महिला हिंसाविरुद्धको अभियानमा पुरुष ऐक्यबद्धता कमजोर



काठमाडौं । 

सुन्दरी प्रतियोगितामा सहभागी एक १६ वर्षे किशोरीमाथि आठ वर्षअघि भएको यौन हिंसाविरुद्धको अभियानमा अधिकारकर्मी महिलाका साथ पुरुषको उपस्थिति कमजोर देखिएको छ । सामाजिक सञ्जालदेखि मूल धारका सञ्चार माध्यममा प्रकाशित–प्रसारित तस्बिरले पुरुषको कमजोर सहभागिताका प्रमाणित गरेका छन् ।

लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउन र समानताका लागि हुने अभियानमा ऐक्यबद्धता जनाउन विश्वमा ‘मेनइङ्गेज अलायन्स’ नामको संस्था छ । नेपाल पनि २०६४ सालदेखि यस अभियानमा संगठित रूपमै लागेको छ । मेनइङ्गेज अलायन्स नेपाल दक्षिण एसिया स्तरको सञ्जाल र मेनइङे्गेज अलायन्स ग्लोबल संयन्त्रमा आवद्ध छ ।

आजभन्दा चार वर्षअघि २०१८ को १५ अगस्टका दिन मेनइङ्गेज अलायन्स र यसको उत्तर अमेरिकी सञ्जाल ‘नामेन’ ले महिला विरुद्ध हुने यौन हिंसामा आफूलाई नारीवादी पुरुष भन्नेहरूको भूमिका के हुनुपर्छ भन्ने विषयमा संयुक्त रूपमा एक वक्तव्य जारी गरे । वक्तव्यमा अमेरिकाको न्यूयोर्कस्थित स्टोनी ब्रुकको स्टेट युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक मिखाएल किमेल र लैङ्गिक समानताका पक्षमा काम गर्ने राष्ट्रसंघीय निकाय यूएनविमेनका वरिष्ठ सल्लाहकार रवि कारकराको लैङ्गिक हिंसापूर्व व्यवहारको आलोचना गरिएको थियो ।
वक्तव्य जारी गर्दा उनीहरूविरुद्ध कानुनको प्रक्रिया चलिरहेको थियो, छानबिन र अनुसन्धान हुँदै थियो । तर, अधिकारकर्मीले समयमै आवाज उठाउनुपर्ने, कानुनको फैसला कुरेर बस्नु नहुने निष्कर्ष निकालियो । यस्तो बेला अधिकारकर्मीले पीडित–प्रभावितको पक्षमा बोल्नुपर्ने, उनीहरूलाई न्याय दिलाउन सक्रिय हुनुपर्ने ठहर गरियो ।

यौन हिंसा वा लैङ्गिक अपराध कसैबाट पनि हुनुहुन्न, तर जिम्मेवारीको पदमा बसेका व्यक्तिले आफ्ना सह वा सहायक कर्मचारीमाथि गरिने हिंसाप्रति बढी संवेदनशील हुनुपर्ने विज्ञप्तिको भनाइ थियो । ‘कुर्सी र शक्तिको आडमा बलमिच्याइँ गर्नेजस्ता कार्यको तत्काल विरोध गर्नुपर्छ, यहाँ उल्लेख गरिएका व्यक्तिले गर्ने यौन हिंसा थप आपत्तिको विषय छ । उनीहरू दुवै लैङ्गिक समानताका पक्षमा अभियान चलाउने पात्र हुन्’ विज्ञप्तिमा भनिएको छ ।

मेनइङ्गेज अलायन्सले यौन हिंसाबाट पीडित–प्रभावित व्यक्तिले खुला रूपमा आफूमाथि भएको ज्यादतिको विरुद्ध आवाज उठाएको सन्दर्भमा उनीहरूको पक्षमा उभिने, आर्थिक, सामाजिक, मानसिक र भौतिक रूपमा सघाउने कार्य गर्दछ, विज्ञप्ति उल्लेख गर्दछ– यस प्रकारको आन्दोलन वा अभियानमा ‘डु नो हार्म’ नीति अख्तियार गरिन्छ, अर्थात् पीडितलाई अझ बढी पीडा पु¥याउने काम नहोस् भन्नेमा बढी सजग भएर काम गरिन्छ ।

यस प्रकारको हिंसा पितृसत्तात्मक संस्कार तथा पुरुषप्रधान अभ्यासका कारण समाजमा जटिल रूपमा देखापर्दछ, शक्ति–सम्बन्धले प्रकटमा ल्याउन दिइरहेको हुन्न । हाकिमले गरेको व्यवहार सहायकले सहनुपर्छ, श्रीमान्को आदेश श्रीमतीले स्वीकार गर्नुपर्छ, ठूला भनिएका व्यक्तिको विरोध सानाले गर्नुहुन्न भन्ने परम्पराका कारण यौन हिंसाका घटनाहरू पनि आम रूपमा बाहिर आउँदैनन् । यही मान्यताका साथ विज्ञप्ति जारी गर्ने दुई संस्थाले सरोकारवालाहरूसँग यस प्रकार अनुरोध गरे ः
-हामी आरोपित व्यक्तिलाई आरोप लगाउनेहरूको विचार ध्यानपूर्वक सुन्न अनुरोध गर्दछौं । अनुसन्धान र प्रमाणले दोषी देखिएमा दोष कबुल गर्न भन्छौं ।

-पीडक वा दोषीलाई पीडितको पीडा अनुभूत गर्न र सुधारिन भन्छौं ।
– पीडक वा दोषीका आफन्तलाई सत्य स्वीकार गर्न र दोषका लागि सजाय दिलाउने साहक देखाउन अनुरोध गर्दछौं ।
– यौन हिंसाका घटनाविरुद्ध बोल्न हामी सुविधा सम्पन्न अवस्थामा रहेका पुरुषहरूलाई अनुरोध गर्दछौं । महिला अधिकारका पक्षमा उभिने पुरुषलाई सक्रिय रूपमा अघि बढ्न भन्छौं ।
– हिंसा विरुद्ध संगठित रूपमा आवाज उठाउन पुरुषहरूलाई अनुरोध गर्दछौं ।
-महिला अधिकारवादी पुरुषका संस्था र मेनइङ्गेज अलायन्स लगायतलाई जिम्मेवार बन्न,पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी कठघरामा ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्न भन्छौं ।

यसैगरी मेनइङ्गेजको विश्वव्यापी सञ्जाल र यसको दक्षिण एसियाली क्षेत्रीय सञ्जालले सन् २०१९ को जनबरी ७ का दिन यस्तै वक्तव्य जारी गरी उपर्युक्त व्यहोरा नै प्रतिध्वनित गरेको छ । महिलामाथि उत्पीडन गरेको आरोप लागेका मेनइङ्गेज अलायन्सका निर्देशक तथा उपनिर्देशक डा. अभिजित दास तथा सतिशकुमार सिंहका सम्बन्धमा पनि संस्थाले कारबाही चलाएको थियो । दास र सिंह भारतमा लैङ्गिक समानताको अभियान चलाएका व्यक्ति थिए ।

ब्युटी पेजेन्टमा सहभागी १६ वर्षकी किशोरीलाई कार्यक्रम सञ्चालकले बलात्कार तथा यौनशोषण गरेको विवरण विगत पाँच दिनअघि सामाजिक सञ्जालबाट बाहिरिएपछि अहिले राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । संसद्मा पनि यस विषयमा कुरा उठेको छ ।पीडितका अनुसार अहिले २४ वर्षकी उनले मनोज पाण्डे नामका ब्युटी पेजेन्ट सञ्चालकले पेयमा नशालुपदार्थ मिसाई खुवाएर बलात्कार गरेका र श्रीधर नामका फोटोग्राफरले भिडियो खिचेर उनीमाथि ६ महिनासम्म धम्क्याउँदै यौन शोषण गरेको बताएकी छन् । उनका अनुसार २०७१ सालमा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ ब्युटी पेजेन्टका क्रममा एभरेस्ट होटलमा उनीमाथि बलात्कार भएको हो । यौनहिंसाका कारण दुई पटक आत्महत्याको प्रयास गरेको पीडितले भिडिओमा बताएकी छन् । त्यसको असरले अहिले पनि थेरापी गरिरहनुपरेको उनको भनाइ छ ।

यतिका वर्षसम्म पनि यो पीडा कम नभएपछि अहिले बोल्न बाध्य भएको उनले बताएकी छन् । ‘मैले यो कुरा धेरै वर्ष मनमा राखें, तर म सन्चो भइनँ,’ उनले भनेकी छन्, मैले थेरापी गरें, कति पैसा खर्च गरेर औषधि खाएँ, तर मानसिक आघात बढिरह्यो । यसैबीच मेनइङ्गेज अलायन्स नेपालका संयोजक माधव प्रधानले नेसनल ब्वाइज एलायन्सका तर्फबाट पीडितका पक्षमा भएका प्रदर्शनहरूमा निरन्तर भाग लिने काम भइरहेको जानकारी दिनुभएको छ । ‘प्रहरीका साथ सहकार्य गर्दै पीडितलाई न्याय दिलाउन र पीडकलाई कारबाहीको दायरामा ल्याउन हाम्रो हेल्पलाइन लागिरहेको छ’ सिविन नेपालका अध्यक्ष पनि रहेका उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्