नमाज पढेको ठाउँमा पुगे उम्मेदवार



बाँके ।

मुस्लिम समुदायको ठूलोमध्येको पर्व इदुल फित्र (इद) हर्षोल्लासका साथ मनाइएको छ । एक महिना रोजा बसेकाहरु मंगलबार इदगाहमा पुगेर नमाज पढेका छन् । उनीहरु बिहान नुहाइधुवाइ गरेर नयाँ कपडा लगाएर इदगाहमा पुगेका थिए ।

नेपालगन्जको बीपीचोकमा रहेको इदगाहमा सामूहिक नमाज पढेपछि उनीहरुले एकअर्कामा गला मिलेर शुभकामना आदानप्रदान गरेका छन् । कोरोनाले गर्दा दुई वर्षसम्म राम्ररी इद मनाउन नपाएका उनीहरुले यसपालि हर्षोल्लासका साथ ठूलो जमघटमा इदको शुभकामना आदानप्रदान गरेर इद मनाएका छन् ।

बीपीचोकस्थित इदगाहमा ठूलो संख्या उपस्थित हुँदा मस्जिद नआएर सडक र पेटीमा बसेर नमाज पढिएको थियो । उनीहरुले जमाज पढिरहदा ठूला पार्टीबाट मेयरका उम्मेदवार बनेकाहरु नजिक बसिरहेका थिए । उनीहरु शुभकामना दिन त्यहाँ आएका थिए ।नेकपा एमालेका पशुपतिदयाल मिश्र, नेपाली कांग्रेस र जसपा गठबन्धनका प्रशान्त विष्ट, राप्रपाका नन्दलाल बैश्यलाई शुभकामना दिन भ्याइनभ्याइ देखिन्थ्यो । चुनावी अभियानमा घरघरमा पुगिरहेका उम्मेदवारहरु एकै ठाउँमा जम्मा भएका ठूलो संख्यालाई शुभकामना दिन र आफ्नो प्रचार गर्ने मौका मिलेको थियो ।

नेपालगञ्ज सद्भावको शहर हो । यहाँ हिन्दु, मुस्लिम, सिख, क्रिस्चियन, बौद्ध मिलेर बसेका छन् । उम्मेदवारहरुले सामाजिक सद्भावको शहरलाई सबैको पहिचान र अस्तित्वका लागि आफूहरुले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।नेकपा एमालेका उम्मेदवार मिश्रले सबै जातजाति र भाषाभाषीको बसोबास रहेको नेपालगन्जलाई सद्भाव र सामाजिक मेलमिलापको शहर बनाउन लागिपर्ने बताउनुभयो । कांग्रेस र जसपा गठबन्धनका उम्मेदवार विष्ट र राप्रपाका उम्मेदवार वैश्यले पनि नेपालगन्जको सामाजिक सद्भावलाई कायम राख्दै सबैको धर्म संस्कृतिको रक्षा गर्दै अघि बढ्ने बताउनुभयो ।

नेपालगन्जमा चुनावी सरगर्मी चढिसकेको छ । नेपालगन्जको मेयरमा मिश्र, विष्ट र वैश्यकै प्रतिस्पर्धा रहेको छ । तीनै जना उम्मेदवार आफ्नो पक्षमा माहोल बढाउन दौडधुपमा छन् । बिहानदेखि साँझसम्म घरदैलोमा पुगिरहेका उम्मेदवारलाई नमाज पढ्न जम्मा भएका व्यक्तिसँग मत माग्ने मौका मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्