आईओएम ५० वर्षमा चिकित्सा शिक्षा र स्वासथ्य सेवामा अब्बल बन्दै



काठमाडौं ।

त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले विभिन्न जटिल रोगहरूको उपचार, निदान तथा विशिष्टीकृत सेवासँग सम्बन्धित स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँच पुग्ने गरी स्वास्थ्य सेवा प्रणालीको विकास एवं प्रबद्र्धनका लागि विगत ५० वर्ष देखि आवश्यक पर्ने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यमा उल्लेखनीय र अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

सन् १९७२ सालमा त्रिभुवन विश्व विद्यालय अन्तर्गत स्थापना भएको चिकित्सा शास्त्र अध्ययन संस्थानले प्रमाणपत्र तहको स्वास्थ्य शिक्षाबाट शैक्षिक कार्यक्रम सुरु गरेको थियो । उक्त संस्थानले नेपालमै पहिलो पटक सन १९७६ सालमा पहिलो पटक नर्सिङको स्नातक तहको कार्यक्रम सुरु गरेको थियो । सन् १९७८ मा एमबिबिएस कार्यक्रम सुरु गरेको संस्थानले ५० वर्षको अवधिमा विभिन्न तह र विधाका कार्यक्रम विस्तार गरी स्नातक, स्नातकोत्तर, डिएम, एमसीएच लगायत विद्यावारिधि सम्मको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

संस्थान मातहतमा त्रिवि शिक्षण अस्पताल देशकै उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा सञ्चालनमा आएको र संस्थाको क्षमता वृद्धि, जनशक्ति विकासका लागि सरकारले गर्दै आएका कार्यक्रम अझै कम भएको आईओएमका डिन प्रा.डा. दिव्या सिंह शाह बताउनुहुन्छ । दुवै संस्थाको गुणस्तरीय विकास गर्ने उद्देश्यले कीर्तिपुरमा स्थापना गर्न लागेको मेडिकल स्पेसियालिटी एन्ड डाइग्नोस्टिक सेन्टर परियोजनाको काम अघि बढाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको बुझाई र तालमेल नमिल्दा आम नागरिक र देशकै धरोहर त्रिवि शिक्षण अस्पताल, आईओएममा निकै अप्ठ्यारो स्थिति सृजना भएको डिन शाहले बताउनुभयो ।

आईओएमको ५० बर्षे अवधिमा भएका विविध कार्यक्रमका बारेमा बृस्तृत जानकारी गराउने उद्देश्यले सोमबार आईओएम परिसरमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उहाँले उक्त भनाई राख्नुभएको हो ।उहाँले सेन्टर स्थापनासम्बन्धी ३६ अर्ब रुपैयाँ बराबरको गुरुयोजना राष्ट्रिय योजना आयोगले रोकेर राखेको समेत जानकारी गराउँनुभयो । आयोगले नेपालको परियोजना सञ्चालनका लागि विदेशी दातृ निकायलाई घुच्च्याउन राय सुझाव दिँदै परियोजनालाई पाखा लगाउँदा देशकै उत्कृष्ट शैक्षिक तथा स्वास्थ्य कार्यक्रम संकटमा परेको उहाँले बताउनुभयो ।

हाल ९ सय ७० शैयामा सञ्चालन भइरहेको त्रि.वि.शिक्षण अस्पतालको क्षमता वृद्धि गरी १५ सय शय्याको उक्त सेन्टरको निर्माण ३ वर्षमा सम्पन्न गर्ने गुरुयोजनामा स्वास्थ्य, अर्थ मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगमा पुगेर थन्कियो । गुरुयोजनाको काम विना अवरोध सुचारु गर्न सकिएको भए आगामी सेप्टेम्बरमा शिलान्यास गर्ने लक्ष्य राखिएको थियो ।डा शाहले स्वास्थ्य मन्त्रालयले आइओएम शिक्षा मन्त्रालयअन्तर्गत पर्ने भएकाले यो परियोजनालाई आफ्नो नभनिरहेको र अर्थ मन्त्रालयको बुझाइमा पनि यो स्वास्थ्य मन्त्रालयअन्तर्गत पर्दैन भन्ने भएकै कारण राष्ट्रिय कार्यक्रम नै धराशायी बनेको बताउनुभयो ।

‘नेपालभरका अस्पताल हेर्ने निकाय स्वास्थ्य हो, को अर्डिनेसनको कमी भएर पनि यस्तो भएको हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘फेरि यो परियोजना स्वास्थ्य मन्त्रालयअन्तर्गत हो या होइन भन्नुभन्दा पनि राष्ट्रको परियोजना हो ।’ डा. शाहले आइओएमको महाराजगन्जमा सञ्चालित कार्यक्रमहरू नरोकिने गरी केही विशिष्टीकृत कार्यक्रम तथा सेवा उक्त सेन्टरमा गर्ने तय गरिएको थियो । जसमा मिर्गौला प्रत्यारोपण, कार्डियोलोजी, पल्मोनोजी, युरोलोजी तथा लिभर सर्जरी र जिआई सर्जरी उक्त सेन्टरमा गर्ने गरी निश्चित गरिसकिएको छ ।

उहाँले कीर्तिपुरको जग्गा त्रिविको आफ्नै भएकाले दुवाकोटको वीर अस्पतालको विस्तारित कार्यक्रमको लागतभन्दा सस्तो पर्ने बताउनुभयो । ‘तर यो लगानी नोक्सान जाने खालको होइन,’ भक्तपुरको दुवाकोटमा पनि वीर अस्पतालको विस्तारित सेवा सुरु गर्ने गरी काम अघि बढिरहेको छ ।आइओएमका अधिकारीहरू भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा या आइओएमको कीर्तिपुरस्थित स्पेसियालिटी सेवामध्ये स्वास्थ्यको रोजाईमा दुवाकोट नै परेको बताउँछन्।

देशकै उत्कृष्ट रिफरल सेन्टरका रूपमा विस्तार गर्नुपर्ने आइओएमका शिक्षण अस्पतालका सेवा तथा भौतिक संरचनामा सुधार गर्ने प्रयास भइरहेको डिन डा शाहले बताउनुभयो । उहाँले सर्वसाधारणको सुविधाका लागि अनलाइन टिकट सुरु गरिए पनि त्यसलाई प्रभावकारी बनाउने, शुल्क तिर्ने प्रक्रियालाई सुविधाजनक बनाउन ई सेवा, फार्मेसीलाई सुधार गर्ने प्रयास स्वरूप अस्पतालकै स्वामित्वमा फार्मेसी सञ्चालन जस्ता कामहरू सुरु भइरहेको बताउनुभयो ।

डा शाहले ढल, पार्किङ, होस्टेल लगायतका भौतिक संरचना बनाउने तथा सुधार गर्ने प्रक्रिया सुरु गरिसकेको र इमर्जेन्सीलाई पनि सुधार गर्न लागेको जानकारी दिनुभयो । ‘इमर्जेन्सी विधाको पठनपाठन सुरु गर्दैछौं, आइसियुमा बेड बिस्तार गरेका छौँ तर सम्बन्धित जनशक्ति नभएकाले त्यसलाई बढाउने तर्फ कार्यक्रमहरू तय गरेकाछौं,’ उहाँ भन्नुहुन्छ, ‘सेवा बिस्तारअनुसार दरबन्दी र जनशक्ति नभएकाले समस्या पूर्ण रूपमा समाधान भैनसकेको भएपनि जनशक्ति थप्न पहल गर्दैछौं ।’

‘जटिल रोगका बिरामी बिदेसिनुपर्ने बाध्यता कम हुँदै गएको छ । नेपालकै उत्कृष्ट जनशक्ति शिक्षण अस्पतालमा भएकाले नागरिकलाई कसरी सर्वसुलभ सेवा दिने भन्ने हाम्रो प्रयास रहनेछ,’ डिन शाहले भन्नुभयो स्थान अभावका कारण ओपिडीमा पनि आवश्यकताअनुसार सेवा दिन सकिएको छैन । दैनिक रूपमा मिर्गौला प्रत्यारोपण लगायतका जटिल शल्यक्रिया गर्ने दक्ष जनशक्ति हुँदा हुँदै अप्रेशन गर्ने कक्ष (स्थान) अभावका कारण हप्तामा एक दिन मात्र मिर्गौला प्रत्यारोपण कार्यक्रम लगायतका अन्य कार्यक्रमहरू पनि त्यसरीनै पालो कुर्न बाध्य छौ ।

यस तर्फ सरकारले समयमै ध्यान दिएर एकले अर्कालाई देखाउने हैन यो देशको उत्कृष्ट चिकित्सा शिक्षाको थलो हो भन्ने प्रमाणित गर्न लागि परोस् । योजना अनुरूपको काम गर्न स्थान, जनशक्ति र उपकरण भएको खण्डमा देशकै नमुना शैक्षिक तथा स्वास्थ्य संस्थाको रूपमा आईओएमले भूमिका खेल्न सक्ने डा.शाहले बताउनुभयो ।

उहाँले हाल सम्म यस संस्थानले स्नातक तहका एमबिबिएस, बीडिएस, बीपीएच लगायतका विभिन्न कार्यक्रम अन्तर्गत जम्मा २६ हजार १ सय ६३ जना र स्नातकोत्तर तथा विधवानिधि तहका ४ हजार ९ सय ५६ स्वास्थ्य जनशक्ति उत्पादन गरिसकेको छ । त्यसैगरि आईओएमको सम्बन्धन प्राप्त कलेजहरूबाट ९ हजार ४ सय स्वास्थ्य सम्बन्धी जनशक्ति उत्पादन भइसकेको छ । यी नै उत्पादित जनशक्तिले देशभित्र बाहिर रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य, शिक्षण संस्थाहरूमा शिक्षा तथा स्वास्थ्य सेवा पुराउँदै आएका छन् । साथै विभिन्न सरकारी तथा गैरसरकारी निकयहरुमा पनि नीति निर्माण र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्