सरकार आफैंले यो भेटको सहजीकरण गरिदिन किन नहुने ?

तिब्बती शरणार्थीसँगको भेटबारे सरकार अनभिज्ञ



काठमाडौं । 

नेपालको तीनदिने भ्रमणमा आएका अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मामिला संयोजक उजरा जेयाले शनिबार तिब्बती शरणार्थीसँग भेटेर शिविरको भौतिक एवं अन्य सुविधा, स्वास्थ्य, शिक्षाका साथै कानुनी हैसियत, चिन्ता र चासोको बारेमा छलफल गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार यो भेट परराष्ट्र मन्त्रालय अर्थात् नेपाल सरकारको जानकारीबिना नै भएको हो । परराष्ट्र मन्त्रालयले जेया काठमाडौं आइपुग्नु केही समयअघि शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अमेरिकी उपमन्त्री जेयाले तिब्बती शरणार्थीबारे भेट गर्ने सम्बन्धमा मन्त्रालयलाई जानकारी नभएको बताउनुभएको थियो । उहाँले नेपाल–अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको अवसरमा यो भ्रमण भएको र भ्रमणमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने बताउनुभएको थियो । साथै उहाँले अमेरिकी राष्ट्रपतिले आयोजना गर्नुभएको ‘लोकतन्त्र शिखर सम्मेलन’ मा नेपालले गरेको प्रतिबद्धताको कार्यान्वयनको अवस्थाबारे अमेरिकी उपमन्त्री जेयाले चासो राख्न सक्ने बताउनुभएको थियो ।

यहाँनिर प्रश्न उठ्नु स्वाभाविकै हो, के यो भेट सरकारको जानकारीबिना नै भएको हो वा सरकारले जानकारी भए पनि बताउन नचाहेको हो ? यदि सरकारको जानकारी बिना भएको हो भने प्रोटोकलको उल्लंघन भयो कि भएन ? सरकारले भेटबारे थाहा पाएपछि कस्तो प्रतिक्रिया जनायो ? सरकार आफैंले यो भेटको सहजीकरण गरिदिन किन नहुने ? भेटका लागि सहजीकरण गर्न नसक्ने परिस्थिति हो भने सरकारले यो भ्रमण टार्न किन नसकेको ?तिब्बती शरणार्थीसँगको भेट र छलफलबारे सरकारलाई थाहा नहुनु आफैंमा हास्यास्पद छ । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा तिब्बतको निर्वासित धार्मिक नेता दलाई लामा र तिब्बती छायाँ सरकारका प्रमुख पेन्पा छिरिङसँग भेटेर नेपाल आउनुभएका अमेरिकी उपमन्त्री जेयाले नेपालमा रहेका तिब्बती शरणार्थीका बारेमा पनि चासो राख्ने कुरा लुकेको तथ्य होइन ।

अमेरिकी दूतावासले शुक्रबार साँझ आयोजना गरेको रिसेप्सनमा उपमन्त्री जेयाले नेपाल समाचारपत्रको जिज्ञासालाई मेट्दै नेपाल भ्रमणका क्रममा आफूले तिब्बती शरणार्थीका साथै अल्पसंख्यक समुदायका प्रतिनिधिहरूसँग छलफल गर्ने बताउनुभएको थियो ।जेयाले तिब्बती शरणार्थीसँग भेटेकोमा प्रतिक्रिया जनाउँदै उपप्रधान एवं रक्षामन्त्री र गृहमन्त्रीसमेत रही सकेका एमाले नेता भीम रावलले शनिबार सामाजिक सञ्जाल ट्विटरमा यसरी असन्तुष्टि पोख्नुभयो– ‘नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उजरा जिया दूतावासका उपप्रमुखसहित जाउलाखेल, तिब्बती शरणार्थी शिविर पुगेकी छिन् ! एमसीसी सम्झौता अनुमोदनपछि पहिलो हस्तक्षेपकारी कार्य ।

के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो, गठजोड सरकार ?’ पूर्वउपप्रधानमन्त्री रावलको यो सार्वजनिक अभिव्यक्तिले नेपालको परराष्ट्र नीति राजनीतिक दलपिच्छे फरक भएको पुष्टि गर्दछ । जुन राष्ट्रका लागि आफैंमा लज्जास्पद र घातक छ ।चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले अमेरिकी उपमन्त्री जेयाको यो भेटलाई सामान्य रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘अमेरिकी उपमन्त्री जेयाको धारणा र चाहना सार्वजनिक रूपमा आएको छैन, तर उहाँले नेपालको कानुन, शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र चीनप्रतिको हाम्रो संवेदनशीलतालाई सम्मान गरेरै भेट गर्नुभयो होला भन्ने अपेक्षा राखौं ।’शनिबार जाउवाखेलस्थित तिब्बती शरणार्थी शिविरमा तिब्बती समुदायका अगुवाहरूले शरणार्थी परिचयपत्र नहुँदा कतिपय शरणार्थीहरू मानव अधिकारका आधारभूत कुराहरूबाट समेत वञ्चित हुनुपरेको गुनासो गरेका थिए ।

सन् १९९५ पछि सरकारले तिब्बती शरणार्थीहरूलाई ‘शरणार्थी परिचयपत्र’ दिएको छैन । जसले गर्दा त्यसपछि नेपालमै जन्मेका शरणार्थीका बालबच्चाहरूसमेत गरी करिब ७ हजार तिब्बती शरणार्थीहरू रोजगार, उच्च शिक्षाका साथै विदेश भ्रमणबाट वञ्चित भएका छन् । सन् १९५९ मा तिब्बतमा खम्पा विद्रोह असफल भएपछि भागेर नेपाल आएका करिब १५ हजार तिब्बतीहरूलाई मानवीयताको आधारमा नेपालले शरण दिएको थियो ।शिष्टाचार भेटको क्रममा आइतबार गृहमन्त्रालयमा पुग्नुभएका अमेरिकी उपमन्त्री जेयालाई गृहमन्त्री बालकृष्ण खाँणले सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच पाएको बताउनुभएको थियो ।

गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । विज्ञप्तिमा अमेरिकी उपमन्त्री जेयाले त्यसका लागि धन्यवाद दिनुभएको पनि उल्लेख छ । साथै भेटमा गृहमन्त्री खाँणले नेपाल छिमेकी देश भारत र चीनको सुरक्षा सम्वेदनशीलताप्रति प्रतिबद्ध रहेको पनि बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।अमेरिकी उपमन्त्री जेयाको नेपाल भ्रमणको चर्चा चल्नेबित्तिकै बुधबार चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री खाणसँग भेटेर भ्रमणको बारेमा चासो राख्नुभएको थियो । गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिप्रति अडिग रहेको बताउँदै आफू चीनको सुरक्षा मामिलामा संवेदनशील रहेको भन्दै राजदूत यान्छीलाई आश्वस्त तुल्याउनुभएको थियो ।

तर, सरकारले आफूकहाँ आएका विदेशी पाहुनाको गतिविधि आफ्नो जानकारीमा नरहेको बताएर चीनलाई शंका गर्ने ठाउँ दिएको छ । सरकाले यो भेट आफैंले सहजीकरण गरिदिएर छलफलमा आफ्नो प्रतिनिधिको पनि उपस्थिति गराएको भए ‘नेपाल एक चीन नीतिप्रति अडिग छ’ भनेर पटकपटक ओठे स्पष्टीकरण दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने थियो । साथै अन्य विदेशी पाहुनाहरूको भ्रमणमा पनि यस्तो प्रचलन अपनाउन सके प्रतिपक्षमा रहने राजनीतिक दलहरूले भन्ने गरेको ‘विदेशी चलखेल’ रोक्न पनि सहयोग पुग्ने थियो ।

उपमन्त्री जेया स्वदेश फिर्ता

अमेरिकी उपविदेश मन्त्री जेयाले नेपालको तीनदिने भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । आइतबार बिहान परराष्ट्रमन्त्री डा. खड्कालाई उहाँकै कार्यकक्षमा भटेर प्रधानमन्त्री निवास बालु्वाटार पुगेका जेयाले प्रधानमन्त्री देउवासँग नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल गर्नुभएको थियो । भेटपछि प्रधानमन्त्री देउवाले ट्विटमार्फत अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।

गृहमन्त्री खाँणले भेटमा भूकम्पपछिको पुनर्निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद दिनुभएको थियो । भेटमा अमेरिकी मन्त्री जेयाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ अग्रसर भएको भन्दै अमेरिकी सरकारको तर्फबाट नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा पनि बढोत्तरी भएको जानकारी दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।

साथै भेटमा नेपालले धार्मिक स्वतन्त्रता र मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सह्राना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मामिला संयोजक उजरा जेया नेपालको तीन दिने भ्रमण सकेर आजै स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्