जानकारी दिनुभएको हो ।

कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका डा. श्रेष्ठले अंगदानलाई महादानको रूपमा अघि बढाई देशभरिका मानिसमा अंगदानसम्बन्धी चेतना जगाउनुपर्ने बताउनुभयो ।

उहाँले हालसम्म मस्तिष्क मृत्युबाट हुने अंगबाट आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भएको जानकारी दिँदै यसलाई बढाउन सके मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका सबै बिरामीको मिर्गौला प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।

डा. श्रेष्ठले नेपालमा ८० प्रतिशत अंगदान या मिर्गौला महिलाले पुरुषलाई दिने गरेको जानकारी दिँदै पुरुषले पनि महिलालाई त्यही रूपमा अंगदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले अंगदानको सन्दर्भमा महिलाहरू पुरुषबाट पीडित रहेको रहस्य पनि खोल्नुभयो ।नेपाल प्रेस इन्स्टिच्युटका पूर्व अध्यक्ष तीर्थ कोइरालाको सभापतित्व तथा सोही संस्थाका कोषाध्यक्ष नीता सापकोटाको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले अंगदानसम्बन्धी कानुनलाई चिकित्सकहरूले पनि बुझ्न बाँकी रहेको बताउनुभयो । उहाँले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

वरिष्ठ न्युरो चिकित्सक पन्तले एक जनाको अंगबाट आठ वटा अंग निकालेर प्रत्यारोपण गर्न सकिने भएकाले यसबारे व्यापक रूपमा प्रचारप्रसार तथा जनचेतनाको खाँचो रहेको बताउनुभयो । बिरामी र अस्पतालबीच विभेद हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो । धार्मिक रूपमा पनि अंगदानलाई असर गरेकाले अंगदानसम्बन्धी जनचेतनालाई धार्मिक व्यक्तिमार्फत् अघि बढाउनुपर्ने बताउनुभयो ।

मान्छे मरेपछि पनि उसको शरीर चल्नसक्ने भन्दै उहाँले त्यो बेला बिरामीका आफन्तले विश्वास गर्न कठिन हुने बताउनुभयो । परिवारलाई मरेको भनेर विश्वास गर्न गाह्रो हुने भन्दै उहाँले त्यो बेला बिरामीको मस्तिष्क मृत्यु भइसकेको हुने बताउनुभयो ।
कतिपय अवस्थामा पैसा लिनका लागि पनि मानिसलाई भेन्टिलेटरमा राख्ने गरेको उहाँको आरोप थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले अंगदानलाई मिर्गौलामा मात्र केन्द्रित गर्न नहुने बताउनुभयो । मिर्गौलाबाहेक अन्य अंग पनि अरूको अंगबाट प्रत्यारोपण गर्न सकिने भएकोले मस्तिष्क मृत्यु र अन्य अंगबारे जनचेतना जगाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले अंगदानसम्बन्धी जनचेतनाको विकास गर्नुपर्ने बताउनुभयो । मस्तिष्क मृत्युसम्बन्धी विषयलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने उहाँको भनाइ थियो ।मृत्युपश्चात् शरीर दान गरेका वरिष्ठ पत्रकार भैरव रिसालले सहज जीवनका लागि अंगदानबारे सचेतना जगाउनुपर्ने बताउनुभयो । त्यसै गरी, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले आधारभूत स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार राजेन्द्र दाहालले पहिले झाडापखालाबाट बच्न नुन, चिनी, पानीको प्रयोग हुने गर्दथ्यो भन्दै अहिले त्यो अवस्था नरहेको बताउनुभयो ।पत्रकार कपिल काफ्लेले मूलधारका दैनिकले स्वास्थ्य, अंगदान तथा मस्तिष्क मृत्युलाई प्राथमिकता दिन नसकेको बताउँदै पत्रकारलाई स्वास्थ्यका विभिन्न पक्षमा तालिम दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पत्रकार लक्ष्मण अधिकारिले रोगको उपचार गर्नुभन्दा रोगको रोकथाममा ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकार श्रीराम सिंह बस्नेतले ऐच्छिक मृत्युबारे छलफल चलाउनुपर्ने बताउनुभयो ।

ऐच्छिक मृत्युबाट अंगदान गर्न सकिने उहाँको भनाइ थियो ।विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले बोर्डले अंगदानसम्बन्धी विज्ञापन बनाएर प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कानुनविद् काशीराज दाहालले अंगदान तथा मस्तिष्कमृत्यु सम्बन्धी प्रस्ट कानुनी व्यवस्थाको अभावमा मस्तिष्क मरिसकेका दीपेन्द्र शाहलाई यस मुलुकले एक दिनको राजा बनाएको स्मरण गर्दै भएका कानुनको पनि पूर्ण पालना हुन नसकेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्देश्य अंगदान विषयमा जनचेतना जगाउन प्रेस जगत्ले कसरी प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ भन्ने विषय पहिचान गर्नु रहेको छ । अन्तरक्रियामा विज्ञ वक्ताहरूले नेपालमा मस्तिष्क मृत्युसम्बन्धी कानुन भए पनि अझै मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अंग लिएर अन्य बिरामीमा ज्यान बचाउने काम नभएको बताए । मस्तिष्क मृत्यु भएकाहरूको मानव अंग अर्को व्यक्तिमा प्रत्यारोपण हुन नसक्दा अंग प्रत्यारोपणको आवश्यकतामा रहेका हजारौं बिरामीहरू समस्यामा छन् ।

नेपालमा दैनिक आठ जनाको दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्याङ्क छ तर ब्रेन डेथ भएकाहरूबाट अरू मानिसको अंगमा मिर्गौला या अन्य अंग प्रत्यारोपण हुन सकेको छैन ।हालसम्म मस्तिष्क मृत्युबाट हुने अंगदानबाट जम्मा ८ जनाको मिर्गौला प्रत्यारोपण र दुई जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा अंगदानसम्बन्धी कानुनले मात्र नहुने भन्दै यसलाई कार्यान्वयनको पाटोमा पनि जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्