राजनीतिमा उदाउँदै ‘नेपाली केजरीवालहरू’ !



  •  पेशल आचार्य

धराने हर्क, धनगढीका गोपी र काठमाडौंली बालेनहरूको उदयलाई नेपाली राजनीतिमा माने-नमाने पनि नेपाली केजरीवालका नवीन संस्करण नामले पुकारिँदै छ भने तिनका उपविजेता दलीय नेता यतिखेर हतास छन् ।‘पहिला एक्सन मुभी चल्थ्यो प्रचन्ड खुब चले । फेरि कमेडी मुभी चल्यो ओली बा खुबै चले ।

अहिले फेरि इमोसनल मुभी सिरियलहरूले बजार तताएका छन् र दर्शकहरू सेन्टी भएछन् । यतिखेर हर्क साम्पाङ, बालेन शाह र गोपी हमालहरू चल्दैछन् । फिल्मी शैलीमा भइराछ जे पनि यहाँ नेपालमा ।’ कुनै अनाम व्यक्तिले यस्ता घतलाग्दा आफ्ना धारणाहरू यसरी टुइटरमा राखेका रहेछन् ।हर्क साम्पाङ् स्वतन्त्रबाट धरानको मेयरमा चुनिए । उनी उम्मेदवारी दिँदादेखि नै चर्चामा थिए तर जति चर्चा पाउनुपर्ने हो त्यति मिडियाले गरेन । धेरैजसो फेसबुक लाइभबाटै उनले आफ्ना दुःखदायी सङ्घर्षका कदमहरू र एक्लो अभियानलाई अगाडि बढाइरहेका रहेछन् ।

उनी एक्लै हिँडे र एक्ला विजेता भए तर अब स्वतन्त्र व्यक्ति भएकाले उनलाई पार्टीको आदेश पर्खिरहनु पर्दैन, जनताको आदेश माने पुग्छ । नगरपिता हुनासाथ पुरानो टेम्पो चढेर खानेपानी मुहान पुगे । हातले झाडु समातेर भानुचोकको फोहर सफा गरे । अन्तर्वार्ताका लागि आएका पत्रकारहरूलाई ग्लोब र माक्स लगाएकै अवस्थामा कुराहरू राखे । यी उनका शालीनता हुन् ।उनले भने – ‘जनताले दिएको भोट मेरा लागि सम्मान हो । खादा, माला, अबिर मलाई पर्दैन, म काम गर्न आको हो । मलाई सम्मान गर्न र भाषण गर्न नबोलाइदिनुस् । मलाई भुल्याइदिनुभयो भने मैले धराने जनतालाई पानी खुवाउन सक्दिनँ कि ?’ यता बालेन मेयर भएको चौबिस घन्टा नबित्दै काठमाडौंको फोहरको समस्या हल गर्न डम्पिङ् साइट धुनीबेंसी र बन्चरे पुगे ।

धराने हर्क, काठमाडौंली बालेन र धनगढीका गोपीहरूले जनताका दिल दिमागमा आफ्नो स्थान बनाएर जितको उत्सव मनाए । बालेन शाहबाहेक अरू तीनजना मेयरहरूका बारे समाजका नाम कमाएका विभिन्न नाम र प्रवृत्तिका पात्रहरू हात धोएरै लागेको सुनिएन । मात्र बालेन सन्दर्भमा तिनीहरू कोर सिटीमा बालेन पछि पर्छन् भन्दै सञ्चार माध्यममा विषय वमन गर्दै थिए । ती अन्तर्वार्तामा प्रस्तुत हुने पात्रहरूले नानीदेखिका बल निकालेर बालेनलाई खुइल्याउने काम गरे तर बालेन कोर सिटीमा समेत तिनीहरूका आस्थाका उम्मेदवारभन्दा खरो उत्रिँदै फराकिलो अन्तरले अघि बढे ।

जितको मुखमा पुग्दासमेत तित्राहरूको बोल्ती बन्द भएन । कहिले के भाष्य, कहिले के शैलीमा तिनीहरूले बोलेका तस्विरहरू आम मतदाताले हेरेका छन् ।स्वतन्त्र हुनु व्यक्तिको ठूलो योग्यता रहेछ भन्ने चुरो कुरो यसपटक चुनावमा देखियो । एकातिर पार्टीका उम्मेदवारहरूको लावालस्कर थियो भने अर्कोतिर राष्ट्रिय झन्डा बोकेर हिँडेका उम्मेदवारहरू र तिनका पक्षमा उर्लिएका स्वतःस्फूर्त मानव सागरले आउँदो स्थानीय सत्ताका प्रतिनिधि स्वतन्त्रहरू हुनेछन् भन्ने भान हुन्थ्यो ।वार्ताकारहरूले के भन्न भ्याए भने ‘स्वतन्त्र व्यक्तिहरूले चुनावमा जितेभने जनताको आदेश र इच्छा अनुसारका काम गर्न सक्दैनन् ।’ मत परिणाम घोषणापश्चात् पूरै देश नै एकटक भएर भन्दै छ –‘कर्मयोगी र जनताका सेवक हुन रुचाउने सरल विचारका वाहक हर्क साम्पाङ, बालेन शाह र गोपी हमाल के साँच्चै नेपाली केजरीवालका उदाहरण बन्न सक्छन् त ? अहिले सम्पूर्ण नेपालीहरू यही सोचिरहेका छन् । वास्तवमा मतदाताहरूले ठूलो अपेक्षा यसपटक स्वतन्त्र उम्मेदवारहरूबाट गरेकै थिएनन् मात्र उनीहरूले त शिक्षा, स्वास्थ्य, खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक सुव्यवस्था र सिस्टम डेलिभरीका कुराहरू मात्र सोचेका थिए ।

काठमाडौंमा मात्र नभएर पूरै देशैभरि बालेन सुपरडुपर हिट भए । उनले सन् २०१७ मा लेखेको फेसबुक स्टाटसले समेत देखायो, उनी ५ वर्षदेखि पुरातन सोचको सत्ता पल्टाउने होमवर्कमा थिए । अन्ततः मत परिणामले देखाइदियो । सबै उम्मेदवारहरूका एकएकओटा आआफ्ना कथा थिए । हर्क युवा ऊर्जा पोख्न केही वर्ष वैदेशिक रोजगारीमा गए । काम गरे । दुःख पाए । फर्केर २०७४ को चुनाव लड्दा ४ सय बाइस जना धरानेको मात्र विश्वास जिते । संवत् २०७९ मा उनले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई पैंतालीस सय मतान्तरमा हराउँदै धराने मेयरमा भित्रिए ।

एउटा मान्छेले चाह्यो भने उसले जन अभिरूचिका काम गर्छ भन्ने उदाहरण हर्कले देखाए । जनतामुखी कार्य गर्न तपाईंलाई दल चाहिन्नँ, जनमत चाहिन्छ । यो अहिलेको निर्वाचनको सङ्केत हो जसले ‘मनिर्ङ सो द डेज’ भनेझैं आगामी संघ र प्रदेश निर्वाचनका पूर्व सङ्केतहरू देखाउने काम गरे । बालेन ५ वर्ष अघिदेखि व्यापक तयारीमा रहेछन् । उनका पछि विभिन्न फेसबुक कोर टिम सञ्चालनमा रहेछन् । चुनाव प्रचारशैली युवाहरूलाई आकर्षित गर्ने खाले र आक्रामक थियो । यसअघि अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रमले सो शैली अँगालेका थिए । ब्रान्डेड कोट, चस्मा, टिसर्ट, दारी र ¥यापको झट्काले शनैःशनैः ठूल्ठूलो कुरा गर्ने एमाले उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह दुवैलाई उछिने ।

धराने हर्क, धनगढीका गोपी र काठमाडौंली बालेनहरूको उदयलाई नेपाली राजनीतिमा माने÷नमाने पनि नेपाली केजरीवालका नवीन संस्करण नामले पुकारिँदै छ भने तिनका उपविजेता दलीय नेता यतिखेर हतास छन् । एमाले नेता शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले माझै मुखले भने ‘दलको पकड नभएका स्वतन्त्र जनप्रतिनिधिहरू कोप्रति उत्तरदायी भएर काम गर्छन् ?’ स्वतन्त्र उम्मेदवारहरू मतदाताप्रति उत्तरदायी हुनेहुँदा उनीहरूले दलीयआदेश मानिरहनु नपर्ने कुरासमेत यी नेता द्वयले बुझ्न चाहेनन् । स्वतन्त्रले अकूत धनराशि खर्च गरेर जितेका हुँदैनन् । पैसा खर्च नगरी जितेपछि कमिसनको चक्करमा फँस्ने डरै भएन । योपटक राम्रो काम नगरे अर्कोपटक जनताले फ्याँक्छन् भन्ने डरसमेत हुनाले तिनीहरू खुरूखुरू विकासे काम गर्छन् ।

कार्यपालिकाभित्र बहुमत नभएको मेयर अल्पमतमा पर्छ भन्ने कुतर्क सुनिए । नगर कार्यपालिकामा हुने सबै बैठकहरू लाइभ टेलिकास्ट र फेसबुक लाइभ हुने सरल सिस्टम बनाइने हो भने कसकसले के बोले ? कोको जनप्रतिनिधिहरू जनहित हुने कार्यका लागि बाधक बने भन्ने कुरा जनताका कान र आँखाले तारन्तार सुन्छन्÷हेर्छन् । त्यो बेला काम गर्न भाँजो हाल्ने जनप्रतिनिधिहरूलाई सडकमा आएका मतदाताले स्वतः ठेगान लगाउँदछन् ।साँच्चै जनता वाचडग भएका छन् । उनीहरूसँग रेकर्डर, क्यामेरा, लाइभ शक्ति र मोबाइल छन् । चौथो अङ्गको विकास मुलुकमा धेरै भइसकेको छ । अब हेर्नु छ यी नेपाली केजरीवालहरूको पाँच वर्षे कार्यकाल कस्तो हुन्छ ? कसरी बित्छ ? कुरामा बित्छ या काममा बित्छ ? यसपटकको कार्यकाल पारख गरेर मतदाताले अर्कोपालि चुनावमा लौरो चलाउने कि घन ? आफैं मूल्याङ्कन गर्छन् ।
पुराना नेता र समाजमा स्थापित व्यक्तिहरू भन्दैछन् –अवैचारिक मान्छेले जितेर समाजमा परिवर्तन हुनेवाला छैन ।

पार्टीका डामिएका कार्यकर्ता र नेताहरूले काम गर्ने हो कि लोकप्रिय जनप्रतिनिधिहरूले ? काम गर्नका लागि त इच्छाशक्ति मात्रै भए पुग्छ । भित्रबाटै चल्ने हुट्हुटी र निदाउन नदिने सपनाले नै मानिसलाई सुसाध्य काम गर्न घच्घच्याउँछ । मानिस कामैले अघि बढ्ने हो । केजरीवाल विम्ब भारतीय राजनीतिज्ञ अरबिन्द केजरीवालबाटै आएको हो । जो मुख्यमन्त्री भएपछि समेत सादा सर्टपाइन्ट र चप्पलमा हिँड्छन् । उनी सुटमा देखिँदैनन् । हाम्रा मुख्य मन्त्रीहरूको कृत्रिम ढर्रा र स्वाङ हेर्दा ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भएको छ । एक नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले आफ्नो विवाहको पूर्व सन्ध्यामा फेसबुकमा पोस्ट गरेको ‘नङ काटेको फोटो’ ले केही वर्षअघि भाइरल बनायो ।

फुलब्राइट स्कलरसिप पाएर अमेरिकाबाट पत्रकारितामा दीक्षित जानेमाने वरिष्ठ पत्रकार किशोर नेपाल, पूर्व पत्रकार तथा वाम बौद्धिक नेता रघुजी पन्त, एमालेका जुझारू नेता शंकर पोखरेल, नेकपा समाजवादीकी हक्की नेतृ रामकुमारी झाँक्री र कांग्रेस महामन्त्री गगन थापासमेतले कुनै न कुनै एङ्गलले स्वतन्त्र उम्मेदवारहरूको शाब्दिक हुर्मत लिने काम गरे तर यिनीहरूले के हेक्का राखेनन् भने अब जितेपछि ती जनताका जनप्रतिनिधि भइसके । जनप्रतिनिधिलाई काम गर्न दिइएन भने जनताले तत्तत् स्थानीय नकायमा सार्थक हस्तक्षेप शुरू गर्नुपर्ने हुन्छ । यसै पनि लोकतन्त्रमा जनताभन्दा माथि कोही हुँदैनन् ।प्रकारान्तरले पार्टीहरू गनाई सके । मात्रै कुन कति गनाए भन्ने मात्र हो । देश शनैःशनैः लङ्का पथमा गइसकेको छ । ढिलोचाँडो हर्क, गोपी र बालेनजस्ता नायकहरू देशमा जन्मनै पर्दथ्यो, आखिर जन्मेरै छाडे । जनताले यस मानेमा केही राहतको सास फेरेका छन् ।

आगामी दिनमा अझ उदारवादी नेताको जन्म हुँदै जान्छ । पार्टीहरूको अहम् र दादागिरी नसच्चिने हो भने समाजले अझै नयाँनयाँ क्रान्ति गर्ने दिशामा आफूलाई लैजान्छ तर त्यो क्रान्ति कस्तो हुन्छ अहिले भन्नु छिटो हुन्छ ।ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवारले मेयर जिते । देउवाको गृह वडामा नेपाली कांग्रेस बीपीले सिट हत्यायो । उपेन्द्र यादवको चुनावी क्षेत्रमा जसपा बढारियो । अघिल्लोपटक भ्यालीमा गौरवमय बहुमत भएको एमालेको उपस्थिति यसपाला मलिन भएको छ । अजिबको कुरा माओवादी केन्द्र भ्यालीमा क्लिन स्विप भयो । यस्ता परिणामहरू देशैभरिबाट आइरहे जसले नूतन भविष्यको इङ्गित गर्छ ।

राजधानीका एमाले नेता रामवीर मानन्धर त हाकाहाकी भन्दैछन् –‘स्थानीय निकायमा एमाले हार्दैछ तर यसको असर आउँदो राष्ट्रिय सभाका चुनावमा त क्लिन स्वीप हुने देखिन्छ ।’ उनी एमालेले टिकट वितरणको अन्तिम समयमा फोटो खुइलिसकेका केशव स्थापित कार्ड रिक्समा फ्याँकेर जनमतको भारी उपेक्षा गरेको भन्दै अन्तर्वार्ताहरू पस्किरहेका छन् ।

बालेनक्रेज प्रशंसा नगर्ने नेताहरू यतिखेर राजनीतिमा छैनन् । विवेकशील साझाका नेता डा.सूर्यराज आचार्य भन्छन् –‘चल्तीको राजनीतिको छाडा साँडेलाई सिँङमा समातेर तहलाउने कोही निक्लेनन् । दलभित्रका आशा लाग्दा भनिएका पनि कोही पुच्छर समाउने, कोही त झन् उल्टै साँढेलाई कुँडो खुवाउने काममा लागे । अब चैँ आम जनता नै यो साँढेलाई तह लगाउन ‘लौरो’ लिएर निस्के । हेरौं केही हुन्छ कि ?’प्रविधिविज्ञ आचार्यको जिज्ञासा चाँडै नेपाली केजरीवालहरू –हर्क, गोपी र बालेनहरूले पूरा गर्नेछन् । बालेन र हर्कका तस्वीर फ्लेक्समा राखेर भ्याली बाहिरका धेरै जिल्लाहरूमा स्वस्फूर्त धन्यवाद ¥याली निस्कनुलाई पक्कै देशले यी आशलाग्दा युवाहरूलाई केजरीवालका रूपमा हेरेको होला ।

प्रतिक्रिया दिनुहोस्