पनौतीका विद्यार्थीको चाहना स्थानीय तहमै पढ्ने



पनौती।

पनौती नगरपालिका र इन्द्रेश्वर क्याम्पसले हालै गरेको एक सर्भेक्षणले ८० प्रतिशत विद्यार्थी स्थानीयस्तरमै उच्च शिक्षा हासिल गर्न चाहेका देखिएको छ ।

सर्भेक्षणका संयोजक एवं इन्द्रेश्वर क्याम्पसका सहायक प्रमुख जयराम कर्मचार्यका अनुसार मुख्य गरी नयाँ–नयाँ विषयको अध्ययन नहुने भएकााले पनि नगरका विद्यार्थी उच्च शिक्षाका लागि नगरबाट बाहिरिने गरेको पाइएको छ ।

पनौती नगरभित्र रहेको इन्द्रेश्वर, तेजगंगा र कुशादेवी तीन क्याम्पसमध्ये इन्द्रेश्वर र तेजगंगामा मात्र स्नाकोत्तरसम्मको अध्ययन हुन्छ । यी दुई क्याम्पसको स्नाकोत्तर तहमा पनि शिक्षा र व्यवस्थापन संकायमा मात्र अध्यापन हुन्छ । स्नातक तहमा विज्ञान विषय छैन । पनौती नगरमा उच्च शिक्षा अध्ययन गर्न चाहने ६० प्रतिशत भन्दा बढी परिवारको आम्दानीको स्रोत कृषि रहेको पाइएकाले ती परिवारको आम्दानीको स्रोत बढाउन नगरले व्यावसायिक र आधुनिक कृषिमा ध्यान पु¥याउनुका साथै छात्रवृत्तिमा समेत चसो राख्नुपर्ने देखिएको छ ।

गुणस्तरीय शिक्षा, रोजगारी, अभिभावकको शिक्षा, क्याम्पसको शुल्क, शैक्षिक संरचना, छात्रवृत्ति आदिलाई आधार मानेर विद्यार्थीले उच्च शिक्षाका लागि क्याम्पस छनोट गरेको सर्भेक्षणका क्रमममा पाइएको संयोजक कर्माचार्यले बताउनुभयो । सर्भेक्षणले पनौतीमा भौतिक पूर्वाधार सन्तोषजनक पाइएको देखाएको छ । इन्द्रेश्वर क्याम्पस समुदायमा आधारित सामुदायिक सहभागिताको पहिलो क्याम्पस भएकाले सामाजिक उत्तरदायित्वको सम्झेर सर्भेक्षण गरिएको संयोजक कर्माचार्य बताउनुहुन्छ ।
सर्भेक्षणमा शैक्षिक योग्यता, विद्यार्थीको योजना, क्याम्पस छनोटको आधार, गुणस्तरीय शिक्षाका लागि सुझाव, स्थानीय सरकारले गर्नुपर्ने भुमिका, रोजगारीको स्थिति, आम्दानी आधार मानिएको थियो । कक्षा १२ मा अध्ययनरत १ सय ६२ जना विद्यार्थी सर्भेक्षणमा सहभागी थिए । सर्भेक्षणबाट पनौतीको शिक्षण संस्थामा पढ्न पढाउन, सिक्न सिकाउन, टिक्न÷टिकाउन, बिक्न-बिकाउन प्रोत्साहन गर्ने सन्देश प्राप्त भएको संयोजक कर्माचार्य बताउनुहुन्छ ।

सर्भेक्षणबाट प्राप्त नतिजा सहितको प्रतिवेदन सोमबार नगरप्रमुख रामशरण भण्डारीलाई बुझाइएको थियो । सर्भे रिपोर्ट बुझ्दै नगरप्रमुख भण्डारीले भन्नुभयो– ‘पनौती नगरले शिक्षालाई विशेष प्राथमिकता दिएको र विद्यार्थीलाई सिकाउ, टिकाउ र विकाउको नीति लिएको छ ।’

शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका सबैसँग हातेमालो गर्दै अघि बढ्ने भन्दै उहाँले सामुदायिक विद्यालयहरूको गुणस्तर बढाउन पनि नगरले विशेष ध्यान दिएको बताउनुभएको थियो । पनौती नगरलाई शैक्षिक हबका रूपमा विकसित गर्न नीति, रणनीति एवं बजेटसहितको क्रियाकलप अघि बढाउनुका साथै समयअनुसार नयाँ–नयाँ विषयको अध्ययन अध्यापन गराउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्