खोडपेमा खानेपानीको चरम अभाव, दमकलबाट आपूर्ति



बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रूपमा रहेको बैतडीको पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको १० दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।

खानेपानीको आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको थियो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हात त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन विष्टले बताउनुभयो ।

खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुहरुलाई समेत समस्या हुने गरेको छ । खोनेपानीको समस्या भएपछि निकै समस्या भएको होटेल व्यवसायी सन्तोष राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘खानेपानी नभएकै कारणले १० दिनदेखि होटेलको व्यापार सुस्ता छ, यसले गर्दा निकै घाटा व्यहोर्नुपरेको छ ।’

खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरीश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्युतीय समस्याका कारण खानेपानी बन्द भएको हो । कम भोल्टेजको विद्युत् पर्वाह भइरहेकाले मोटरले काम गरेको छैन । विद्युत् वितरण केन्द्रलाई खबर गरेका छौं, प्राविधिक टोली आएर मर्मत गरिरहेकाले छिट्टै समाधान हुन्छ ।’

यसै बीच, खोडपेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको छ । १० दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन लागिएको हो । खोडपे बजार क्षेत्रमा खानेपानीको चरम समस्या उत्पन्न भएपछि दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पाटन–८ का वडाध्यक्ष हरीश विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘बजारमा खानेपानीको चरम अभाव भएपछि नगरपालिकाको दमकलबाट हामीले खानेपानी आपूर्ति गर्न थालेका छौं, यसले केही राहत मिलेको छ ।’लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदै आएकाले खोडपेमा खानेपानीको अभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्