शिशु आहारमा किन विज्ञापनको भर ?



डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

केही महिनाअघि मैले भेट्दा हातमा पोट्याटो चिप्स बोकिरहेको चार वर्षीय एक बालकको तौल ३० केजी भएछ । १६–१७ केजी हुनु त सामान्य नै हो, ३० किलो त निकै बढी भयो । यसरी तौल बढ्यो भने १६–१७ वर्ष पुग्दा सय केजीभन्दा बढी नै पुग्छ । सो बालककी बज्यैले भनिन्, ‘यसले त भुटेको भातमा पनि आलु चिप्स नहाली खाँदैन । आलु चिप्सको लत नै लागिसक्यो । बिरामी भएर डाक्टरकहाँ लैजाँदा उसको तौल बढी छ, खाना कम गर्नुपर्छ भनेका थिए । के गर्ने होला ?’

चिन्ता जायज थियो । सानैदेखि मोटोपन हुँदा छिट्टै नै ढाड–घुँडा दुख्ने र उच्च रक्तचाप, मधुमेहको समस्या हुन सक्छ । मधुमेह भएपछि मिर्गौला र मुटुको समस्या पनि हुन सक्छ ।ललितपुरको एक निजी स्कुलमा गरिएको अध्ययन अनुसार झन्डै ८ प्रतिशत विद्यार्थीमा मोटोपन थियो । अभिभावकले बच्चालाई ६–७ महिना भएपछि दिइने खानामा ध्यान दिए मात्र भविष्यमा स्वस्थ हुने सम्भावना बढ्छ ।नेपालका विभिन्न जातजातिमा शिशु ५–६ महिना पुगेपछि आमाको दूधसँगै अन्नलगायतका खाना पनि दिइन्छ । विज्ञानले पनि ‘६ महिनापछि शिशुलाई आमाको दूधका साथै पर्याप्त पोषक तत्व भएको भोजन चाहिन्छ’ भन्छ ।

यस्तो भोजन घरमा सहजै बनाउन सकिन्छ । स्वस्थकर भनेर बजारमा किनिएका तयारी खानामा चिनी, चिल्लो र नुन बढी हुन्छ । यसले बेफाइदा बढी गर्छ । बेलायतका पोषण विज्ञहरु ‘साना बच्चालाई नुन, चिनी हालेको खाना सकेसम्म नखुवाउने’ सल्लाह दिन्छन् । नेपालमा भने गहुँमा चिनी मिसाएर बनाएको महँगो शिशु आहार धेरै दिइन्छ । यस्तो खाना खाएपछि त्यही स्वादमा बानी पर्छ र गुलियो नभएका खाना खान मान्दैनन् ।बालबालिकाको पोषण र उनीहरुको स्वास्थ्यका सम्बन्धमा अध्ययन गर्न केही समयअघि म ललितपुरको पुनस्र्थापना केन्द्र, राजविराज, वीरगन्ज र नेपालगन्जका अस्पतालस्थित पोषण पुनस्र्थापना केन्द्रमा गएकी थिएँ । अत्यधिक कुपोषण भएर त्यहाँ ल्याइएका बालबालिकाका अभिभावकहरुले ‘खानपिनको वास्ता नगर्ने, बच्चालाई भोक लाग्दा पत्रु खाना (जंक फूड) दिने, स्नेहपूर्वक नखुवाउनाले कुपोषण भएको’ त्यस केन्द्रका कर्मचारीले बताएका थिए ।

ती पोषण पुनस्र्थापना केन्द्रमा घरमै बनाउन सकिने दाल, भात, आलु, गाजर, रोटी, हलुवा, खिर, हरियो तरकारी, फलफूल, दूध, दही बच्चालाई दिइन्छ । साथै अभिभावकलाई खाना बनाउन पनि सिकाइन्छ ।शिशुको स्वास्थ्य राम्रो हुनको लागि गर्भवती र सुत्केरी भोजन पनि स्वस्थकर हुन जरुरी छ । कुपोषित रक्तअल्पता भएकी आमाबाट जन्मेको शिशु पनि कुपोषित नै हुन्छ ।एक वर्षसम्म बालबालिकालाई झोल वा लेदो बनाएर चामल, आलु, विभिन्न तरकारीहरु ख्वाउन सकिन्छ । पहिलोपल्ट खुवाउँदा शिशुले खान नमान्न सक्छ तर पछि बिस्तारै खाने बानी पर्छ ।आलु, गाजर, काउली, ब्रोकाउली, स्कुस, लौका आदि पनि उसिनी मिचेर दिन सकिन्छ । शिशुलाई बजारका तयारी खाना सकेसम्म दिनुहुँदैन । यस्ता खानामा धेरै चिनी र नुन हालिएको हुन्छ । एक वर्षभन्दा मुनिका शिशुलाई चिनी र नुन दुवै नदिएकै बेस । दिनै पर्ने अवस्थामा एक वर्षभन्दा मुनिको बच्चालाई दिनमा एक मिलिग्रामभन्दा बढी नुन दिनुहुँदैन । उनीहरुको मिर्गौला पूर्णरुपमा विकास भएको हुँदैन । एक वर्षको लाई एक ग्राम र ३ वर्षको बच्चालाई २ ग्रामभन्दा बढी नुन दिनुहुँदैन ।

सुजीको हलुवा, चामल, खिर पनि उपयुक्त आहार हुन्छ । यस्तो बनाउँदा चिनीको सट्टा थोरै सखर, गुड (भेली) र घिउ थोरै मात्रामा हालेर दिँदा शिशुलाई स्वास्थ्य र स्वाद दुवै मिल्छ । मुङको दाल र चामल बराबर हालेर जाउलो पकाउन सकिन्छ । यसमा अलिकति हरियो तरकारी, गाजर, पालुंगो राखियो भने यसमा प्रशस्त मात्रामा खनिज र रेसादार तत्व पुग्छ । यो भोजन ठूला मान्छेहरुले पनि खान सकिन्छ ।चपाउन सक्ने बच्चालाई दाल वा तरकारीमा चिउरा हालेर दिन सकिन्छ । ४–५ वर्षका बच्चालाई चिउरा भुटेर दूध वा दहीमा हाली दिन सकिन्छ । चिउरामा तरकारीहरु मसिनो पारेर काटी पुलाउ पनि बनाउन सकिन्छ । चिउरा चपाउनाले बच्चाको दाँतको राम्रो व्यायाम हुन्छ । कतिपय अभिभावकले बच्चालाई चपाउन गाह्रो हुन्छ भनेर ४–५ वर्षसम्म पनि सबै भोजन लेदो पारेर ख्वाउँछन् । यो राम्रो चलन होइन । खानेकुरा चपाउनाले बच्चाको दाँतका साथै मुखको मासंपेशी पनि बलियो हुन्छ । जौको चिउरा पनि बच्चाको लागि एक स्वस्थकर खाजा हुन सक्छ । जौको चिउरामा अलिकति गुड मिसाएर दूध वा दहीसँग पनि दिन सकिन्छ ।

पखाला लागेका बच्चाहरुलाई चामलको माड एक औषधि नै हो । माडकोे कुनै स्वाद हुँदैन तर स्वास्थ्य राम्रो गर्ने पर्याप्त तत्व हुन्छ । भात र दाल पनि स्वस्थकर भोजन हो । दालमा भएको प्रोटिन र भातमा रहेको कार्बोहाइड्रेट दुवैको मिश्रण उत्तम हुन्छ । यसमा अलिकति टुसा उमारेको गेडागुडी, चना, केराउ, मटर पनि मिसाउन सकिन्छ । तर यस्तो खाना एकैचोटि धेरै दिनुहुँदैन । पचाउन गाह्रो हुन सक्छ । थोरै–थोरै दाल, गेडागुडी दिन शुरु गर्दा यसमा अलिकति लसुन, हिङ पनि हाल्नुपर्छ । यसले दालबाट निस्कने ग्यासको प्रभाव कम गरी पेट ठीक राख्छ ।

यदि कुनै बच्चाले दाल खान चाहेन भने दाल पिसेर कुनै तरकारीमा मिसाउन सकिन्छ । मासको दाल र चामलको खिचडी पनि बच्चाको लागि उपयुक्त हुन्छ । कालो दाललाई ६–७ घण्टा भिजाएर पकाउँदा पचाउन सजिलो हुन्छ । अलिकति घिउ राखेर बनाएको खिचडी स्वस्थकर र स्वादिलो पनि हुन्छ । चिल्लोले शरीरमा भिटामिन ‘डी’, ‘ई’, र ‘के’को शोषण गराउँछ । यस्ता भिटामिनको शोषण नभए बच्चाको हाडको विकास राम्रो हुँदैन ।

भिटामिन ‘ई’ले छाला स्वस्थ राख्छ, साथै रोगसँग लड्ने शक्ति बढाउँछ । त्यसै गरी बालबालिकालाई ताजा मकैको परिकार पनि बनाएर खुवाउन सकिन्छ । ताजा मकैमा लाइसिन पाइन्छ । यसले क्याल्सियम शोषणमा पनि मद्दत गर्छ । ४–५ वर्षका बच्चाको लागि ताजा मकैलाई पिसेर रोटी बनाई दूधसँग खान दिन पनि सकिन्छ ।खैरो, कालो, सेतो, तिलमा ओमेगा ३ फ्याटी पाइनुको साथै राम्रो खालको चिल्लो पदार्थ पनि पाइन्छ । यसले बच्चाको मुटु–मस्तिष्क स्वस्थ राख्न मद्दत गर्छ । एक चम्चा तिलको दानामा ८८ मिलिग्राम क्याल्सियम पाइन्छ । यसले हड्डी बलियो बनाउन मद्दत गर्छ । त्यसैले बच्चाको भोजनमा तिलको धूलो मिसाएर खुवाउन सकिन्छ ।

बालबालिकालाई कहिलेकाहीँ स्थानीय फलफूलको रस दिन सकिन्छ । तर बजारमा पाइने बट्टाको जुसमा धेरै चिनी हुने भएकाले बच्चालाई दिनुहुँदैन । अमला, अम्बा, हलुवाबेद, बयर, कागती, नासपाती, केरा आदि सहजैसँग पाइने फलफूल हुन् । चपाउन सक्ने बालबालिकालाई फलफूल चपाएर खान दिनुपर्छ । बच्चालाई खानामा काजु, किसमिस, नरिवल पनि थोरै पिसेर वा टुक्रा–टुक्रा पारेर खिर वा हलुवामा हाली दिन सकिन्छ । मुंगफली बदाम पर्याप्त प्रोटिन र असल खालको चिल्लो भएको खाद्यपदार्थ भएकाले अचारमा हालेर वा भातसँग भुटेर.पुलाउ बनाउन सकिन्छ । यस्तो पुलाउमा अदुवाको टुक्रा राख्दा खाना पचाउन सहयोग गर्छ । रोगसँग लड्ने शक्ति बढाउँछ । यसरी पुलाउ बनाउँदा पर्याप्त मात्रामा रेसादार तत्व हुनाले शिशु र बालबालिकालाई कब्जियत हुन पाउँदैन ।

शिशु र बच्चालाई सखरखण्ड र तरुल पनि उसिनेर खुवाउन सकिन्छ । यसले बच्चाको शरीरमा चाहिने ऊर्जा, भिटामिन ‘ए’, रेसादार तत्व दिन्छ । विभिन्न सागहरु पनि बच्चालाई खान प्रेरित गर्नुपर्छ । अण्डा, दूध, दही, चीज, पनिर, भटमास, गेडागुडी आदि प्रोटिनको राम्रो स्रोत हुन् । कागती र पानीमा केही मह वा सखर हालेर दिँदा बच्चालाई पानीको मात्रा पुग्नुको साथै भिटामिन ‘सी’ पनि उपलब्ध हुन्छ । यसले रोग–प्रतिरोधात्मक शक्ति बढाउँछ ।

हतार भयो भनेर बालबालिकालाई कोच्याएर खुवाउनुहुँदैन । उसलाई माया गरेर फकाउँदै, बिस्तारै खुवाउनुपर्छ । साथै टी.भी, मोबाइल देखाउँदै खुवाउने गर्नु पनि हुन्न, पछि लत नै बस्छ ।
बच्चालाई दूध तताउन, भोजन बनाउन फलामका भाँडा प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले बच्चाको शरीरमा लौहतत्व सजिलोसँग पुग्न सक्छ । त्यसै गरी बच्चालाई दाल, भात, आलु, खिचडी खुवाउँदा अलिकति कागती वा गोलभेंडाको अचारसँग दिँदा खानेकुरामा रहेको लौहतत्वलाई अचार र कागतीमा रहेको भिटामिन ‘सी’ले शोषण गर्न मद्दत गर्छ । बच्चालाई धेरै तारेर पकाएको खानेकुरा, केक आदि दिँदा उसको शरीरमा अति खराब चिल्लो (अखची) जान्छ र स्वास्थ्यमा असर गर्छ ।‘बच्चालाई घरको भोजनले मात्र पोषण तत्व नपुग्ने भएकाले बजारका विभिन्न तयारी खाना खुवाउनुपर्छ’ भनेर भ्रमपूर्ण विज्ञापन प्रचार गरिन्छ । त्यसको आधारमा अभिभावकहरुले घरमै बनाउन सकिने स्वस्थ र सस्तो खाना छोडेर बजारका महँगो र अस्वस्थकर खाना किनेर खुवाउने चलन बढेको छ । यसले बच्चाको स्वास्थ्यमा दीर्घ रुपमा नराम्रो असर गर्ने भएकाले विज्ञापनका भरमा परेर बजारका अस्वस्थकर जंक फूड खुवाउनुहुँदैन, घरकै खाना खुवाउन जोड दिनुपर्छ ।

(यस लेखमा कतिपय जानकारीहरु रुजुता दिवेकरको ‘नोट्स फर हेल्दी किड्स’, डा रमेशकान्त अधिकारी र मिरियम करन्ट्जको ‘चाइल्ड न्युट्रेसन एन्ड हेल्थ’ नामक पुस्तकबाट पनि लिइएका छन्: लेखक)

प्रतिक्रिया दिनुहोस्