बागमतीको हिस्सा एकतिहाइ बढी हुने अनुमान

कुल गार्हस्थ उत्पादन



काठमाडौं ।

चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन संघीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एकतिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८÷७९ को प्रादेशिक कुल गार्हस्थउत्पादनसम्बन्धी अध्ययनअनुसार कुल गार्हस्थउत्पादनमा बागमती प्रदेशको हिस्सा ३६ दशमलव ९ प्रतिशत हुने अनुमान छ ।गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ३६ दशमलव७ प्रतिशत हिस्सा ओगटेको थियो ।

चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ४८ खर्ब ५२ अर्ब हुने विभागको प्रक्षेपण छ । बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा करिब १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ ।कुल गार्हस्थउत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४ दशमलव १ प्रतिशत छ । कर्णालीको उपभोक्ताको मूल्यमा एक खर्ब ९८ अर्बको हाराहारी हुने अनुमान गरिएको छ । चालु आवमा बागमतीपछि कूल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशमा क्रमशः प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।

कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालु आवमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५दशमलव ८ प्रतिशत अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६ दशमलव ७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ ।संशोधित अनुमानअनुसार गत आवमा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४दशमलव ६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ३ दशमलव ७ प्रतिशत रहेको थियो औद्योगिक वर्गीकरणअनुसार गत आव र चालु आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ ।

बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी देखिन्छ । प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या तथा राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण व्यापार क्षेत्रको योगदान बढी देखिएको विभागले जनाएको छ ।राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामा कायमै छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ ।

गण्डकी, कर्णाली, सुदूरपश्चिममा सार्वजनिक प्रशासन, सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ । बागमती र मधेसबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

चालु आवको नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ । अनुमानित तथ्याङ्कअनुसार सबै प्रदेशको आर्थिक क्रियाकलाप कोभिड–१९ महामारी सङ्क्रमणपश्चात् सामान्य अवस्थातर्फ फर्कन खोजेको विभागको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्