बाढीपहिराले क्षति पुगेको एक वर्षपछि प्रसारण लाइन मर्मत



मनाङ ।

हिमाली जिल्ला मनाङमा एक वर्षपछि बाढीपहिराले क्षति पु-याएको राष्ट्रिय प्रसारण लाइन पूर्णरूपमा मर्मत भएको छ । क्षति पुगेको एक वर्षपछि मर्मत भएसँगै नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेसन चार्ज भएको हो ।

बाढीपहिराले बिजुलीको पोल, तार पुरिनुका साथै बाढीले बगाएर लगेपछि जिल्लामा विद्युत् पूर्णरूपमा अवरुद्ध भएको थियो । अहिले पोल, तारदेखि लिएर सबस्टेसनमा चार्ज भएपछि विद्युत् सेवा उपलब्ध हुने नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताउनुभयो ।

उहाँले नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेसनमा चार्ज भएको बताउनुभयो । ‘जिल्लामा आजदेखि निरन्तर विद्युत् सेवा उपलब्ध हुन्छ । अवरुद्ध भएका विभिन्न स्थानमा मर्मत कार्य पनि सबै भइसकेको छ । ३३ केभीको स्यार्कु सबस्टेसन पनि चार्ज भयो अब भने निरन्तररूपमा विद्युत् उपलब्ध गराइने छ’ –उहाँले बताउनुभयो ।

लघु जलविद्युत्को भरमा चलेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन चामे सदरमुकामसम्म विद्युत् सेवा उपलब्ध गराइँदै आएको थियो । फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक २०७७ मा केन्द्रीय प्रसारण लाइन जोड्न सफल भएको थियो ।

जिल्लामा पहिलो पटक पुगेको राष्ट्रिय प्रसारण लाइनसँगै अन्य लघु जलविद्युत्मा पनि बाढिपहिराले क्षति पु¥याएको थियो । क्षतिसँगै मनाङ जिल्ला एक वर्षदेखि टुकीको भरमा थियो । गएको वर्षमा आएको बाढीपहिराले प्रसारण लाइनमा साढे ३ करोडको क्षति पु-याएको पनि नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्न्द्रले जनाएको छ ।

‘२०७७ सालको फागुनमा मात्र नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन मनाङ आएको थियो । तर, केन्द्रको लाइन आएको पाँच महिनामा नै बाढीपहिराले क्षति पु-यायो । बाढीपहिराले राष्ट्रिय प्रशारण लाइनमा साढे ३ करोड बराबरको क्षति पु‍याएको थियो’, केन्द्रका प्रमुख सुवेदी भन्नुहुन्छ– ‘मनाङ, हिमाली र विकट जिल्ला भएका कारणले गर्दा पनि मर्मत कार्यमा अलि बढी नै समय लाग्यो । कठिनाइका बिचमा पनि हामीले निरन्तर कार्य गरेर पूर्णरूपमा मर्मत भएको छ । अब सवस्टेसनमा पनि चार्ज भयो आजदेखि मनाङेबासीले उज्यालोमा बस्ने छन् ।’

राष्ट्रिय प्रसारण लाइन मर्मतसँगै अब जिल्लामा सरकारी कार्यालयहरूका साथै जिल्ला अस्पतालमा कार्यमा सहजता हुने भएको छ । जिल्ला अस्पताल मनाङमा विद्युत् अभावका कारण विभिन्न उपकरण सञ्चालनका आउन सकेको थिएन । अब भने सञ्चालनमा आउनेछ । यसै गरी आगामी आर्थिक वर्ष ०७९-०८० मा विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको बेस क्याम्प र थोराङ्ला हाइ क्याम्पसम्म केन्द्रीय लाइन पु-याइने पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्