एन्टिबायोटिकको दुरूपयोगले मानव स्वास्थ्य खतरामा



काठमाडौं ।

एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ ।

धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र शहरी भेगको प्रतिनिधित्व गर्ने गरी २ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपंक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो । एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्था सिर्जना भएको बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

धुलिखेल अस्पतालका प्राडा सोनी शाक्यको नेतृत्वमा भएको अध्ययनमा धुलिखेल नगरपालिकाका वडा नं २ र वडा नं ६ का ४ सय ५४ जना १८ वर्षमाथिका स्वस्थ मानिस र १ सय ७० वटा स्वस्थ कुखुरा समावेश गरिएको थियो प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्राडा शाक्यले स्वस्थ मानिसको शरीरबाट दिसा संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा शरीरमा इकोली बढेको र एन्टिबायोटिक कम प्रभावकारी हुँदै गएको पाइएको जानकारी दिनुभयो । उहाँले संकलित स्वस्थ कुखुराको आन्द्रा परीक्षण गर्दा पनि कुखुरामा अत्यधिक एन्टिबायोटिक प्रयोग गरिएको र कुखुराको मासु प्रयोगकर्तामा समेत एन्टिबायोटिकको नकारात्मक असर भएका कारण कुनै पनि संक्रमण हुँदा एन्टिबायोटिकले कामै नगर्ने सम्मको अवस्था सिर्जना भएको पाइएको बताउनुभयो ।

कार्यक्रममा पशुपंक्षी पालनबाट छिट्टै लाभ लिने उद्देश्यले एन्टिबायोटिकको गलत प्रयोग गरिएको अनुसन्धानबाट पत्ता लागेको जानकारी गराइएको थियो । नेपालमा पशुपंक्षी, मानव जातिले प्रयोग गर्ने एन्टिबायोटिक बिना चिकित्सकको प्रिप्केसन सहजै मेडिकल र भेटनरीबाट खरिदबिक्री गर्ने र प्रयोगकर्ताले पनि बिना परामर्श प्रयोग गर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यसरी प्रयोग गरिएका एन्टिबायोटिकले वातावरणमा समेत असर पर्ने र माछामासु प्रयोगकर्ताका साथै प्रयोग नगर्नेलाई समेत असर गरेको पाइएको उल्लेख छ ।
नेपालमा औषधि बिक्री वितरणका लागि बनेका कानुन कार्यन्वयन गर्ने निकाय प्रभावकारी नभएको कारण एन्टीबायोटिकको प्रयोगमा समस्या देखिएको धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो ।

प्राडा शाक्यले विभिन्न स्रोतबाट एन्टिबायोटिक अत्यधिक प्रयोग गरेकै कारण जीवाणु संक्रमण निको पार्न प्रयोग गरिने एन्टिबायोटिक ५० प्रतिशत बिरामीमा मात्रै प्रभावकारी भएको अध्ययनले देखाएको बताउनुभयो ।एन्टिबायोटिकको दुरूपयोग हुनुमा फार्मेसीमा चिकित्सकको प्रिप्केसन बिना नै खरिद गर्न पाउनु, जनचेतनाको अभाव, कानुनी रूपमा अनुुगमन नहुनु, एन्टिबायोटिकको प्रयोग विधिका बारेमा पूर्ण ज्ञान नहुनु, औषधिको मात्रा पू्रा नगर्दा औषधिको प्रभावकारिता न्यून हुँदै मानिसको शरीरमा ईकोलाईको वृद्धि हुँदै गएको निष्कर्ष निकालिएको छ । यसका साथै वातावरणीय प्रभावसमेत रहेकाले मानिसमा हावा, पानी र वातावरणबाट पनि ईकोलाईको मात्रा बढेको कार्यक्रममा बताइएको थियो ।

सोही अवसरमा धुलिखेल अस्पतालका प्रशासन प्रमुख डा. रमेश माकजुले ईकोलाई हरेक मानिसको पेटमा हुने जानकारी दिँदै भन्नुभयो– ‘पेटमा इकोलाई हुनु नराम्रो होइन तर यसको वृद्धि शरीरमा हुनु र बिरामीलाई एन्टिबायोटिकले कामै नगर्नु चिन्ताको विषय हो ।’
धुलिखेल अस्पतालका प्राडा बलराम मल्लले केही समयअघि धुलिखेल अस्पतालमा संक्रमणको समस्याका बिरामीलाई दिन मिल्ने एन्टिबायोटिक नै बाँकी नरहेको बताउनुभयो । यसबाट आफूखुसी एन्टिबायोटिकको जथाभावी प्रयोग गर्दा त्यसले पार्ने नकारात्मक असर कति भयावह हुन्छ भन्ने कुरा प्रस्ट भएको उहाँले बताउनुभयो ।

धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ .डा. राजेन्द्र कोजूले पछिल्लो अनुसन्धानमा देखा परेका ईकोलाई दिसाबाट पिसाबमा गयो भने निकै खतरापूर्ण हुने बताउनुभयो । उहाँले एन्टिबायोटिक सहजै किन्न र बेच्न पाउने अवस्था रहिरहने हो भने निमोनियाबाट पनि धेरै मानिसको मृत्यु हुने धारणा राख्नुभयो ।

धुलिखेल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्दीप केसीले नेपालमा एन्टिबायोटिकको प्रयोग अत्यन्तै डरलाग्दो रहेको बताउनुभयो । पहिलाजस्तो कुखुरा ओथारो बसेर चल्ला काड्ने नभई हाइब्रिड प्रविधिमार्फत अण्डाबाट निकालेको चल्लालाई २४ घण्टाभित्र एन्टिबायोटिकको खोप दिएन भने चल्ला मर्छ । यसरी दिइएको खोपले चल्ला ह्वात्तै बढ्छ । यस्तो मासु प्रयोग गर्दा मानिसमा पनि मोटोपन बढ्ने र उमेर नै नपुगी दारीजुँगा आउनेजस्ता समस्या बढ्दो छ ।

 

प्रतिक्रिया दिनुहोस्