नागरिकता विधेयकप्रति एमाले सकारात्मक



काठमाडौंं ।

सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकप्रति आफूहरू सकारात्मक रहेको बताउनुभएको छ ।

यद्यपि उहाँले सरकारले लामो बहस र छलफल भएको विधेयकलाई छोडेर फरक ढंगले विधेयक ल्याउने परिपाटी गलत भएको बताउनुभयो । उहाँले नेपालीसँग विवाह गरेर आउनलाई नागरिकता दिन सात वर्ष प्रावधान राख्नुपर्ने एमालेको धारणा रहेको बताउनुभयो । गैरआवासीय नागरिकलाई नागरिकता दिने विषय आफूले नै समावेश गराएको दाबी गर्दै भट्टराईले भन्नुभयो– ‘हामी लामो समयसम्म अल्झिएर रहेको नागरिकता विधेयकलाई पारित गर्ने पक्षमा छौं ।’

नागरिकताविहीन नेपालीलाई नागरिकता प्रदान गर्ने मुख्य उद्देश्यसहित संसद्मा विचाराधीन विधेयक पारित गराउन सरकारले सहमति जुटाउने कार्य शुरू गरेको हो ।सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गराएको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको उक्त प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

सरकारले यही असार २४ गते उक्त विधेयक फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको हो । सोही विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री बालकृष्ण खाँणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ ।लामो समय संसद्मा नागरिकता विधेयक विभिन्न बहानामा अल्झिएर बस्दा अन्योलता बढाएको भन्दै नागरिकता विधेयक पारित गर्नुपर्ने विषयमा सत्तारुढ दलहरूबीच सहमति जुटिसकेको छ ।

नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिकबाहेकका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्बोधन गर्ने तयारी गरेको छ ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने विधेयकमा उल्लेख गरिएको छ ।

यसैबीच नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाँणले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसँग भेटघाट गर्नुभएको छ । प्रचण्डको स्वकीय सचिव रमेश मल्लले नागरिकता विधेयक पारित गर्ने विषयमा प्रचण्ड र गृहमन्त्रीबीच कुराकानी भएको पुष्टि गर्नुुभयो ।
यसअघि आइतबार गृहमन्त्री खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता सुवास नेम्वाङको निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो ।

नागरिकतासम्बन्धी नयाँ विधेयकले अहिले देखिएको नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्ने सरकारको दाबी छ । विधेयक पारित भएमा नागरिकता नपाएका लाखौं युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पु-याउने सरकारको अपेक्षा छ ।विगतमा नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट सदनमा पेस भए पनि दलहरूबीच सहमति जुट्न नसक्दा संसद्बाट पारित हुन सकेको थिएन ।

नागरिकताजस्तो संवेदनशील विषयलाई छिटो टुंगो लगाउनु पर्नेमा जोड दिँदै जसपाका सांसद राजकिशोर यादवले भन्नुभयो– ‘समयमा नै विधेयक पारित हुन नसक्दा नेपाली नागरिक नै नागरिकताबाट वञ्चित हुनु विडम्बना हो, विगतकोजस्तो यसपटक थन्क्याउने काम नहोस्, जसरी पनि विधेयक पारित हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्