नयाँ नेता नआएसम्म प्रधानमन्त्री पदमा रहिरहने

बेलायतका प्रधानमन्त्री जोन्सनद्वारा राजीनामा



काठमाडौं ।

तीन वर्षअघि बेलायतका प्रधानमन्त्री बनेका बोरिस जोन्सनले बिहीबार कन्जरभेटिभ पार्टीको नेतृत्व त्याग्नुभएको छ । सत्तारुढ दलको नेतृत्व त्यागेसँगै प्रधानमन्त्रीका रूपमा उहाँको कार्यकाल पनि सकिने भए तापनि पार्टी नेताको पदबाट राजीनामा दिनुअघि उहाँले राष्ट्रको नाममा सम्बोधन गरेर नयाँ नेता छानिएर नआएसम्म आफू प्रधानमन्त्री पदमा कायमै रहने बताउनुभएको छ ।

राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘नयाँ नेता छान्ने प्रक्रिया आगामी साताबाट शुरू हुनुपर्छ । जबसम्म नयाँ नेता चुनिएर आउँदैन, तबसम्म म प्रधानमन्त्री पद सम्हाल्दै जनताको सेवा गर्नेछु ।’ उहाँले नयाँ नेतालाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । सम्बोधनमा उहाँले बेलायती जनतालाई सबै कुराको लागि धन्यवाद दिंदै सबै एक साथ रहे सबैको भविष्य सुनौलो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार जोन्सनले राजीनामा दिएपछि अब कन्जरभेटिभ पार्टीको नेता पदका लागि प्रतिस्पर्धा शुरू हुनेछ र आगामी अक्टोबरमा हुने पार्टी सम्मेलनले नयाँ प्रधानमन्त्रीको घोषणा गर्नेछ र त्यतिन्जेलसम्म जोन्सन प्रधानमन्त्री पदमा कायमै रहनेछ । तर, कन्जरभेटिभ पार्टीका नेता निक गिबले जोन्सनले जतिसक्यो छिटो सत्ता छाड्नुपर्ने बताउनुभयो । सोही पार्टीका पूर्व स्कटिस नो रुथ डेविडसनले ट्विट गर्दै जोन्सन अक्टोेबरसम्म पदमा रहन्छ भनेर सोच्नु पनि सत्यलाई झुलाउनुजस्तै हुने टिप्पणी गर्नुभएको छ । उहाँले जोन्सन अक्टोबरसम्म पदमा रहिरहने कुनै सम्भावना नभएको दाबी गर्नुभएको छ ।

पछिल्लो २ दिनमा प्रधानमन्त्री जोन्सनका थुप्रै मन्त्रीहरूले राजीनामा दिइसकेका छन् भने थुप्रै सांसदहरू उहाँविरुद्ध उभिएका छन् । वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले जोन्सनको नेतृत्वमा आफूलाई विश्वास नभएको भन्दै गत मंगलबार पदबाट राजीनामा दिएसँगै अन्य मन्त्रीहरूले पनि राजीनामा दिएका हुन् ।

यौन काण्डमा मुछिएका सांसद क्रिन्स पिन्चरलाई प्रधानमन्त्री जोन्सनले गत फेब्रुअरीमा पार्टीको उपप्रमुख बनाएपछि जोन्सनमाथि संकट शुरू भएको हो । प्रधानमन्त्री जोन्सनले आफूलाई उक्त काण्डको बारेमा थाह नभएको जिकिर गर्दै नियुक्तिमा गल्ती भएको स्वीकार गर्दै माफी मागे तापनि उहाँका मन्त्री तथा विपक्षी सांसदहरूका साथै उहाँको आफ्नै पार्टीका सांसदहरू पनि उहाँविरुद्ध खनिएका हुन् ।

गत जुन ३० मा बेलायतको समाचारपत्र ‘द सन’ ले सांसद पिन्चरले लन्डनको एउटा निजी क्लबमा २ जना पुरुषलाई आपत्तिजनक ढंगले छोएको समाचार छापेको थियो । उक्त समाचारका कारण पिन्चरले पदबाट राजीनामा दिनुपरेको थियो । तर, त्यसको केही दिनभित्रै बेलायतका सञ्चारमाध्यमहरूमा पिन्चर संलग्न ६ वटा कथित यौन दुव्र्यवहारका घटनाहरू सार्वजनिक भएको थियो ।

पिन्चरलाई पार्टीबाट पनि निलम्बित गरिएको थियो । तर, गत ४ जुलाईमा प्रधानमन्त्री जोन्सनका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले पिन्चरको बारेमा लागेका आरोपबारे पूर्व जानकारी भएको तर आरोप पुष्टि नभएकोले नियुक्ति दिएको बताएपछि संकट चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्