अनलाइनबाटै मतदाता नामावली संकलन



काठमाडौं ।

निर्वाचन आयोगले अनलाइन माध्यमबाट मतदाता नामावली संकलन गर्ने प्रबन्ध मिलाएको छ । काठमाडौंका उपत्यकाका जिल्लाका प्रशासन कार्यालय, निर्वाचन कार्यालयमा निकै चाप बढ्न थालेपछि आयोगले बुधबारदेखि अनलाइन माध्यमबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाइएको हो ।

हाल राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने काम भइरहेकाले उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निकै भीडभाडले गर्दा सर्वसाधारण सास्ती व्यहोर्नुपरिरहेको छ ।फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

अनलाइनमा आधारित मतदाता नामावली दर्ता गराउने पद्धति (वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम) को प्रारम्भिक परीक्षणका रूपमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सञ्चालन गरिएको पनि प्रवक्ता पौडेलको भनाइ रहेको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेस गर्न सक्नेछन् ।

त्यसपछि अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन शुरू गरेको थियो । त्यसका लागि फोटो खिचाउने र आवश्यक विवरण बुझाउन आउने १८ वर्ष पुगेका नागरिकहरूको भीड निकै बढेको थियो ।

त्यसै गरी आयोगले मतदाता नामावलीमा नाम हटाउन, त्रुटि सच्चाउन, दाबी विरोध गर्न र दोहोरो हटाउन सूचना दिने विवरण र मतदाता नामावली सार्नका लागि दिने दरखास्तको ढाँचाको आयोगको बेवसाइट र फेसबुकमा पेजमा राखेको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् । अब आयोगले त्यस अवधिसम्म नाम छुटेका र त्यसपछि १८ वर्ष भएका नेपाली नागरिकहरूको मतदाता नामावलीमा समेट्नेछ ।

निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली अद्यावधिक गर्न नहुने कानुनी बाध्यता रहेको जनाउँदै आयोगले प्रदेश र संघको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई अहिलेको मुख्य प्राथमिकतामा राखेको छ ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ । यसका लागि आयोगले मंसिर २ गते शुक्रबारको मिति सरकारसमक्ष सिफारिस गरिसकेको छ सरकारबाट अब मिति घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्