बैतडीमा ६ महिनामा ३० हिंसाका घटना



 बैतडी  ।

बैतडीमा ६ महिनामा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको छ ।अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी तथा मानव अधिकारको अवस्था सार्वजनिक विषयक कार्यक्रममा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको हो ।

इन्सेक प्रतिनिधि नरी बडुका अनुसार जिल्लामा यो वर्षको अहिलेसम्म ३ बालिका बलात्कृत भएका, १ बालिका यौन दुव्र्यवहारको घटनाबाट पीडित भएको, ४ महिला बलात्कृत भएका, १ महिलाको परिवारबाटै हत्या भएको, २ महिला बहुविवाह र १९ महिला घरेलु हिंसाबाट पीडित भएको तथ्यांक इन्सेकले सार्वजनिक गरेका छ ।

इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला कारागारमा कैदी र थुनुवा गरी क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका पाइएको छ । २५ जना क्षमता रहेको कारागारमा अहिले ८७ जना छन् । यस्तै, जिल्लाका केही विद्यालयमा अझै पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएका प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा औजार उपकरण र आवश्यक पूर्वाधाहरु पनि पर्याप्त मात्रामा नभएको प्रदिवेदनले देखाएको छ । सरकारले निःशुल्क गरेका सबै औषधि पनि जिल्लाका स्वास्थ्य संस्थामा उपलब्ध छैनन् ।

जिल्लास्थित सरोकारवाला निकायबीच भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यस्ता कार्यक्रमले समस्याको समाधान गर्नमा सहयोग पु-याउनुपर्ने बताउनुभएको थियो । उहाँले जिल्ला कारागारको भवनका लागि माथिल्लो निकायमा पहल गर्ने विश्वास पनि दिलाउनुभयो । सडक सुविधा नभएको कारागारमा सडक पुगाउनका लागि नापजाच पनि भएको पन्थीको भनाइ छ । विद्यार्थीले पुस्तक नपाएको विषयमा पनि आफूले बुझेर समाधानको प्रयास गर्ने उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्