पुराना नामावलीमा भएको त्रुटि सच्याउन सकिने



काठमाडौं । 

निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो ।

अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप मतदाता नामावलीको विवरण अद्यावधिक गर्न सकिने प्रबन्ध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।त्यसका लागि देशभरका ७० वटा जिल्ला निर्वाचन कार्यालयमा निर्देशन दिइसकेको छ । बाँकीको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालयमार्फत् अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ ।

मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने पनि आयोगले जनाएको छ ।कुनै मतदाताले विवाह वा बसाइँसराइका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

त्यसरी निवेदन दर्ता भएमा सम्बन्धित निर्वाचन कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित प्रमाणसमेत स्क्यान गरी पठाउने पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।कुनै मतदाताले वडाको मतदानस्थलबाट आफूलाई पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम स्थान्तरण गर्न चाहेमा पनि सोको पनि व्यवस्था गरिएको छ । २०७३ साल माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदातामा नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा मतदाता नामावली सार्न जिल्लास्थित निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नागरिकतामा ठेगाना भएको स्थानीय तहमा नाम सार्न पनि प्रबन्ध गरिएको छ ।

त्यसै गरी कुनै मतदाताको मृत्यृ भएको, नागरिकता त्याग गरेको वा विवाह वा बसाइँसराइ गरी मतदाता नामावलीबाट नाम हटाउने निवेदन दिएमा नाम दर्ता अधिकारीले कानुनबमोजिम सम्बन्धित वडा कार्यालयमा सात दिनको म्याद दिएर सूचना टाँस गर्नुपर्नेछ । सो उपर उजुरी पेस भएमा प्रमाणबमोजिम र उजुरी नआएमा सोहीअनुरूप मतदाता नामावली अद्यावधिक गर्ने पनि आयोगले जनाएको छ ।
त्यस्तै, दोहोरो नाम दर्ता भएमा त्यसको रुजु गरी पछिल्लो दर्ता भएको नामलाई कायम गरी फरक जिल्लाको हकमा आयोगमा लेखी पठाउन पनि आयोगले निर्देशन दिएको छ ।

निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली अद्यावधिक गर्न नहुने कानुनी बाध्यता रहेको जनाउँदै आयोगले प्रदेश र संघको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई अहिलेको मुख्य प्राथमिकतामा राखेको छ ।मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ । आसन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न बढीमा डेढदेखि दुई महिनाको समय उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्