चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म–शताब्दी मनाइयो



काठमाडौं  ।

नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्व. चौधरीको जन्म–शताब्दी विशेष समारोह आयोजना गरिएको हो ।
बीएलसी होल्डिङ्स प्रालि, वसन्त चौधरी फाउन्डेसन, नर्भिक इन्टरनेसनल हस्पिटल र श्री लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १ सय वर्ष भएको दिनलाई विशेष रूपमा सम्झिने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्व. लुनकरणदास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा अहोरात्र खटिएका ३ जना सहायकहरूलाई विशेष सम्मानसमेत गरियो । त्यसरी सम्मानित हुनेहरूमा राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङ छन् । उनीहरूले सम्मानपत्रको साथमा नगदसमेत प्राप्त गरेका थिए ।सो कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाइँ तथा परिवारका अन्य सदस्यहरूले संयुक्त रूपमा विमोचन गरेका थिए ।

कार्यक्रममा स्व. चौधरीको ‘जीवन संघर्ष’ झल्किने १५ मिनेटको भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो ।भिडियो सामग्री तथा पुस्तिकामा लूनकरणदास चौधरीले कसरी चौधरी ग्रुपको आधारशिला तयार गरेका थिए भन्ने चाखलाग्दो विषयलाई समेटिएको छ ।ती सामग्रीमा उल्लेख भएअनुसार वि.सं. १९७९ साल वैशाख ९ गते काठमाडौको मखनमा जन्मिएका लूकनरणदास २० वर्षको हुँदा पिता भूरामलको निधन भएको थियो । त्यसपछि उनले चौधरी परिवारको व्यापार र पारिवारिक दायित्वको बोझ उठाएका थिए । काठमाडाैंमा कपडाको व्यापार गर्दै आएका उनले सुनसरीको दुहबीस्थित रत्न स्टिल कम्पनीबाट औद्योगिक यात्राको शुरूवात गरेका थिए ।

त्यसपछि, दुहबीमै श्री पशुपति बिस्कुट उद्योगको थालनी भएको थियो । ‘त्यसबेलाका यिनै उद्योगहरूको जरा फैलिएर कालान्तरमा चौधरी ग्रुपको विशाल बगैंचा तयार भएको हो ।’ सार्वजनिक पुस्तिकामा भनिएको छ – ‘आज यिनै कर्मयोगी लूनकरणदासले रोपेको उद्योग वाणिज्यको बीउ उम्रिँदै, फूल्दै र फल्दै चौधरी ग्रुपमा रूपान्तरण भई नेपालको उद्योग–वाणिज्यका हरेक क्षेत्रमा आफ्नो सारगर्वित उपस्थितिका साथ प्रतिष्ठित हुन पुगेको छ ।’

कार्यक्रममा स्व. लूनकरणदासलाई नजिकबाट चिन्ने साथीभाई तथा परिवारका सदस्यहरूले उनको व्यक्तित्वको विषयमा चर्चा गरेका थिए ।
एमडी अग्रवालले स्व. लूनकरणलाई सम्झिदै उनमा पैसा र प्रशस्त धनसम्पत्ति भएर पनि अहंकार नभएको बताएका थिए । ‘उहाँमा ईश्वरप्रति आगाध सम्मान र परिवारप्रति अविचलित प्रेम थियो ।’ अग्रवालले भने – ‘जीवनको अन्तिम सासहरू लिइरहँदा समेत उहाँको अनुहारमा मलीनता मैले देखिँन ।’

वरिष्ठ कलाकार हरिहर शर्माले चौधरी कर्मयोगी भएकै कारण आज पनि नेपालीहरूको स्मृतिमा जीवित नै रहेका बताउनुभएको थियो । ‘उहाँका विचार राष्ट्रप्रेमबाट ओतप्रोत थिए ।’ शर्माले भन्नुभयो – ‘उद्योग–व्यवसाय नफस्टाएसम्म देशमा रोजगारी सिर्जना हुँदैन भन्ने कुरामा उहाँ प्रष्ट हुनुहुन्थ्यो । उद्योग–व्यवसाय अर्थलाभका लागि मात्र नभएर राष्ट्र र समाज सेवाका लागि पनि समर्पित हुनुपर्छ भन्ने उहाँमा धारणा थियो ।’
लूनकरणदास चौधरी सार्वजनिक सेवाभावबाट अभिप्रेरित व्यक्तित्व रहेका उहाँको भनाइ थियो । ‘उहाँको साहित्यकला क्षेत्रमा पनि विशेष रुचि र देन थियो ।’ उनले भन्नुभयो–‘जनतादेखि राजासम्मलाई देखेको र भोगेको व्यक्तित्व हुनुहुन्थ्यो ।’स्व. चौधरीका ज्वाई महेशकुमार अग्रवालले आफ्ना ससूरा युगपुरुष रहेका बताए । ‘ईश्वरीय कानुन र देशको कानुनलाई मानेर अगाडि बढेकै कारण उहाँले चौधरी ग्रुपको आधारशीला तयार गर्नुभयो ।’ उहाँले भन्नुभयो – ‘उहाँमा सोलिड देशप्रेम थियो । सटिक निर्णय लिनसक्ने विचित्रको क्षमता थियो ।’स्व. चौधरीकी नातिनी मेगा चौधरी तथा नाति निर्वाण चौधरीले समेत आफ्नो हजूरबुबाको विषयमा मन्तव्य दिनुभएको थियो । मेगाले आफ्नो हजूरबुबाले देखाएको सत्मार्गमा आफू बढिरहने प्रण गरेकी थिइन् भने निर्वाणले हजूरबुबा भिजिनरी व्यक्तित्व, धरातल नबिर्सिने, इथिकल व्यावसायिक सेन्स भएको, समाज र देशप्रति चिन्तित व्यक्तित्व रहेका बताएका थिए ।

स्व. लुनकरणदासका कान्छा छोरा उद्योगपति अरुण चौधरीले आफ्ना पिता वास्तविक सेल्फमेड म्यान रहेका बताएका थिए । ‘आजको आधुनिक चौधरी ग्रुपको फाउन्डर हुनुहुन्थ्यो उहाँ ।’ उनले पितालाई सम्झिँदै भने–‘उहाँमा रहेका गुणहरूको १० प्रतिशत मात्रै गुण भएमा पनि मानिसको जीवन पूर्ण हुन्थ्यो होला ।’आफ्ना पिताले पैसा र धनसम्पत्तिलाई कहिल्यै प्राथमिकतामा नराखेको, बरु अरूको पीडा र व्यथामा मल्हमपट्टि गर्नतर्फ ध्यान दिएको उहाँको भनाइ थियो । ‘मानिसलाई कति पैसा कमायो, कति धेरै गरगहना जोड्यो भन्ने विषयले धेरै अर्थ नराख्ने रहेछ ।’

उहाँले पितालाई सम्झिँदै भन्नुभयो – ‘त्यो मानिसले जिवित छउञ्जेल कति मानिसको हृदय छुन सक्यो, कतिको आँसु पुछ्न सक्यो र कतिलाई काँध दिन सक्यो भन्ने कुराले जीवन सार्थक बनाउने रहेछ । त्यसकै मूर्त रूप मेरो बुबा हुनुहुन्थ्यो ।’माइला छोरा उद्योगपति तथा चर्चित साहित्यकार बसन्त चौधरीले आफ्ना पिता आफ्नो जीवनमा प्रेरणाको साँझबिहान बनेर उभिएका भन्दै स्मरण गरेका थिए । उनले आफ्ना पिताको स्मरणमा लेखेको दमदार कविता पनि सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्