कोभिड बढेको कि परीक्षण बढाइएको ?



काठमाडौं । 

नेपालमा एकाएक कोरोना संक्रमितको संख्या वृद्धि भएको छ । असार २० गते ४० जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २१ गते ९० जना र २२ गते पुग्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक गरेको छ ।

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षणमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको कुरा बताइरहँदा स्वास्थ्य मन्त्रालयले यो रिपोर्ट थप अनुसन्धान भइरहेको र विश्व स्वास्थ्य संगठनले पुष्टि नगरी सार्वजनिक गर्न नमानेको अवस्था छ । यता काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत् हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको तीन दिनअघि नै पुष्टि गरिसक्नुभएको छ ।

यस विषयमा राष्ट्रिय प्रयोगशाला टेकुका निर्देशक डा.रुना झाले सोमबार रिपोर्ट सार्वजनिक हुने बताउनुभएको भए पनि हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छैन । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार नेपालमा देखिएको कोरोनाको नयाँ उपप्रजातिका विषयमा विश्व स्वास्थ्य संगठनसँग छलफल भइरहेको र विश्व स्वास्थ्य संगठनले आफ्नै ल्याबमा परीक्षण गरेर प्रमाणित भए मात्र सार्वजनिक गर्ने भएकाले केही समय लाग्ने बताएका छन् ।

नेपालमा कुनै रोगको पहिचान भए पनि विश्व स्वास्थ्य संगठनको मुख ताक्नुपर्ने परम्परा कायमै भएका कारण हालसम्म के कति जनामा नयाँ उप्रजातिको कोरोना भाइरस नेपालमा देखिएको छ भन्न नसकिने अवस्था रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।विगतमा जस्तै महामारी नफैलिए पनि यो उपप्रजातिको संक्रमण कुन अवस्थामा छ भन्नेबारेमा एकीन नभएका कारण जनमानसमा छिटो फैलिएर पहिलाकै अवस्था आउने त हैन भन्ने आम नागरिकको चासोको समयमै निवारण गरी स्वास्थ्य सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने स्वास्थ्य मन्त्रालय आफैं मौन बस्नुले नेपाली नागरिककमा अन्योल छाएको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ ।

नेपालमा २०७६ साल माघ ९ गते पहिलो कोभिड १९ को बिरामी चीनबाट नेपाल आई परिक्षण गर्दा कोडिड पुष्टि भई निको हुँदासम्म नेपाल सरकारले कोभिडका बारेमा आम नागरिकलाई गोप्य नै राखेको स्मरण गर्दै स्वास्थ्य विज्ञहरूले समयमै रोगका बारेमा नागरिकलाई सचेत गराई सुरक्षा अपनाउने तर्फ सरकारको ध्यान पुग्नुपर्ने बताउँछन् ।

पछिल्लो समय स्थानीय निर्वाचन, आकासिएको बजार भाउ, कृषिमा रासायनिक मलको अभावले उत्पादमा हुने कमी, नयाँ स्थानीय सरकारको नीति नियम र नयाँ उपप्रजातिको कोरोना भाइरस पुष्टिले कतै विगतमा जस्तै लकडाउन र खाद्य अभावमा पिल्सिनु पर्ने त हैन भन्दै अतालिएका छन् । यस्तो अवस्थामा सरकारले रोग लुकाएर हैन रोगको प्रकृति र सुरक्षाको बाटो देखाएर नागरिकलाई ढुक्क बनाउनुपर्ने दायित्व रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्