संसद् बैठकमा विनियोजन विधेयकको सिद्धान्तमाथि छलफल


 काठमाडौं  । 

आर्थिक वर्ष २०७९-८० को बजेटको विनियोजित विधेयकको सिद्धान्तमा बुधबारदेखि संसद्मा छलफल शुरू भएको छ । सांसदहरूले आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने प्राथमिकताको विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रगतिशील कर प्रणाली लागु गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले मुलुकको कर नीति बढी आय हुनेले बढी र कम आय हुनेले कम तिर्ने हुनुपर्ने बताउँदै प्रगतिशील कर प्रणाली लागु गर्र्न सरकारसँग माग गर्नुभयो । भौतिक पूर्वाधारको विकासबारे बोल्दै उहाँले सरकारले अब सबै पालिकास्तरसम्मै कालोपत्रे सडक सञ्जालले जोड्नुपर्नेमा जोड दिनुभयो ।

पालिकास्तरसम्मको कालेपत्रे सडकले स्थानीय कृषि उत्पादन बजारसम्म ल्याउन सकिने उहाँको भनाइ थियो ।छलफलमा पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ५० औं वर्षदेखि नेपालको आर्थिक सम्वृद्धि हुन नसकेको टिप्पणी गर्दै भन्नुभयो– ‘नेपाल ५० वर्षदेखि पिँधको पिँधमा नै छ ।’ मुलुकको आर्थिक समृद्धिका लागि हालसम्म पनि उत्कृष्ट आर्थिक नीति नै आउन नसकेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘भन्नलाई समाजवादउन्मुख अर्थनीतिको विकास भने पनि मुलुक पुँजीवादतर्फ उन्मुख भइरहेको छ ।’

सरकारले सबै नागरिकको सम्पत्ति अभिलेखीकरण गर्नुपर्ने माग गर्दै उहाँले भन्नुभयो– ‘कसको कति सम्पत्ति छ ? के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखीकरण गरौं, एक पटक राज्यले सबैबाट सम्पत्ति विवरण खोज्नुपर्छ ।’ एक पटकलाई सम्पत्तिको कर छुट दिएर भए पनि सबैको सम्पति विवरण पेस गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएका भट्टराईले आफूले कालो धनलाई सेतो बनाउनका लागि भने यस्तो सुझाव नदिएको स्पष्ट पार्नुभयो ।

छलफलमा नपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आम जनतालाई सकारात्मक प्रभाव पार्ने र निम्न वर्गका तह र तप्कालाई माथि उकास्ने खालको बजेट निर्माण हुनुपर्ने बताउनुभयो । बजेटले प्रत्येक नागरिकमा राष्ट्रियताको भावना जगाउँदै स्वदेशमा नै रोजगारी गरी उत्पादन वृद्धि गर्ने र उत्पादित वस्तुको निर्यात गरी अर्थतन्त्र मजबुत बनाउन सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले पूर्वाधार विकासलाई जोड दिँदै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत्, खानेपानी, सिंचाई, सडक, सामाजिक सुरक्षा र न्यायको सामन्जस्य कायम गरी प्राथमिकताको आधारमा विकास गर्दै अर्थतन्त्र मजबुत बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।