काभ्रेपलाञ्चोकका सहकारीमा बेथीति, सहकारीकै अगुवा मान्दैनन सहकारी ऐन



काभ्रे । 

सहकारी विभागले २०७९ जेठ १२ गते ३५ बुँदे निर्देशन जारी गरेको छ । विभागले सहकारी संघसंस्थामा सुशासन प्रर्वद्धनको लागि एकीकृत निर्देशन २०७९ जारी गरेको हो । सहकारी ऐन नमान्नेहरुमा सहकारीका अगुवा भन्न रुचाउनेहरु अग्रपक्तिमा छन् । अगुवाहरुले नै ऐन नमाने पछि प्रारम्भिक संस्थामा बिकृति मौलाउँदै गएको छ ।

सहकारी ऐनमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी संघसंस्थाहरुको कामकारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्वत तरिकाले संचालन एवं ब्यवस्थापन गरी सहकारी संघ संस्थामा सुशासन प्रर्वद्धन गर्न सहकारी ऐन २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५ (५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) (झ) बमोजिम सहकारी विभागले उक्त निर्देशन जारी गरेको थियो । उक्त ऐन तथा निर्देशन मान्नु पर्ने र प्रारम्भिक संस्थालाई समेत मनाउनु पर्ने जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुले टेरपुच्छर लगाएका छैनन ।

प्रारम्भिक संस्थालाई समेत नियम कानुन र सिद्धान्त पढाउने अभिभावकत्व पाएका संघ संस्थाहरुका संचालकहरुले निर्देशनको दोश्रो बुँदामा उल्लेख भएको सहकारी संघसंस्थाको दर्ता तथा नियमन सम्वन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा नेपाल सरकार, प्रदेश सकार, स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको संचालक समिति वा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भन्ने उल्लेख गरिएको छ ।

उल्लेखित पदहरुमा बहाल रहेको भएमा तत्काल राजिनामा दिन भनिएको छ । रिक्त हुने पदमा आगामी साधारण सभामा उप निर्वाचनको माध्यमबाट पदपुर्ति गर्ने ब्यवस्था मिलाउनु पर्नेछ । पेशागत आधारमा दर्ता भएका सहकारी संस्थामा सदस्यता प्राप्त गरेको अवस्थामा बाहेक लाभको पदमा कार्यरत कुनै पनि राष्ट्र सेवक सहकारी संघ संस्थाको संचालक समिति वा लेखा सुपरिवेक्षण समिति वा ब्यवस्थापक वा कर्मचारी भई कामकाज गर्न पाईने छैन ।

सोहि ब्यवस्था प्रदेश सरकारले जारी गरेको सहकारी ऐनमा स्पस्ट उल्लेख गरिएको छ । तर अगुवाहरु नै सहकारी ऐन मान्न तयार छैनन अनि भन्छन सहकारी अभियान धरापमा पर्न लाग्यो ? लाज पचेका अगुवाहरु अभियान भित्र लागेका धमिरा हटाउन तयार छैनन ।

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष जितेन्द्र नकर्मी बनेपा बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक हुन् । उनि सोहि संस्थाका सचिव पनि हुन् । प्रारम्भिक संस्थाका कर्मचारी, संचालक समेत रहेका नकर्मी अहिले अध्यक्ष छन् । उनले ऋण समितिको संयोजक हुँदा प्रारम्भिक संस्थाहरुबाट कमिसन लिने गरेको तथ्य सार्वजनिक भएको छ । संघका सचिव सुरेन्द्र पौड्याल शिक्षक हुन् । संचालकहरु सत्यदेवी भट्टराई र ज्ञानु दाहाल पनि शिक्षक हुन् । उता जिल्ला सहकारी संघका उपाध्यक्ष कमला अधिकारी शिक्षक हुन् ।

सचिव निरञ्जन विष्ट मण्डन देउपुर नगरपालिकाका वडा नम्वर ८ का वडा अध्यक्ष हुन् । संचालक कमलप्रसाद कुईकेल विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी हुन् । लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठ पनि शिक्षक हुन् । लेखा समिति सदस्य सरस्वती चिमौरिया पनि शिक्षक हुन् । संघ र प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरु समेत सहकारीको जिम्मेवारीमा रहन पाउने छैनन ।

जिल्ला सहकारी संघका संचालक ठाकुरनाथ अधिकारी आर्थिक विकास पाँचखालका प्रवन्धक हुन् । संचालक र कर्मचारी एउटै ब्यक्ति भन्ने प्रश्न उठेको भए पनि उनिहरु मौन छन् । सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जाराले भने प्रोप्सकुनको संचालकबाट राजिनामा दिएका छन् ।

प्रारम्भिक सस्थाहरुमा भने अधिकांश राज्यको करबाट तलब खाने कर्मचारीहरु नेतृत्वमा छन् भने सहकारीका संचालकहरुका परिवार उप समितिमा छन् । श्रीमान अध्यक्ष भए श्रीमती र छोरीहरु कर्मचारी छन् । सहकारी भित्र मौलाउँदै गएको अनियमिततामा सहकारी विभाग, सरोकारवाला निकाय मौन छन् । सहकारी अभियान्ता दिपक पौडेलले ऐन कार्यान्वयनका लागि त्यस्ता संचालकहरुले राजिनामा दिनु पर्ने बताएका छन् ।

धमाधम सम्पति शुद्धीकरण

सम्पति शुद्धिकरणमा श्रीखण्डपुरका सुवास श्रेष्ठ पक्राउ परेका छन् । उनलाई काभ्रे प्रहरीको सहयोगमा सिआईबीले पक्राउ गरेको हो । काभ्रे जिल्लाका १५ भन्दा धेरै ब्यक्ति र केहि सहकारी संस्थाका संचालकहरुको अनुन्सधान भईरहेको छ । किलोमिटर ब्याजमा लगाउने बनेपा र आसपासका ब्यक्तिहरु विरुद्ध प्रहरी कार्यालयसँगै सम्पति शुद्धिकरणमा मुद्दा परेको छ ।

युनिटी साकोसका प्रवन्धक शैलेश कपालीले झण्डै साढे ३ करोड हिनामिना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सहकारीको रकम कानुन विपरितको नेटवर्किङ्ग ब्यवसाय, क्रिप्टो करेन्सी र अनलाईन जुवामा लगानी गरेको खुलासा भएको छ । अहिले सहकारीका संचालक र प्रवन्धकहरुले यि लगायत शेयर, जग्गा र अन्य अनुपात्दक क्षेत्रमा लगानी गरेका कारण बजारमा तरलतासँगै सहकारीहरु प्रति आविश्वास बढिरहेको छ । सहकारीको रकम लिएर ठगी गर्ने मध्येका ध्रर्वप्रसाद घिमिरे जेल परेका छन् । उनले बनेपाका थुप्रै सहकारीबाट ऋण लिएका थिए ।

ऋण लिने नर्तिने प्रवृत्ति बढेका कारण पनि सहकारीहरु संकटमा पुगेका हुन् । कर्जा प्रभावका बारेमा कर्जा सूचना केन्द्र स्थापनाका लागि यस अघि भएका प्रयास विफल भएका छन् । यसको फाईदा उठाउँदै एउटै ब्यक्तिले २० वटा भन्दा धेरै सहकारीमा ऋण लिएर फरार हुने गरेका छन ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर लगायतका शहरी क्षेत्रमा रहेका केहि सहकारीले ऋणीसँग चर्काे ब्याज असुल्ने गरेका छन् । सहकारीको दोहोरो कागज बनाउने, दोहोरो लेखा राख्ने र सोहि अनुसारको लेखापरिक्षण गराउने, ऋणीहरुको घरमा पत्र पु¥याउन जाँदा त्यसको खर्च जोडेर त्यो खर्चको समेत ब्याज, हर्जना साँवा रकम सँग जोडिरहेका छन् ।

अनुसन्धानको घेरामा जितेन्द्र

ऋण लगानीमा कमिसन लिएको आरोप झेलिरहेका काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष जितेन्द्र नकर्मी छानविनको घेरामा तानिएका छन् । यस अघि लेखा सुपरिवेक्षण समितिले उनलाई लागेको अभियोगका बारेमा माथिल्लो निकायबाट छानविन गराउन संचालक समितिलाई निर्देशन दिएको थियो । यस अघि संचालक समितिले उपाध्यक्ष सागर कपालीको संयोजकत्वमा गठन गरेको छानविन समिति स्वत विघटन भएको थियो । अध्यक्षलाई कार्यकारी भूमिकामा राखेर उपाध्यक्षको संयोजकत्वमा गठित समिति अबैद्यानिक हुने सन्दर्भमा उक्त समिति विघटन भएको थियो ।

संचालक समितिको बैठकले पुन लेखा समितिलाई नै छानविन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बचत तथा ऋण सहकारीको छाता संस्थाको नेतृत्वको बारेमा नैतिकताका बारेमा प्रश्न उठे पनि सबै संचालक जितेन्द्रको अनियमितता जोगाउन सक्रिय छन् । लहरो तान्दा पहरो गर्जने डरले अभियान्ताहरु तै चुप मै चुप गर्न थालेका छन् ।

अधिकांश सहकारीका संचालकहरुको नीतिगत भ्रष्टाचारको सन्र्दभ जोडिने भए पछि उनिहरु छानविन गर्न डराएका हुन् । अध्यक्ष नकर्मीलाई निलम्वन गरी माथिल्लो निकायबाट छानविन गराउन निर्देशन दिने लेखा समितिले अब गर्ने छानविन कस्तो हुन्छ ? सहकारीकर्मीहरु पर्ख र हेरको अवस्थामा छन् । तर सहकारी भित्रको अनियमितताको डडेलो भुस झै भएको छ । नकर्मीका बारेमा उठेको प्रश्नको न जवाफ ? न राजिनामा ? सबै मौन छन् ।

उता जिल्ला सहकारी संघ भित्रको अनियमितताको सन्र्दभमा माथिल्ला निकायले अनुगमन गराउने उद्यारो आश्वासन बोकेर अभियान्ताहरु नेताहरुको घरदैलोमा देउसी खेल्न थालेका छन् ।

भवन निर्माण प्रकृया, प्रशासनिक कार्य र ब्याजदरमा गरिएको नितीगत र फर्जि विलहरुको सन्दर्भमा अनुसन्धान गर्न उजुरी परेको छ । अध्यक्ष दिलिप जंगम त्यसका योजनाकार हुन् । उनि यस अघिको संचालक समितिमा सचिव थिए । अहिले सबै संचालकहरुलाई गुमराहमा राखेर गराईएका निर्णय र विषयका बारेमा सबै अनविज्ञ छन् ।

प्रतिक्रिया दिनुहोस्