‘गुणस्तरीय स्वास्थ्य उपचार सबैको पहुँचमा पु-याउनु राज्यको दायित्व’ 



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य उपचार गर्न गाउँबाट ठूला शहर र शहरबाट विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्वास्थ्य सेवालाई नेपालको कानुनमा व्यवस्था भएअनुरूप गुणस्तरीय र सबै जनताको पहुँचमा राख्नु राज्यको दायित्व भएको बताउनुभयो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को स्वर्ण महोत्सवको अवसरमा आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपालमै स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन योग्य स्वास्थ्य जनशक्तिको उत्पादन र उनीहरूलाई स्वदेशमै सेवा गर्ने वातावरण निर्माण आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।

उहाँले मेडिकल शिक्षाको विस्तार र विकेन्द्रीकरण जरुरी भएको भन्दै आइओएमले ५० वर्षको कोसेढुंगा पार गरी देश विदेशमा गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्यको नमुना प्रस्तुत गर्न सफल भएको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।आईओएमले नेपालको चिकित्सा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रपति भण्डारीले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको पढाइ शुरू भएकोले दुर्गममा रहेका नेपाली नागरिकको चिकित्सा शिक्षामा पहुँच बढ्नुका साथै जनस्वास्थ्यमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविले २०२९ सालमा प्रमाणपत्र तहबाट चिकित्सा शिक्षाको सुरुआत गरेकोमा २०७९ सालमा पुग्दा चिकित्सा विधाको सबै तहको अध्यापन गर्न सफल भएको बताउनुभयो । अध्ययन, अनुसन्धान र नयाँ नयाँ रोगको उपचारमा समेत आईओएम अब्बल बन्दै गएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘तर सरकारले आईओएमलाई देशको सान बनाउनुपर्नेमा शिक्षा मन्त्रालयअन्र्तगत त्रिविको अस्पतालका रूपमा वर्गीकरण गरी पन्छिन खोज्नु दुःखद् कुरा हो ।’

उहाँले सरकारले बजेटमा पनि विभेद् गरेको टिप्पणी गर्दै भन्नुभयो–‘सुरेश वाग्ले भवन बनेको छ, तर उपकरणको अभावमा सञ्चालनमा ल्याउन नसकिएकोले स्वास्थ्य मन्त्रीले यो विषयलाई गम्भीर रूपमा लिई क्यान्सरका बिरामीलाई सर्वसुलभ रूपमा उपचार गर्नका लागि आवश्यक उपकरण खरिदका लागि बजेट निकासा गरिदिन अनुरोध गर्दछु ।’कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले नेपालमै पहिलो पटक मिर्गौला र कलेजो प्रत्यारोपण जस्तो सेवा सञ्चालन गरी नेपाली नागरिकका करोडौं रुपियाँ विदेसिनबाट जोगाउन सफल भएकोमा अस्पताललाई शुभकामना दिनुभयो । उहाँले विगतमा कोभिडका कारण औषधि र अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा त्यस्तो हुन नदिन सबै निकाय सचेत र तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले पछिल्लो समय देशभर कोरोनाको संक्रमण बढीरहेकोले सरकारले तोकेको मापदण्ड पालना गर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।

आईओएमका डीन प्राडा दिव्या सिंह शाहले पठनपाठनलाई अझै प्रभावकारी बनाउन लगानी बढाउन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै प्रकारका जनशक्ति देशमै उत्पादन, सबै प्रकारका जटिल रोगहरूको उपचार देशमै गर्ने र स्वास्थ क्षेत्रमा अनुसन्धानको विकास गर्ने हेतुले त्रिभुवन विश्वविद्यालयले ३ सय रोपनी जग्गा उपलब्ध गराएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘सरकारी स्तरमा स्नातकोत्तरमा छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरूको पठनपाठनका लागि स्रोतको सुनिश्चितता गरिनु आवश्यक छ ।’

उहाँले ३ सय शैय्याबाट शुरू भएको अस्पतालमा १ हजारभन्दा बढी शैय्या सञ्चालनमा हुँदा पनि सेवा र कार्यक्रमको विस्तारको अनुपातमा दरबन्दी नथपिएको गुनासो पनि गर्नुभयो । कार्यक्रममा आईओएमको स्मारिका विमोचन र भिडियो लोकार्पण गर्नुका साथै ११ जना पूर्व डीनहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्