धार्मिक पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण



म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा रहेको ऐतिहासिक खड्गभवानी कोत मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि पदमार्ग निर्माण भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा कोतमन्दिर परिसरमा पदमार्गलगायत विभिन्न संरचनाहरु निर्माण गरिएको हो ।

खड्गभवानी कोत मन्दिरसम्म पुग्ने पदमार्ग, मन्दिरको मूल गेट तथा मर्मतसम्भार, प्लास्टर, पटाङ्गिनी निर्माण र घेराबारलगायत संरचनाहरु निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवस्थापन समिति र स्थानीय बासिन्दाको पहलमा वडा कार्यालय तथा बेनी नगरपालिका र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सहयोगबाट मन्दिरमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण भएका हुन् ।

ज्यामरुककोटस्थित फापरखेत कन्थराथानदेखि कोत मन्दिरसम्म ३ सय ७० मिटर लामो पदमार्ग निर्माण गरिएको छ भने भकुण्डेदेखि कोत मन्दिर परिसरसम्म ३ सय १५ मिटरको अर्को पदमार्ग बनाइएको छ ।यसै गरी, चालू आर्थिक वर्ष २०७८-०७९ मा थप १ सय ९२ मिटर रेलिङसहितको पदमार्ग पनि निर्माण गरिएको छ ।

मन्दिरमा पुग्न दुईतर्फ गरेर कुल ४३ लाखको पदमार्ग, ७ लाखको मन्दिर घेराबार, साढे २ लाखको गेट र १ लाख रुपियाँको पटाङ्गिनी निर्माण गरिएको बेनपा–२ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले ज्यामरुककोटको प्रचार–प्रसार तथा खड्गभवानी कोत मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्गलगायत भौतिक संरचनाहरु निर्माण गरिएको उहाँको भनाइ छ ।

त्यस्तै, मन्दिर परिसरमा रहेको नेपाल टेलिकम तथा दूर सञ्चारको मोबाइल बीटीएस टावरमा पनि फोरजी सेवा जडान र सञ्चालनका लागि टावरको क्षमता बढाइएको छ । ज्यामरुककोटको खड्गभवानी कोत मन्दिरमा हरेक वर्ष साउनेसङ्क्रान्ति, नागपञ्चमी, बडादशैं श्रीपञ्चमी, चैत्राष्टमीलगायत मुख्य चाडपर्वहरुमा विशेष गरी पूजाअर्चना हुँदै आइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

धार्मिक पर्यटनको सम्भावना बोकेको खड्गभवानी कोत मन्दिरको परिसरबाट म्याग्दी जिल्लाको साविकका २१ वटा गाविसहरु देखिन्छन् । यहाँबाट म्याग्दी सदरमुकाम बेनीबजार, म्याग्दी र कालीगण्डकी नदीको बहाव, छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिका, बागलुङको पञ्चकोट तथा धवलागिरी, अन्नपूर्ण, नीलगिरीलगायत मनोरम हिमशृङ्खलाको समेत दृश्यावलोकन गर्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबाट हाँडेभीर–लभ्लीहिल हुँदै भकुण्डे र बेनी–रत्नेचौर भएर पनि ज्यामरुककोट तथा खड्गभवानी कोत मन्दिरमा पुग्न सकिन्छ ।

बेनीदेखि नजिकै पैदलयात्रा र सवारीसाधनबाट सजिलै पुग्न सकिने खड्गभवानी कोतमा नेपालमा बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन मल्ल राजाहरुले राज्य गरेका थिए । त्यति बेला एैतिहासिक पर्वत राज्यअन्तर्गत रहेको ज्यामरुककोट र ताकम राज्यलाई पर्वत राज्यका तत्कालीन राजाले आक्रमण गरी विजय हासिल गरेपछि पर्वत राज्यमा गाभेका थिए । खड्गभवानी कोतमा अझै पनि परापूर्वकालका हातहतियार संरक्षण गरेर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्