एकीकृत समाजवादीका चार मन्त्रीले सिफारिस भएको २३ दिनपछि शपथ



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका चार मन्त्रीले सिफारिस भएको २३ दिनपछि शपथ लिएका छन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिएका हुन् । एकीकृत समाजवादीकै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको छ ।

सोमबार राष्ट्रिपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हीरा केसी पहिलोपटक राज्यमन्त्री बन्नुभएको छ ।

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले स्वयम्भूदेखि हनुमान ढोकासम्म सम्पदा पदमार्ग बनाउने घोषणा गर्नुभएको छ । उहाँले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न तथा दुई सम्पदा जोड्नका लागि सम्पदा पदमार्ग बनाउने घोषणा गर्नुभएको हो ।सोमबार मन्त्रालयमा पद बहाली गर्दै उहाँले स्वयम्भूदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभयो । स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९-८० का लागि बजेटसमेत छुट्याएको छ ।

यसै गरी उहाँले कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेस गर्ने निर्णयसमेत गर्नुभएको छ । मन्त्री श्रेष्ठले विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेस गर्ने निर्णय भएको बताउनुभयो ।नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले इमानदारीतापूर्वक काम गरेर परिवर्तनको प्रत्याभूति दिलाउने बताउनुभएको छ । सोमबार राष्ट्रपतिबाट सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले यसअघिका मन्त्रीले शुरू गरेका कामलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो । ‘हाम्रो स्टार्टिङ प्वाइन्ट जिरोबाट शुरू हुँदैन । यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका छन् भने बाँकी रहेका कामबाटै म काम शुरू गर्छु र १०० मा पु¥याउँछु’ –उहाँले भन्नुभयो ।

आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरूपयोग नगर्ने बताउनुभयो ।यसैबीच नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले सरकारले ग्लोबल फन्डको रकम सीधै स्वास्थ्य मन्त्रालय मातहत ल्याउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार अब यो प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नेछ । हाल ग्लोबल फन्डको रकम गैरसरकारी निकाय सेभ द चिल्ड्रेनमार्फत् खर्च हुँदै आएको थियो । तर, सन् २०२४ मा शुरू हुने नयाँ साइकलका लागि ग्लोबल फन्डको रकम सरकार मातहत नै खर्च हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको प्रवक्ता डा. मिश्राले जानकारी दिनुभयो ।

सोमबार नै स्वास्थ्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेका खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताउनुभयो । उहाँले क्यान्सर, मुटु, मिर्गौलाजस्ता रोगको उपचारमा विशेष महत्व दिने पनि घोषणा गर्नुभयो ।यसैबीच गैरसांसदबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका शेरबहादुर कुँवरले पनि सोमबार नै मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्