कामपाको बजेट पारित



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको नगर सभा ११औँ अधिवेशन सकिएको छ । असार ५ गतेबाट शुरू भएको अधिवेशनमा महानगरका प्रमुख बालेन्द्र साहले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।

असार ८ गते बसेको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।असार १० गते सम्पन्न सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९-०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपियाँको अनुमानित बजेट पेस गर्नुभएको थियो । त्यसै गरी बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख साहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेस गर्नुभएको थियो ।
यसरी पेस गरिएको बजेट तथा कार्यक्रममाथि असार १७, २२ र शुक्रबार बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर आगामी आबको बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित ग-यो । सभा पेस भएको आर्थिक विधेयक असार १७ गते बसेको चौथो बैठकबाट पारित भएको थियो ।

पारित नीति, बजेट तथा कार्यक्रमले आगामी वर्षमा महानगरका गतिविधिहरू थप संस्थागत हुँदै जाने बैठकका अध्यक्ष एवं महानगरका प्रमुख साहले विश्वास व्यक्त गर्नुभयो । ‘सभामा पेस भएका सबै प्रस्तावहरू छलफल गरी सर्वसम्मत पारित भयो’, अधिवेशनका विषयमा प्रतिक्रिया दिँदै उपप्रमुख एवं बैठकका उपाध्यक्ष सुनिता डंगोलले भन्नुभयो– ‘मागका रूपमा आएका विषय लिखित रूपमा आएका छन् । यसले संस्थागत आचरणलाई टेवा पु-याउँछ ।’

त्यस्तै, न्यायिक समितिका सदस्यहरूको पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ । निर्वाचनबाट वडा २९ का अध्यक्ष कुश ढकाल र वडा ११ की महिला सदस्य आशा श्रेष्ठ रौनियार निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरूलाई महानगरका प्रमुख साहले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । त्यसै गरी निर्वाचन अधिकृत दीपक अधिकारीले न्यायिक समितिको सदस्यमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

नेपालको संविधानको धारा २१७ मा स्थानीय विवादको समाधान गर्न ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । जसमध्ये उपप्रमुख संयोजक हुने र बाँकी २ जना नगर सभा सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । अधिवेशनको पाँचांै अधिवेशनबाट महानगरका निर्देशक दिपक अधिकारीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो ।

बैठकले भवन मापदण्ड २०७५ मा केही संशोधन गरिएको छ । महानगरमा पार्किङको लागि छुट्टै नीति नभएकोले पार्किङ व्यवस्थापनलाई सहज बनाउन मापदण्डमा संशोधन गरिएको हो । मापदण्डअनुसार बहुमतले पार्किङको फ्लोर एरिया रेसियो लाई ४ कायम गरिएको छ । सेडब्याक छोडेर बाँकी सबै जमिनमा निर्माण कार्य गर्न पाइनेछ ।

मेकानिकल र स्टिल स्ट्रक्चरमा थप १ फार उपलब्ध हुनेछ । यो मापदण्ड स्मारक क्षेत्रमा भने लागु हुने छैन । संशोधनअनुसार महानगर आफैंले चार किल्ला तोकेर सम्पदा क्षेत्र बनाउन सक्ने त्यसका लागि छुट्टै मापदण्ड बनाउन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्