बन्ने भयो प्रम देउवाको गृहजिल्लामा मेडिकल कलेज, दाहालको निर्वाचन क्षेत्रमा शिक्षक अस्पताल

दुवै संरचना तयार गर्ने बजेट छुट्टाइयो



काठमाडौं । 

प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रम देउवा र उहाँकी पत्नी एवं सांसद आरजु राणाले स्थानीय तह निर्वाचन प्रचारका क्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही आधारमा विश्वविद्यालय अनुदान आयोगले बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो ।

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज निर्माण, सम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । त्यस्तै, प्रम देउवाकै निर्देशनमा धनगढीको गेटा मेडिकल कलेज सञ्चालन गर्न ४४ करोड रुपियाँ बजेट छुट्टयाएको छ । दुई दिनअघि धनगढी पुगेका प्रम देउवाले गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्ने बताउनुभएको थियो । प्रम देउवाकै जोडबलमा अर्थ मन्त्रालयले गेटा मेडिकल कलेजका लागि सःशर्त पुँजीगत अनुदान शीर्षकबाट ४० करोड र चालु अनुदान शीर्षकमा ४ करोड रुपियाँ विनियोजन गरिएको छ ।
प्रम देउवाले गृहजिल्लामा मेडिकल कलेज स्थापना गर्नका लागि जग्गालगायत भौतिक पूर्वाधार तयार गर्न स्थानीय तहलाई निर्देशन दिइसक्नुभएको छ । सोही आधारमा अहिले सम्भाव्यता अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्वविद्यालय अनुदान आयोगमार्फत् उक्त रकम अर्थमा पेस गरेको हो ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षक अस्पताल निर्माणका लागि आगामी आवमा सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न ४९ लाख रुपियाँ बजेट राखिएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयद्वारा गठन गरिएको समितिले मन्त्री देवेन्द्र पौडेललाई चितवनमा अस्पताल निर्माण गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले बजेट विनियोजन गरेको हो । त्यस्तै, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा रेल्वे इन्जिनियरिङ अध्ययनका लागि पूर्वाधार विकास गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ ।

त्यस्तै, उहाँकै विशेष पहलमा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका लागि ७ करोड ७० लाख रुपियाँ ससर्त पुँजीगत अनुदान छुट्याइएको छ । बुटवल मेडिकल कलेजलाई ७ करोड ८० लाख, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयलाई ९ करोड, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास शीर्षकमा १० करोड रुपियाँ विनियोजन गरिएको छ ।त्यस्तै, पहुँच नपुगेका प्रदेश र जिल्लामा विज्ञान तथा प्राविधिक क्याम्पस विस्तार गर्न १० करोड रुपियाँ विनियोजन गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद र जडिबुटी उद्यान सञ्चालन गर्न ५० लाख रुपियाँ विनियोजन गरिएको छ । सरकारले यो वर्ष संघ र प्रदेशको निर्वाचन हुने भएपछि सो लक्षित बजेट विनियोजन गरेको हो ।

नयाँ मेडिकल कलेजलाई ६ करोड

सरकारले नयाँ मेडिकल कलेज स्थापना गर्न ६ करोड रुपियाँ विनियोजन गरिएको छ । आगामी आवमा सो रकम प्रदेशगत रूपमा नयाँ मेडिकल कलेज सञ्चालन र सम्भाव्यता अध्ययन गर्न खर्च हुनेछ । विश्वविद्यालय अनुदान आयोगमार्फत् उक्त रकम विनियोजन हुनेछ ।शिक्षा मन्त्रालयले भन्दा पनि अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा परामर्श गरी सो रकम छुट्टयाइएको हो । नागरिक अभियन्ता डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न र सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्न सरकारले सो रकम विनियोजन गरेको हो ।

आयोगले समिति बनाएर मेडिकल कलेज नभएका प्रदेशमा अध्ययन गरी गुरुयोजना तयार गर्नेछ । सरकारले आगामी आवमा गुरुयोजना तयार गरिसकेपछि मेडिकल कलेज सञ्चालन र व्यवस्थापन गर्ने विषयमा निर्णय गर्नेछ । नेपालमा सजिलै एमबीबीएस अध्ययन गर्न सहज बनाउने र उपचार गर्न ठूला शहर आउनुपर्ने बाध्यकारी व्यवस्था अन्त्य गर्न प्रदेशस्तरमै मेडिकल कलेज सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्