श्रीलंकेली आन्दोलनकारीले राष्ट्रपतिलाई सरकारी निवासबाट भगाए

प्रधानमन्त्रीको नेतृत्वमा दलका नेताहरूको आपत्कालीन बैठक



काठमाडौं ।

वैदेशिक मुद्राको अभावमा चरम आर्थिक समस्या भोगिरहेको श्रीलंकामा आन्दोलनकारीहरूको विशाल भीडले राष्ट्रपतिलाई शनिबार सरकारी निवास छोडेर भाग्न बाध्य बनाएको छ ।

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो सरकारी निवासबाट भागेका हुन् । राष्ट्रपति राजापाक्षे निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवास परिसरमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई सुरक्षा घेरामै राखेर निवासबाट बाहिर लगिएको हो’ – रक्षा स्रोतले भन्यो । आक्रोशित भीडलाई राष्ट्रपतिको निवासमा प्रवेश गर्नबाट रोक्न सुरक्षाकर्मीले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।

हजारौं प्रदर्शनकारी प्रहरीको घेरा तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेका थिए । सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भीड राष्ट्रपति निवासतर्फ बढेको थियो । प्रदर्शनकारीले स्वस्फूर्त रूपमा अवज्ञा गरेपछि सरकारले कफ्र्यु हटाएको घोषणा गरेको थियो ।

हजारौंको संख्यामा रहेको भिडमा अधिकांशको हातमा देशको झण्डा रहेको देखिन्छ । सबै आक्रोशित र गम्भीर मुद्रामा रहेको स्थानीय टेलिभिजनले खिचेका भिडियो तस्बिरमा देखिन्छ । समाचार संस्था एपीका अनुसार सरकारी प्रवक्ता मोहन समरनायकेले राष्ट्रपतिको पछिल्लो अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

राष्ट्रपति राजापाक्षेको राजीनामा विगत तीन महिनादेखि निरन्तर माग्दै आन्दोलन अघि बढाउँदै आएका श्रीलंकेली नागरिकलाई यति आक्रोशित बनाउने काम स्वयं राजापाक्षेबाटै भएको आन्दोलनकारीहरूको भनाइ पनि टेलिभिजन रिपोर्टमा देखाइएको छ । भीडले ‘गोटा गो होम’ को नारा घन्काइरहेको छ ।
एपीको रिपोर्टमा श्रीलंकेली नागरिक जसरी समुद्रको छालजस्तै राष्ट्रपतिको निवासमा प्रवेश गरे त्यसले उपनिवेशकालमा अङ्ग्रेज सत्ताको विरोध गर्दै संसद् भवनमा दौडिएका नागरिकको लहरको स्मरण गराउँथ्यो ।

राष्ट्रपति भवनमा प्रवेश गर्ने ३४ आन्दोलनकारी र उनीहरूलाई रोक्ने दुई प्रहरी घाइते भएको पनि समाचारमा जनाइएको छ । घाइतेमध्ये दुई आन्दोलनकारी गम्भीर रहेको र स्थानीय कोलम्बो राष्ट्रिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आन्दोलन मूल रूपमा शान्तिपूर्ण रहेको पनि न्युज एजेन्सीहरूले उल्लेख गरेका छन् ।

विगतका आन्दोलनमा राजधानी कोलम्बोमै रहेका नागरिक सहभागी हुने गरेकोमा शनिबार भने बाहिरका निकटवर्ती क्षेत्रबाट पनि नागरिक ओइरिएको एपीले उल्लेख गरेको छ ।
श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएका छ । इन्धन अभावमा विद्यालय बन्द छन् । चरम मुद्रास्फीतिको मारमा रहेका जनता खाद्यान्न, इन्धन र औषधिको अभावमा छन् ।

केही दिन अघि राष्ट्रपति राजापाक्षेले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग इन्धन सहयोग मागेका थिए । सार्वभौम युक्रेनमाथि एकपक्षीय रूपमा अन्धाधुन्ध आक्रमण गरी मानवीय तथा भौतिक क्षति पु¥याएका कारण रसियाप्रति विश्व नै आक्रोशित भएका बेला उनले मागेको सहयोगको पनि आलोचना भएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटबारे छलफल गर्न श्रीलंकाका राजनीतिक दलका नेताहरूको आकस्मिक बैठक बोलाएका छन् । उनले सभामुखलाई संसद् बोलाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्