४० वर्षीया सेरेना विम्बल्डनमा भिड्दै



577969599ST00102_2016_Austr

एजेन्सी ।

अमेरिकी टेनिस क्विन सेरेना विलियम्स ४० वर्षको उमेरमा विम्बल्डनमा खेल्दै छिन् ।सोमबारबाट सुरु भएको १ सय ३५ औं संस्करणको विम्बल्डनमा उनले २१औं पटक खेल्दै छिन् । गत वर्ष विम्बल्डनमा तिघ्रामा चोट बोकेपछि उनले एउटा पनि म्याच खेल्न नपाई कोर्ट छोड्नुपरेको थियो ।

यसपटक विम्बलडनमा पुनरागमन गर्न पाउँदा उनी निकै उत्साहित छिन् । २३ वटा ग्रान्डस्लाम जितेकी सेरेनाले भने, ‘गत साल विम्बलडनमा खेल्दा मैले फेरि कमब्याक गर्छु भनेर सोचेको थिइन् । तर, अहिले पुनरागमन गर्न सकेकोमा धेरै उत्साहित छु । गत वर्ष इन्जुरीका कारण खेल्न सकिनँ, जुन कसैले सोचेको थिइनँ पनि होला ।’

सेरेना यसपटक नयाँ प्रशिक्षक एरिक ह्याचम्यानसँगै कोर्टमा उत्रिँदै छिन् । ह्याचम्यान युनिभर्सिटी अफ मियामीका टेनिस खेलाडी थिए । उनले सन् २०१९ देखि भेनस विलियम्सलाई पनि प्रशिक्षण दिँदै आएका छन् । सेरेनाको दिदी भेनसले पनि गत वर्ष ४१ वर्षको उमेरमा विम्बल्डनमा खेलेकी थिइन् । तर, यसपटक भने उनी प्रतिस्पर्धामा छैनन् । ह्याचम्यान र विलियम्स दिदीबहिनीबीच पछिल्ला १५ वर्षदेखि चिनजान छ । यसअघि फ्रान्सका हाई–प्रोफाइल प्रशिक्षक प्याट्रिक मोराटोग्लू १० वर्षदेखि सेरेनाको प्रशिक्षक रहेका थिए । अहिले उनी सिमोना हालेपका प्रशिक्षक बनेका छन् । सेरेनाको उमेर ४० वर्ष होस् वा उनीसँग नयाँ प्रशिक्षक, तर उनको लक्ष्य भनेको विम्बल्डनको उपाधि आठपटक जित्नु नै हो । उनले २००२, २००३, २००९, २०१०, २०१२, २०१५ र २०१६ मा गरी सातपटक विम्बल्डन उपाधि जितेकी थिइन् ।
विम्बलडनको इतिहासमा सबैभन्दा पाको उमेरमा उपाधि जित्ने महिला खेलाडीको श्रेय भने मार्टिना नभ्रातिलोभालाई जान्छ । उनले २००३ मा ४६ वर्षको उमेरमा पनि विम्बलडनको ग्रान्डस्लाम मिक्स्ड डबल्स इभेन्टमा उपाधि जितेकी थिइन् । नभ्रातिलोभा सर्वाधिक नौ पटक विम्बलडनको उपाधि जित्ने एक मात्र महिला खेलाडी पनि हुन् ।

महिला एकलमा १२ पटक विम्बल्डनको फाइनल खेलेकी उनले नौ पटक उपाधि आफ्नो पोल्टामा पारेकी थिइन् । सबैभन्दा पाको उमेरमा विम्बल्डनमा खेल्ने पुरुष खेलाडी भने रोजर फेडरर हुन् । गत वर्ष ४६ वर्षको उमेरमा विम्बलडन टेनिसको तेस्रो राउन्डमा खेल्ने उनी अहिलेसम्म एक्लो र पाको खेलाडी हुन् । सेरेना विलियम्सले मंगलबार आफ्नो उपाधि जित्ने अभियान शुरु गर्दै छ । यसपटक उनले पहिलो राउण्डमा फ्रेन्च खेलाडी हरमोनी टेनको सामना गर्दै छिन् । टेन वर्तमान टेनिस वरीयताको ११३औं स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्